एक साधु हरेक दिन मृगस्थलीको एउटा रूखको फेदमा बस्थे र कराइरहन्थे– जे चाहन्छौ, त्यही पाउँछौ । जे चाहन्छौ, त्यही पाउँछौ । उनको कुरामा मानिसहरू खासै ध्यान दिँदैनथे । अधिकांशले त उनलाई मानसिक सन्तुलन गुमाएको मानिस ठान्थे ।
एक दिन एक युवक तिनै साधुको नजिक हुँदै कतै जाँदै थिए । साधुको ‘जे चाहन्छौ, त्यही पाउँछौ’ भन्ने आवाजले उनी टक्क रोकिए र साधुको नजिकै गए । उनले सोधे– साधु महाराज, के म जे चाहन्छु, त्यही पाउँछु त ? साधुले आत्मविश्वासका साथ भने– अवश्य बालक, तिमीले मेरो कुरा मान्यौ भने जे चाहन्छौ, म तिमीलाई त्यही दिन्छु । तर, तिमी के चाहन्छौ, पहिले त्यो त बताऊ ।
युवकले भने– साधु महाराज, म हीराको एक ठूलो व्यापारी बन्न चाहन्छु । साधुले भने– केही छैन बालक, म तिमीलाई एउटा हीरा र एउटा मोती दिन्छु, त्यसबाट तिमी जति चाहन्छौ, त्यति नै हीरा र मोती बनाउन सक्नेछौ । साधुले आफ्नो हात युवकको हातमा राख्दै भने– बालक, म तिमीलाई संसारकै अनमोल हीरा दिँदै छु । यसलाई मानिसहरू ‘समय’ भन्ने गर्छन् । यसलाई शीघ्र आफ्नु मुट्ठीमा कस र यसलाई कहिल्यै गुम्न नदेऊ । यसबाट तिमी जति चाहन्छौ, त्यति नै हीरा बनाउन सक्छौ ।
युवक केही सोच्दै थिए, साधुले आफ्नो अर्को हात युवकको अर्को हातमा राख्दै भने– बालक यसलाई समात । यो संसारको सबैभन्दा महँगो मोती हो । मानिसहरू यसलाई ‘धैर्य’ भन्ने गर्छन् । जब जतिसुकै समय दिँदा पनि परिणाम प्राप्त भएन भने यस मोतीलाई धारण गर्नू । याद राख, जसको साथमा यो मोती हुन्छ, उसले दुनियाँमा जे पनि प्राप्त गर्न सक्छ ।
साधुको कुरा सुनेर युवकले मनमनै अठोट गरे– आजदेखि म आफ्नो समय विनाकारण बर्बाद गर्दिनँ । जहिल्यै धैर्यपूर्वक काम गर्नेछु । यही अठोटका साथ उसले हीराका एक ठूला व्यापारीकहाँ काम गर्न सुरु गरे । मिहिनेत र इमानदारीको बलमा उनी एक दिन हीराका ठूला व्यापारी बन्न सफल भए ।