कांग्रेस नेता शेखर कोइरालाले व्यवहारवादी राजनीतिको नाउँमा कांग्रेसले सिद्धान्तहिन राजनीतिको बाटो समात्न खोजिरहेको बताएका छन् । उनले आफू भने सिद्धान्तहीन राजनीति गर्न नसक्ने बताए । बुधबार कास्की क्षेत्र नं. १ मा कांग्रेसको क्षेत्रीय सम्मेलनमा बोल्दै नेता कोइरालाले पार्टीले बाटो बिराउन लाग्दा कोशीमा पार्टीको सिद्धान्तलाई केन्द्रमा राखेर एउटा फरक अभ्यास भएको दाबी गरे ।
‘व्यवहारबादी राजनीतिको नाउँमा नेपाली कांग्रेसले आफ्नो सिद्धान्तहरू छोड्दैछ । तर म छोड्दिनँ । म सिद्धान्तहीन राजनीति गर्न सक्दिनँ । कोशीमा पार्टीले सिद्धान्त छोड्न लाग्दा एउटा एक्पेरिमेन्ट भयो,’ कोइरालाले भने, ‘हेरौँ, अब कसरी अघि बढ्छ ? पक्कै पनि एउटा निष्कर्षमा पुग्ला ।’
नेता कोइरालाले पछिल्लो विकसित राजनीतिक घटनाबारे पार्टीमा सभापति शेरबहादुर देउवा र नेताहरूसँग संवाद भइरहेको बताए । ‘सबैसँग कुरा भइरहेको छ । सभापतिजीसँग पनि अस्तिको दिनमात्रै भेट भयो । मेरो उहाँसँग पनि संवाद भइरहेको छ । उहाँ पार्टीको सभापति हो, हामीभन्दा सिनियर हो, उहाँलाई सम्मान नै गरेर अघि बढ्ने हो,’ उनले भने ।
सम्मेलनमा नेताहरूले आगामी निर्वाचनमा गठबन्धन गर्न नहुने प्रसंग उठाएकामा नेता कोइरालाले आगामी निर्वाचनमा गठबन्धन नगर्ने मनस्थिति बनाएर देशभरिबाट कार्यकर्ताहरूले अहिल्यैदेखि काम थाल्नुपर्ने बताए । उनले अब संविधानमा संशोधन गरेर समानुपातिक निर्वाचन प्रणाली हटाउनुपर्ने र प्रत्यक्षतर्फ नै सबै क्लष्टरहरूको प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गर्नुपर्ने बताए ।
‘समानुपातिक निर्वाचन प्रणालीलाई बिदा गरौँ । तर संविधानमा व्यवस्था गरिएको समावेशिताको मर्मलाई लागू गर्ने गरी क्लष्टरबाट उम्मेदवारी दिने व्यवस्था गरौँ । सबै प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गरौँ । एक्लै चुनाव लडौँ । गठबन्धन नगरी चुनावमा जाऔँ,’ उनले भने, ‘तपाईहरू अहिले देखि नै एक्लै चुनाव लड्नुपर्छ भनेर वडा–वडामा जानुहोस्, हामी आगामी निर्वाचनमा एक्लै लडौँ ।’
कोइरालाले कांग्रेससहितको गठबन्धनको सरकार भएपनि अहिले सरकारले गरेका गलत कामको विरोध गर्न सक्नुपर्ने बताए । ‘सरकारले गर्नैपर्ने कतिपय कामहरू गर्न सकेको छैन । तर हामी गठबन्धनमा भएकै कारण सरकारको विरोध गर्नुहुदैन भन्ने मान्यता राख्नु गलत हुन्छ । हामीले सरकारले गरेको राम्रो कामको प्रशंशामात्रै होइन, खराब कामको विरोध गर्नपनि सक्नुपर्छ,’ उनले भने ।
उनले सरकारले आर्थिक संकट बढिरहेका बेला त्यसलाई टार्ने गरी कुनै प्रयास गर्न नसकेको बताए । कोइरालाले माओवादी केन्द्रले सरकारमै भएको पार्टीले सडक संघर्ष गर्छु भन्नु लज्जास्पद भएको बताए । ‘सरकारमा भएको पार्टीले सडक संघर्ष गरेर माग गर्ने होइन, आफैंले काम गर्ने हो, त्यसैले काम गर्नुपर्यो,’ उनले भने ।