कपिलवस्तुको चन्द्रौटामा क्षयरोग उपचार केन्द्र सञ्चालनमा आएको छ । औषधि प्रतिरोधक क्षयरोग (डीआरटीबी) का बिरामीको सङ्ख्या बढ्न थालेपछि चन्द्रौटामा उपचार केन्द्र सञ्चालनमा ल्याइएको हो । आधारभूत स्वास्थ्य सेवा अस्पतालमा केन्द्र सञ्चालनमा आएपछि क्षयरोगीको उपचारका लागि अन्तै जानुपर्ने बाध्यता हटेको छ ।
लुम्बिनी प्रदेशमा चौथो र कपिलवस्तुमा पहिलो क्षयरोग उपचार केन्द्र चन्द्रौटामा स्थापना गरी सञ्चालन गरिएको राष्ट्रिय क्षयरोग कार्यक्रमका उपसचिव शरदकुमार शर्माले बताए । उनका अनुसार नेपालभर २३ डीआर सेवा र ८६ उपकेन्द्र रहेका छन् ।
सरकारले सन् २०२१ देखि २०२५ सम्म क्षयरोग उपचारका लागि रणनीति तयार पारेर उपचार केन्द्र र उपकेन्द्र गाउँस्तरमा स्थापना गर्ने उद्देश्य राखेको छ । चन्द्रौटामा सेवा सञ्चालनमा आएसँगै क्षयरोग नियन्त्रणमा प्रभावकारी ढङ्गले अघि बढ्ने शिवराज नगरपालिकाका मेयर अजय थापाले बताए ।
क्षयरोग लागेका कतिपय बिरामीले समयमा औषधि सेवन नगर्ने गरेको पाइएकाले सबै बिरामीलाई निगरानी गर्नुपर्ने उपमेयर शिवकुमारी थारूले बताए । डीआर उपचार केन्द्रबाट क्षयरोगको जाँच तथा निःशुल्क उपचार हुने नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख चुडामणि भट्टराईले बताए।
क्षयरोगका बिरामीलाई औषधिले काम गरे/नगरेको विषयको परीक्षण प्रयोगशालामा हुनेछ । साथै नियमित औषधिले निको हुने/नहुने अवस्थाबारे पनि थाहा पाउन सहज हुने उहाँको भनाइ छ । कपिलवस्तुमा बर्सेनि क्षयरोगका बिरामी बढ्दै गएका छन् ।
तथ्याङ्क अनुसार २०७६/७७ मा पाँच सय ८५, २०७७/७८ मा छ सय ३३, २०७८/७९ मा नौ सय र २०७९/८० मा नौ सय १४ जनामा क्षयरोगको सङ्क्रमण रहेको छ ।