सरकारको नेतृत्व गरेको माओवादीले मंसिर तेस्रो साता सडक प्रदर्शन गर्ने निर्णय गरेको छ । पूर्व राजाको पक्षमा प्रदर्शन भइरहेका बेला माओवादीले लोकतन्त्र र संघीय गणतन्त्र बलियो बनाउन प्रर्दशन गर्ने निर्णय गरेको हो । संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार हुने प्रयास भइरहेको उल्लेख गर्दै माओवादीले मंसिर २२ मा देशव्यापी प्रदर्शन गर्ने तयारी गरेको हो ।
संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि प्रदर्शनको तयारी गर्न केन्द्रीय समितिले तलका सबै समितिलाई परिपत्र गरेको छ । पूर्वराजावादीहरूको नामै नलिई प्रतिगमनकारीको चलखेलविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको हो । माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताको रक्षाका लागि जनपदर्शन गर्ने निर्णय गरिएको बताए ।
‘पार्टी सरकारमा भए पनि, नभए पनि संघीयता, गणतन्त्र बलियो गर्नु जनपरिचालन गर्नु कर्तव्यअन्तर्गत पर्छ,’ उनले भने, ‘लोकतन्त्र, संघीयताको सुदृढीकरणका लागि देशव्यापी प्रदर्शन गर्ने निर्णय भएको हो । यो कसैप्रति लक्षित होइन ।’ उनले पार्टी विशेष रूपान्तरणअन्तर्गत जनपरिचालन कार्यक्रम तय भएको बताए । ‘यो कसैविरुद्ध प्रदर्शन होइन,’ उनले भने ।
माओवादीले संगठन सुदृढीकरणका लागि मंसिर १५ सम्म विशेष रूपान्तरण अभियान चलाएको थियो । अभियानका क्रममा दसैं, तिहार, छठ पर्व परेकाले पुस १५ सम्म समय बढाएको छ । ‘माओवादी विशेष रूपान्तरण अभियानले पार्टी संगठन सुदृढीकरणका लागि महत्त्वपूर्ण सुझाव आएका छन् । ती सुझावलाई लिएर अघि बढ्छौँ,’ सापकोटाले भने, ‘हामीले आफ्नो कुराभन्दा जनताका गुनासा सुनेका छौँ ।’
पार्टी पदाधिकारी बैठकले रूपान्तरण अभियानमा नखटिएका केन्द्रीय सदस्यको विवरण पठाउन परिपत्र गरेको छ । अभियानमा नखटेका नेताहरुलाई त्यहीअनुसार मूल्यांकनको तयारी हुने माओवादीले जनाएको छ । पार्टीले सबै पालिकामा केन्द्रीय सदस्य र वडामा प्रदेश सदस्यलाई खटाएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल सात प्रदेशका सात वडामा जाने कार्यक्रमअन्तर्गत गत साता रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको वडा बैठकमा सहभागी भएका थिए । माओवादी सचिव चक्रपाणी खनालले संगठन रूपान्तरण अभियानसँगै गणतन्त्रलाई बलियो बनाउन कार्यक्रम थपिएको बताए । ‘सरकार, सदन, र सडकबाट गणतन्त्र, संघीयता बलियो बनाउने पार्टी नीतिअनुसार कार्यक्रम तय भएका हुन्,’ कोशी प्रदेश इन्चार्जसमेत रहेका खनालले भने, ‘पार्टी अभियान एक महिना थपिएको छ ।’
साउन तेस्रो साता बसेको केन्द्रीय समिति बैठकले तीन महिने संगठन सुदृढीकरण अभियान गर्ने निर्णय गरेको थियो । सरकारको नेतृत्व गरे पनि संगठन कमजोर हुँदै गएको बैठकमा व्यापक प्रश्न उठेपछि रूपान्तरणका लागि गाउँ फर्कने निर्णय गरेको थियो ।
माओवादीले पार्टीको कार्यक्रममा जनसेवा, अन्तरक्रिया, सांस्कृतिक कार्यक्रमसँगै सरकारले अघि सारेका भ्रष्टाचार विरोधी अभियानलाई पनि जोडेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष दाहालले सरकारको सुशासनको अभियानलाई गाउँगाउँ पुर्याउन निर्देशन दिएका थिए । सरकारले गरेको कामलाई सडकबाट दबाब दिन माओवादीले कार्यक्रम बनाएको थियो ।
तीन महिने अभियान सकिएलगत्तै माओवादीले माघमा विधान अधिवेशन गर्ने तयारी गरेको थियो । पार्टी अभियान एक महिना बढाइएकाले विधान अधिवेशन पछि सरेको माओवादीले जनाएको छ ।