लक्ष्मण घिमिरे ।
अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको महासमिति सदस्यको अझै टुङ्गो लागेको छैन । असौज मसान्तसम्म प्रक्रिया टुङ्गाईसक्न केन्द्रिय कार्यालयले निर्देशन गरेपनि जिल्लाको खुल्ला पदमा आकांक्षी धेरै भएपछी अन्तिम टुङ्गो लाग्न नसकेको हो ।
देशभरि महासमिति सदस्यहरूको निर्वाचन धमाधम भइरहेको छ भने केन्द्रीय कार्यालयले बैठकको भौतिक र प्राविधिक तयारीलाई अन्त्यतर्फ पुर्याएको छ । आगामी मंसिर १३ देखि १५ गतेसम्म हुने बैठककालागि देशभरिबाट करिब २५ सय नेता कार्यकर्ता काठमाडौंमा जम्मा हुनेछन् । महासमिति कांग्रेसको महाधिवेशनपछिको अर्को शक्तिशाली अङ्ग हो ।
गत कार्तिक २ गते बसेको नेपाली कांग्रेस जिल्ला कार्यसमितिको बैठकले १५ गते निर्वाचन मार्फत महासमितिको टुङ्गो लगाउने निर्णय गरेको थियो । यद्दपी १२ गते निर्वाचन मण्डलले सुचना जारी गर्दै तत्कालका लागी निर्वाचन प्रक्रिया स्थगन गरेको थियो ।
बैठकले जिल्ला सभापती केशव श्रेष्ठलाई प्रक्रिया टुङ्गाउन म्यान्डेड दिएको छ । साथै ६ वटा स्थानियतहका पार्टी सभापतीहरुको संलग्नता रहने बैठकको निर्णय छ । जिल्ला सभापती केशव श्रेष्ठले अब अन्तिम प्रक्रियामा रहेकाले छिटै टुङ्गोमा पुर्याउने बताए । ‘हामी केही ढिला भएका छौं,सभापती श्रेष्ठले भने,‘अब हामी छिटै अन्तिम रुप दिने तयारीमा छौं ।’
सभापती श्रेष्ठका निकट नेताहरुका अनुसार उनलाई केही नेताहरुलाई लिएर ठुलो दबाव आएको छ । केन्द्रिय स्तरका नेताहरुले सहासमितिमा पठाउन दबाव दिएको एक नेताले बताए । उनका अनुसार चौतर्फी दबाव भएपछी सभापती अन्यौलमा छन् ।
अहिलेसम्म महिलाबाट निर्मला क्षेत्री, शान्ता भण्डारी, जनजातीबाट डा. मुक्तीराम श्रेष्ठ र दलितबाट मणिराम परियार सर्वसहमत भएका छन् । खुल्लामा ५ जना, खसआर्यमा महिला/पुरुष गरेर ३ जना छनौट गर्नुपर्नेछ । खुला ५ जनाका लागी ९ जना आकांक्षी छन् । डा. रामबहादुर बिसी, बिष्णु मुस्कान, लेखनाथ पोख्रेल, कमल प्रसाद भुसाल, डा. जयबहादुर टण्डन, रेवती प्रसाद भुसाल, सुर्य अधिकारी, नन्दराम भट्टराई र जमशेर मियाँले उम्मेद्वारी दर्ता गराएका थिए ।
यता खसआर्यको पुरुष तर्फ पाणिनीका श्यामनाथ काश्यप र छत्रदेवका युवा नेता पिताम्बर खनाल आकांक्षी छन् । यी दुईमध्ये एक जना मात्र महासमिति सदस्य हुन पाउने छन् । यस्तै खसआर्य महिला तर्फ भुमिकास्थानका चन्दा गैरे र पाणिनीका अम्बिका पोख्रेल प्रतिस्पर्धामा छन् । यी दुई मध्येपनि एकजना मात्र महासमिति सदस्य हुन पाउने छन् ।
५५ जिल्लाबाट चुनिए महासमिति सदस्य
महासमिति बैठकमा कांग्रेसका महासमिति सदस्यहरू सहभागी हुन्छन् । कांग्रेसको विधानमा हरेक निर्वाचन क्षेत्रबाट ११ जना महासमिति सदस्य निर्वाचित हुने व्यवस्था छ । त्यसअनुसार हिंजोसम्म ५५ जिल्लाबाट महासमिति सदस्यहरूको निर्वाचन भइसकेको छ । कतिपय जिल्ला र क्षेत्रहरूमा यसअघि पार्टीको महाधिवेशनकै बेला महासमिति सदस्यहरूको निर्वाचन भएको थियो ।
ढिलाई भएका जिल्ला र क्षेत्रहरूलाई कात्तिक २४ भित्र निर्वाचन सम्पन्न गरेर नाम पठाउन निर्देशन दिइएको छ । अहिले विवाद नभएका ठाउँमा सर्वसम्मत, र कतिपय ठाउँमा निर्वाचनमार्फत् पनि महासमिति सदस्यहरू चुन्ने काम भइरहेको छ ।
कांग्रेसले ०७८ को मंसिरमा पार्टीको महाधिवेशन गरेको थियो । त्यसबेला नीतिमाथि बहस नगरी नेतृत्व चयन गरिएको थियो । नेताहरुले त्यसबेला ६ महिनाभित्र नीति महाधिवेशन गर्ने र तत्काल नेतृत्व चयनमात्रै गर्ने सहमति जुटाएका थिए । तर त्यसअनुसार नीति महाधिवेशन गर्न नसकेका कारण कांग्रेसले महाधिवेशनको करिब दुई वर्षपछि हुन लागेको महासमिति बैठकलाई नीति विशेष बनाउन लागेको हो ।
त्यसो त विधानबमोजिम महासमिति बैठकसमेत महाधिवेशन भएको एक वर्षभित्र गरिसक्नुपर्ने व्यवस्था छ ।