जंगली च्याउ खाँदा गुल्मीमा तीन जना बिरामी परेका छन् । च्याउ खाएर जिल्लाको इश्मा गाउँपालिका ६ बुल्मका ३९ वर्षीया सरिता कुमाल, ११ वर्षीय विमल कुमाल र ८ वर्षीया सुष्मा कुमाल बिरामी परेका हुन् ।
सोमबार जंगली च्याउ खाएर बिरामी परेका उनीहरुको पाल्पास्थित मिसन अस्पतालमा उपचार भइरहेको सरिताका श्रीमान् बिर्खबहादुरले बताए । उनका अनुसार धान काट्न खेताला गएकाहरुले च्याउ फेला पारेर ल्याएका थिए । सुरुमा पकाएर खाएकाहरु बान्ता हुने र बेहोस हुने भएपछि गाउँभर हल्ला चलेको थियो ।
आफ्नी श्रीमतीसहित छिमेकीहरु बिरामी परेपछि आफूले अरुलाई च्याउ नखान खबर गरेको उनको भनाइ छ । ‘धन्न दिउँसो पकाएर खाएछन्, रातको समयमा खाएको भए गाउँका धेरै जना खतम हुने रहेछन्’, उनले भने ।
बिरामीहरुलाई केही सुधार भएको र अझै २४ घन्टा अस्पतालमै राख्नुपर्ने डाक्टरले बताएको बिर्खबहादुरको भनाइ छ ।