कांग्रेस संस्थापक नेता बीपी कोइरालाले २०३४ मा कोजाग्रत पूर्णिमाका दिन राजनीतिक सन्देशसहित सुरु गरेको चियापानलाई यस वर्ष कांग्रेसले पनि निरन्तरता दियो । अरू दलले समेत चियापानलाई राजनीतिक सन्देशसहित निरन्तरता दिँदै आएका छन् । कांग्रेस, एमाले, माओवादीलगायत दलले कुनै अवसर पारेर विगतका चियापानमा राजनीतिक सन्देश दिन्थे तर यस वर्ष कांग्रेस र एमालेको चियापान सांस्कृतिक पर्वका रूपमा सीमित रह्यो । दलहरूको स्पष्ट राजनीतिक सन्देश आएन ।
कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन गरेको चियापान दलहरूबीच शुभकामना आदानप्रदानमा सीमित रहेको थियो । एमालेले दसैं, तिहार, छठको शुभकामना आदानप्रदान गर्न बुधबार केन्द्रीय कार्यालय च्यासलमा चियापान गर्यो । जसमा प्रमुख राजनीतिक दलका नेता, नेपालस्थित कूटनीतिज्ञ, कर्मचारी, सर्वसाधारण तथा कार्यकर्ताको सहभागिता थियो ।
चियापानमा प्रधानमन्त्री पुष्पकमल दाहालले संक्रमणकालीन न्यायका सम्बन्धमा प्रमुख दलहरूबीच समझदारी बनेको सन्देश दिए । ‘कांग्रेस सभापति, एमाले अध्यक्ष र म बसेका थियौं, एउटा अन्डरस्ट्यान्डिङ बनेको छ, यो विषय छिट्टै टुंगिन्छ । हामीले पीडितकेन्द्रित भएर कानुन बन्ने भनेर पटक–पटक भन्दै आएका छौं,’ उनले भने, ‘अस्ति कांग्रेसको शुभकामना र आज भएको कार्यक्रमले पार्टीहरूबीचमा सहमझदारी बनाउन राम्रो वातावरण बनेको छ ।’ एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘सहमतिका साथ पीडितकेन्द्रित भएर टुंग्याउनुपर्ने’ बताए । ‘सर्वोच्च अदालतको आदेशलाई मानेर टुंग्याउनुपर्छ । अन्तर्राष्ट्रिय समुदाय खासगरी मानवअधिकार संघहरूमा पनि केही कुरा भएको छ, त्यसलाई पनि ध्यान दिनुपर्छ,’ उनको भनाइ थियो ।
चियापानमा सहभागी हुनुअघि बुधबार बिहान प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र ओलीबीच संक्रमणकालीन न्यायसम्बन्धी छलफल भएको थियो । दाहालले संक्रमणकालीन न्याय टुंग्याउने विषयमा सहमतिबारे खुलाएनन् । सत्य निरूपण तथा मेलमिलाप आयोग तथा बेपत्ता पारिएका व्यक्तिको छानबिनसम्बन्धी विधेयक संसद्मा विचाराधीन छ । सत्ता गठबन्धनले शान्ति प्रक्रियासम्बन्धी काम टुंग्याउने तत्परता देखाए पनि एमालेले फरक मत राख्दै आएको छ ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकमा सांस्कृतिक, धार्मिक अराजकता उत्पन्न गर्ने चेस्टा भएको बेला धार्मिक र सांस्कृतिक एकताको सन्देश दिएको बताए । ‘बहुभाषी, बहुधार्मिक मुलुकमा चियापानले सांस्कृतिक विविधतालाई एकठाउँमा बाँध्ने काम गरेको छ,’ उनले भने । प्रमुख राजनीतिक दलबीच अन्तरविरोध भए पनि चियापान र शुभकामना आदानप्रदानले संवादको ढोका खोल्ने उनको भनाइ छ । ‘लोकतन्त्रमा दलहरूबीच अन्तरविरोध हुनु स्वाभाविक हो, त्यसैले संवाद कायम राख्नुपर्छ,’ उनले भने, ‘यसले कहिलकाहीं दलहरूबीच चिसोपन भए पनि चियापानले न्यानो सिर्जना गर्छ ।’ एमालेको चियापानले यस पटक धार्मिक, सांस्कृतिक एकताका लागि बलियो सन्देश दिएको उनको भनाइ छ । दलहरूबीच कार्यसम्पादनमा एकअर्काप्रति आलोचक भए पनि राजनीतिक शासन प्रणालीमा एक ठाउँमा उभिएको उनले बताए ।
कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बीपी कोइराला, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाले प्रजातन्त्रका लागि सुरु गरको चियापानलाई पार्टीले निरन्तरता दिएको र यसले लोकतन्त्रको पक्षमा दलहरूबीच हार्दिकताको वातावरण बनाउन सन्देश दिएको बताए । ‘यस्ता कार्यक्रमले राजनीतिक तिक्ततालाई प्रमुख दलका शीर्ष नेतामा हार्दिकमा बदल्ने काम गरेको छ,’ उनले भने, ‘पुराना दलमाथि पैदा भएको चुनौतीलाई आआफ्नो ठाउँबाट जवाफ दिने शीर्ष नेताको सन्देश आयो । यो नै मुख्य राजनीतिक सन्देश हो ।’
राजनीतिक विश्लेषक नीलाम्बर आचार्य भने चियापानले मुलुकका लागि साझा सन्देश दिन नसकेको बताउँछन् । ‘सत्तामा रहेका र बाहिर भएका दलबीच मुलुकको साझा हितका लागि सन्देश दिन सक्नुपर्थ्यो,’ उनले भने, ‘पार्टीका चियापानमा राजनीतिक संस्कार हराएर गयो ।’ कांग्रेसले पञ्चायती व्यवस्थामा प्रजातन्त्रका लागि सुरु गरेको चियापान सत्ताकेन्द्रित हुन पुगेको उनले आरोप लगाए ।
राजनीतिशास्त्री खगेन्द्र प्रसाईंले दलहरूको मुख्य मुद्दा सरकारमा केन्द्रित भएकाले चियापान पनि त्यसमै केन्द्रित भएको बताए । ‘प्रमुख दलको मुख्य मुद्दा सरकार बनाउने र भत्काउने हो । त्यसकारण चियापानमा नेताहरू त्यसकै वरिपरि रहेर कुरा गरे,’ उनले भने, ‘दलहरू दिशाहीन भएपछि सरकार नै उनीहरूको प्रमुख प्राथमिकतामा परेको छ ।’
चियापानमा पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, पूर्वप्रधानमन्त्री खिलराज रेग्मी, राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष रवि लामिछाने, नेकपाका महासचिव नेत्रविक्रम चन्दसमेत सहभागी थिए ।