६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप दिईदै, प्रधानमन्त्रीले पनी खोप लगाउँदै

काठमाण्डौ । सरकारले आजदेखि ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउँदै छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दोस्रो चरणअन्तर्गत ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप लगाउने भएको हो । खोपको उपलब्धता र जोखिमको आधारमा आजदेखि ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । हिमाली जिल्लामा भने ५५ वर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई खोप दिइने छ । दोस्रो चरणको खोप अभियानका लागि स्वास्थ्य मन्त्रालयले ६ हजार खोप केन्द्र तोकेको छ ।
यसअघि अस्पतालमा खोप अभियान सञ्चालन गरेको मन्त्रालयले दोस्रो चरणमा खोप केन्द्र नै तोकेको हो । मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले हरेकदिन २ देखि ३ लाख जनालाई खोप दिने तयारी गरेको जानकारी दिनुभयो । दोस्रो चरण सुरु भएको ११ औँ दिनदेखि ५५ वर्षदेखि ६४ वर्षसम्मका ज्येष्ठ नागरिकलाई खोप दिइनेछ । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले अपाङ्गता भएकाहरुलाई प्राथमिकतामा राखिएको जानकारी दिए ।
प्रधानमन्त्रीले पनी खोप लगाउँदै
प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोरोनाविरुद्धको खोप लगाउने भएका छन् । प्रधानमन्त्री ओलीले खोप लगाएपछि आज दोस्रो चरणको खोप अभियानको सुरुवात हुनेछ ।
खोप लगाउन प्रधानमन्त्री ओली बिहान १० बजे त्रिवि शिक्षण अस्पतालमा पुग्ने कार्यक्रम छ । दुईपटक मिर्गौला प्रत्यारोपण गरिसकेका ७० वर्षका प्रधानमन्त्री ओली उमेर समूहका दृष्टिले पनि कोरोना भाइरसको जोखिम समूहमा पर्छन् । प्रधानमन्त्री ओलीलाई खोप लगाउँदा कुनै खतरा नहुने विज्ञले बताएका छन् । कोरोनाको खोपबारे केही अन्योल देखिएकाले ज्येष्ठ नागरिकलाई हौसला र प्रोत्साहन दिनका लागि प्रधानमन्त्री ओलीले खोप लगाउन थालेका हुन्।
यसअघि स्वास्थ्यमन्त्री हृदयश त्रिपाठी, उपप्रधानमन्त्री ईश्वर पोखरेल, सभामुख अग्निप्रसाद सापकोटा, नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतले खोप लगाइसकेका छन् ।