३ साउन २०८१, बिहिबार
३ साउन २०८१, बिहिबार

नेपाल विश्वकपबाट दुई खेल टाढा

अर्को वर्ष जुनमा वेस्ट इन्डिज र अमेरिकाले आयोजना गर्न लागेको ट्वान्टी–२० विश्वकप क्रिकेटमा पुग्न नेपाल केवल दुई खेल टाढा रहेको छ । छनोटको आधार रहेको आईसीसी ट्वान्टी–२० विश्वकपको एसियामा लगातार दुई खेल जितेपछि नेपाल विश्वकपतर्फ नजिकिएको हो ।

नेपालले मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान मलेसियालाई ६ विकेटले पराजित गर्‍यो । नेपालको यो लगातार दोस्रो जित हो । नेपालले पहिलो खेलमा आइतबार सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो । समूह ‘ए’ बाट नेपाल जस्तै ओमानले पनि लगातार दुई खेल जितेर एक खेलअगावै सेमिफाइनलमा स्थान पक्का गरेको थियो ।

नेपालले बिहीबार ओमानसँग समूह चरणको अन्तिम खेल खेल्नेछ । यो खेल जित्ने टोलीले समूह विजेताका रूपमा सेमिफाइनल खेल्नेछ । समूह ‘बी’ मा यूएईले लगातार दुई खेल जितेको छ भने बहराइन र हङकङले १–१ खेल जितेका छन् । पहिलो दुई खेल हारेको कुवेत पनि सेमिफाइनल दौडबाट बाहिरिएको छैन ।

नेपालले समूह ‘बी’ को टोलीसँग सेमिफाइनल खेल्नेछ । आईसीसी ट्वान्टी–२० विश्वकपको एसिया क्षेत्रबाट फाइनलमा पुग्ने दुई टोली विश्वकपमा पुग्ने प्रावधान छ । नेपालले सन् २०१४ मा बंगलादेशमा एक पटकमात्र विश्वकपमा खेलेको थियो । त्यसयता नेपाल छनोट हुन असफल रहँदै आएको छ ।

सानदार ब्याटिङपछि नेपाल मंगलबार मलेसियालाई सजिलै पराजित गर्न सफल भयो । कुशल भुर्तेलले २५ बलमा ४३, आसिफ शेखले २३ बलमा ३२ र कुशल मल्लले ३४ बलमा ६५ रन बनाएपछि नेपालले १ सय ६६ रनको लक्ष्य १८ ओभरमा पूरा गरेको थियो । नेपालको यो लगातार दोस्रो जित हो ।

भुर्तेल र आसिफले ५ ओभरमा ४९ रन जोड्दै नेपाललाई सानदार सुरुआत दिलाए । भुर्तेलले समान ४ चौका र छक्का प्रहार गरे । आसिफ र मल्लले १० ओभरमा नेपालको स्कोरलाई ९५ रनसम्म पुर्‍याए । मोहम्मद अमिरको बलमा कट एन्ड बोल्ड हुनुपूर्व आसिफले १ चौका र २ छक्का प्रहार गरे ।

ट्वान्टी–२० अन्तर्राष्ट्रियको छिटो शतकका विश्व कीर्तिमानधारी कुशल मल्लको यो तेस्रो अर्धशतक हो । उनी पनि कट एन्ड बोल्ड भए र खेलमा अमिरको तेस्रो सिकार भए । मल्लले कुल २ चौका र ७ छक्का प्रहार गरे । सन्दीप जोरा १८ र विवेक यादव २ रनमा अविजित रहे ।

यसअघि टस जितेको मलेसियाले निर्धारित २० ओभर खेल्दै ९ विकेट गुमाई १ सय ६५ रन बनाएको थियो । ओपनर सैयद अजिजले मलेसियाबाट सर्वाधिक ६८ रन बनाए । गुलशन झाको बलमा आउट हुनुअघि उनले ८ चौका र २ छक्का प्रहार गरे । अजिजले जुबाइदी जुलकिफ्लेसँग मिलेर मलेसियालाई उत्कृष्ट सुरुआत दिलाए । उनीहरूले पावर प्लेमा ५८ रन जोडेका थिए ।

छैटौं ओभरको पाँचौं बलमा अविनाश बोहराले जुलकिफ्लेलाई आउट गरी नेपाललाई पहिलो सफलता दिलाए । त्यसपछि मलेसियाको नियमित विकेट झरिरह्यो । कप्तान अहमद फैज ३ रनमा रनआउट भए । वीरनदीप सिंहलाई सन्दीप लामिछानेले ४ रनमा एलबीडब्लू आउट गरे ।

कामचलाउ बलर कप्तान रोहित पौडेलले सार्विन मुनिएन्डीलाई १३ रनमा कट एन्ड बोल्ड गरे । अविनाशले मोहम्मद अमिरलाई ८ रनमा बोल्ड गरे । अविनाशले नेपालबाट ४ विकेट लिए । अघिल्लो दिन सिंगापुरविरुद्ध पनि ३ विकेट लिएका अविनाशले ४ ओभरमा २७ रन खर्चेका थिए ।

ओमानले बिहानको खेलमा सिंगापुरलाई २२ रनले पराजित गरेको थियो । मलेसिया र सिंगापुर दुवै समूह चरणको एक खेलअगावै नकआउट दौडबाट बाहिरिएका छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?