बाँकेका योगराज ढकाल (रिगल)लाई सरकारले आममाफी दिएको विरोधमा भारती मानन्धरले फेरि अनशन सुरू गरेकी छन्। उनले शुक्रबारदेखि पुन अनशन सुरू गरेकी हुन्। यसपालि मंगलबारसम्म अनशन बस्ने उनले बताएकी छन्।
रिगलको आममाफीविरूद्ध असोज १७ गतेदेखि माइतीघर मण्डलमा अनशन बसेकी भारती अनशन बसेकै अवस्थामा बेहोस भएपछि उनलाई वीर अस्पताल पुर्याइ उपचार गरिएको थियो। स्वास्थ्यमा समस्या देखिएपछि उनले असोज २५ गतेपछि अनशन स्थगित गरेकी थिइन्।
रिगलको आममाफीविरूद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा १४ गते सुनुवाइ हुँदैछ। यसअघि असोज २५ गते उक्त मुद्दा हेर्न नमिल्नेमा परेको थियो। २०७२ असार २८ गते नेपालगञ्ज-८ का २९ वर्षीय चेतन मानन्धरमाथि दिउँसै धम्बोझी चोक नजिकै खुँडा प्रहार भएको थियो। मानन्धरको मृत्यु पछि रिगल फरार थिए।
मानन्धरको हत्या आरोपी रिगल दुई महिनापछि भदौमा अदालतमा गई आत्मसमर्पण गरेका थिए। त्यसपछि उनी मुद्दाको किनारा नलाग्दासम्म पूर्पक्षका लागि जेल पठाइएका थिए। जिल्ला अदालत बाँकेले २०७६ वैशाखमा मानन्धरको हत्यामा रिगललाई दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय तोकेको थियो।
मानन्धरको हत्यामा संलग्न रहेको ठहर गर्दै अदालतले अन्य १२ जनालाई पनि कसुरअनुसार ३ वर्षदेखि १० वर्षसम्मको सजाय तोकेको थियो। तत्कालीन जिल्ला न्यायाधीश विष्णु सुवेदीको इजलासले घटनामा संलग्नमध्ये रिगलकै समूहका सोहनसिहं ढकाललाई १० वर्ष जेल सजायको फैसला सुनाएको थियो।
उनकै समूहका माधव नेपाली, बिराज पाठक, हरि वली, मनीष चौलागाईं, प्रितम थापा, यमबहादुर बुढा मगर र केशवबहादुर रोकायालाई जनही ३ वर्षको काराबास सजाय तोकेको थियो। त्यस्तै प्रशान्त गौतम भनिने प्रेमध्वज खत्री, विशाल भनिने छविलाल बस्नेत, नवराज खत्री र मोहनलाल खड्कासहित सबैलाई जन्मकैदको सजाय तोकेको थियो।
झन्डै ५० प्रतिशत सजाय भुक्तान गरेपछि रिगल रिहा भएका हुन्। उनको रिहाइविरूद्ध प्रतिपक्षसँगै सत्तापक्ष दलका नेताहरू र नागरिक समाजले समेत चर्को विरोध गरेका थिए।