केही दिनयता भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषण भयावह बनेको छ। प्रदूषणका कारण दिल्लीका प्राथमिक विद्यालयहरू तिहारसम्म बन्द गरिएका छन् भने ६ देखि १२ कक्षाका विद्यार्थीलाई सकेसम्म अनलाइन कक्षा सञ्चालन गर्न भनिएको छ।
यसैगरी, सरकारी तथा निजी कार्यालयका ५० प्रतिशत कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिल्ली सरकारले दिएको छ।
राजधानी दिल्लीसँग जोडिएका पञ्जाब, हरियाणा तथा उत्तर प्रदेशका किसानले धान खेत भिœयाइसकेपछि कृषि अवशेष बाल्दा निस्कने धुँवाले दिल्ली र भारतको उत्तरी क्षेत्रका राज्यमा हरेक वर्ष प्रदूषण ह्वात्तै बढ्ने गर्दछ।
सिस्टम अफ एयर क्वालिटी फोरकास्टिङ एण्ड रिसर्च (सफर–इन्डिया)का अनुसार गत शुक्रबार र शनिबार दिल्लीमा वायुको गुणस्तर सूचकांक(एक्यूआई) पाँच सय नाघेको थियो भने र आइतबार अपराह्न चार सयको हाराहारीमा रहेको थियो। वायु प्रदूषणले जनस्वास्थ्यमा पार्ने प्रभावको हिसाबले शून्यदेखि पाँचसयसम्म विभिन्न ६ तहमा विभाजन गर्दा छैठौं तह अर्थात् चार सयभन्दा माथिका तहलाई ‘अत्यन्त घातक’ मानिन्छ।
यो तहमा समग्र जनसंख्यालाई प्रभावित पार्ने भएकाले स्वास्थ्य आपतकालको अवस्था मानिन्छ। मानव स्वास्थ्यका लागि अत्यन्त घातक यो तहको प्रदूषणले फोक्सोका बिरामीलाई उच्चतम जोखिम हुने र फोक्सोको क्यान्सरसमेत हुनसक्ने मानिन्छ।
भारतको इकोनोमिक टाइम्सले आइतबार जनाएअनुसार दिल्लीका वातावरणमन्त्री गोपाल राईले केन्द्र सरकारलाई दिल्ली वरपरका पाँच राज्यका वातावरणमन्त्रीको तत्काल बैठक आयोजना गर्न पत्र लेखेका छन्।
उनले केन्द्र सरकारलाई उत्सर्जनको बिएस–६ मापदण्ड परिपालन गरेका सवारी साधनलाई मात्र दिल्ली प्रवेश गर्न पाउने व्यवस्था गर्नसमेत अनुरोध गरेका छन्। प्रदूषण उच्चतम् तहमा पुगेकाले दिल्लीमा निर्माण कार्यलाई रोक लगाइएको छ। आइतबार दिल्लीका अग्नि नियन्त्रक सेवाले राजधानीको प्रदूषण नियन्त्रण गर्न विभिन्न १२ स्थानमा पानीको फोहोरा फालेको उक्त संस्थाका निर्देशक अतुल गर्गले इकोनोमिक टाइम्सलाई बताएका छन्।
दिल्लीको म्युनिसिपल कर्पाेरेसनले खुला स्थानमा फोहोर बाल्ने, अनाधिकारिक रूपमा निर्माणलागायतका प्रदूषणजन्य कार्य रोक्न पाँच सय १७ वटा अनुगमन टोली बनाएर परिचालन गरेको जनाएको छ।
यसैगरी, नजिकिँदै गरेको दिपापलीको सन्दर्भमा दिल्लीभित्रैका कतिपय स्थानमा पटका पड्काउन बन्देज लगाइएको छ। खरानी र धुवा कम निस्कने खालका हरित पटकालाई बिक्री गर्न अनुमति दिन सकिने भारतको नेसनल इन्भायरोमेन्टल इन्जिनियरिङ इन्स्टिच्युटले जनाएको छ। क्युआर कोडसहितका यस्ता पटकाको बेचखिनलाई पश्चिम बंगाल सरकारले स्वीकृति दिइसकेको छ।
प्रदूषित वायुले गर्भमा रहेका शिशुलाई गम्भीर असर पार्ने दिल्लीस्थित मेदान्त अस्पतालका वरिष्ठ फोक्सो विशेषज्ञ अरविन्द कुमारलाई उद्धृत गर्दै इकोनोमिक टाइम्सले समाचार छापेको छ। एयर प्युरिफायर प्रदूषण रोक्न पर्याप्त नहुने अत्यधिक प्रदूषणको अवस्थमा जन्मेका बालबालिकामा समेत गम्भीर स्वास्थ्य समस्या निम्तिने भारतीय चिकित्सकले बताएका छन्।
शरीरका अधिकांश अंगलाई असर पार्ने वायु प्रदूषणले श्वासप्रश्वाससम्बन्धी रोगहरू, फोक्सोको क्यान्सरका साथै मुटु रोग, हाइपरटेन्सन, मस्तिष्कघात, पार्किन्सन्सलगायतका रोगहरू लाग्ने विभिन्न अध्ययनले देखाएका छन्।
नेपाल सतर्कता जरुरी
विज्ञले छिमेकी भारतका दिल्ली र उत्तरी क्षेत्रमा देखिएको वायु प्रदूषण नेपालमा पनि प्रवेश गर्न सक्ने भएकाले नेपाल पनि सतर्क हुन आवश्यक रहेको बताएका छन्। तत्काल नेपालमा भारतमा जस्तो प्रदूषणको भयावह अवस्था नरहे पनि केही सातामा त्यो अवस्था आउनसक्ने विज्ञ मान्छन्।
नेपालको तराई क्षेत्रमा प्रदूषण बढ्न थालेको चर्चा गर्र्दै त्रिभुवन विश्वविद्यालयको केन्द्रीय वातावरण विभागकी प्राध्यापक डा. रेजिना मास्के व्याञ्जु सीमापारबाट आउने प्रदूषण रोक्न कठिन भए पनि प्रदूषणका आन्तरिक कारणलाई नेपालले रोक्नसक्ने र त्यसका लागि सरकार गम्भीर हुनुपर्ने ठान्छिन्। ‘हामीसँग प्रदूषण नियन्त्रण गर्न यथेष्ट नीतिगत र कानुनी व्यवस्था छन्, तर कार्यान्वयन अत्यन्त कमजोर छ,’ प्राध्यापक ब्याञ्जु भन्छिन्।
केही वर्षअघि आफूले नेतृत्व गरेको एक अध्ययनले नेपालमा हुने वायु प्रदूषणका लागि सीमाबाहिरबाट आउने वायु प्रदूषण ५० प्रतिशत जिम्मेवार रहेको, ३० प्रतिशत वायु प्रदूषण आन्तरिक कारणले र २० प्रतिशत प्राकृतिक कारणले हुने गरेको देखिएको पुल्चोक इन्जिनियरिङ क्याम्पसअन्तर्गत ऊर्जा अध्ययन केन्द्रका प्राध्यापक अमृतमान नकर्मी बताउँछन्। उनले युरोप, पश्चिम एसिया तथा भारतबाट वायु प्रदूषण नेपाल भित्रिने बताए।
प्रदुषणका आन्तरिक कारणमा सवारीसाधन विशेषगरी डिजेलमा आधारित सवारीसाधनले गर्ने उत्सर्जन, वनजंगलमा डढेलो लाग्दा निस्कने धुँवा, इँटा भट्टाले गर्ने उत्सर्जन, कृषि अवशेष जलाउँदा हुने उत्सर्जन तथा फोहोरमैला बाल्दा हुने उत्सर्जन नेपालमा वायु प्रदुषणका लागि प्रमुख कारण मानिँदै आएको छ।
यो विषय बहुनिकायसँग सम्बद्ध र वहुआयामिक समस्या रहेकाले सबै निकाय र सरोकारवालाको सहकार्य र हातेमालो आवश्यक रहेको विज्ञ मान्छन्।
‘जनस्वास्थ्यसँग जोडिएको यो विषयलाई नियन्त्रण राजनीति नेतृत्वदेखि सबै सरोकारवालाहरू गम्भीर हुन आवश्यक छ,’ प्राध्यापक ब्याञ्जु भन्छिन्। विश्व स्वास्थ्य संगठनका अनुसार घरभित्र र बाहिर हुने वायु प्रदुषणका कारणमा सन् २०१९मा नेपालमा ४२ हजारको मृत्य भएको थियो। वायु प्रदुषणजन्य कुल मृत्युमध्ये १९ प्रतिशत पाँच वर्षमुनिका बालबालिका र २७ प्रतिशत ७० वर्ष उमेरमाथिका उमेर समूहका रहेको अध्ययनले देखाएका छन्।