१७ जेष्ठ २०८१, बिहिबार
१७ जेष्ठ २०८१, बिहिबार

टिकटक नियमन नहुँदा बढ्दै अराजकता

जागिर खोज्न आइपुगेकी एक युवतीलाई कम्पनी प्रमुखले ललाइफकाइ शारीरिक सम्बन्ध राखे र उनको नग्न तस्बिर पनि खिचे । केही वर्षपछि युवतीको अर्कैसँग बिहे हुने भयो । यो थाहा पाएलगत्तै ती कम्पनी प्रमुखले फेक टिकटक आईडी बनाएर युवतीका नग्न तस्बिरसँगै जोडेर अश्लील शब्द र भद्दा गीतहरू अपलोड गरे । भिडियो तुरुन्तै भाइरल भइदियो । अहिले ती व्यक्तिविरुद्ध साइबर अपराध ब्युरोमा युवती र उनका पतिले मुद्दा दायर गरेका छन् ।

पछिल्लो समय साइबर ब्युरोले थामिनसक्नु गरी टिकटकमार्फत भएका साइबर अपराधका उजुरी झेलिरहेको छ । नशाले लट्ठिएका बेला टिकटक लाइभमा अंग प्रदर्शन गर्दा कसैले त्यही भिडियोलाई भाइरल बनाइदियो । साइबर ब्युरो अहिले तिनै युवतीको उजुरीअनुसार भिडियो भाइरल बनाउनेको खोजीमा लागिरहेको छ । जातीय विभेद, घृणास्पद अभिव्यक्ति, नेता तथा सेलेब्रिटीविरुद्ध हुने चरित्र हत्याका भाइरल भिडियोहरूले समस्यामा परेपछि दायर भएका मुद्दाले साइबर ब्युरोको जनशक्ति र अनुसन्धान क्षमता दुवैलाई चुनौती दिइरहेको छ ।

पछिल्लो समय टिकटकको दुरुपयोग गरी साइबर आपराधिक गतिविधि गर्ने घटना तीव्रतर गतिले बढेको देखिन्छ । साइबर ब्युरोको केन्द्रीय तथ्यांकअनुसार २०७६/७७ मा साइबर अपराधका जम्मा ४ वटा उजुरी परेकामा एक वर्ष नबित्दै त्यो संख्या ७० मा पुग्यो । २०७८/७९ मा २ सय ३३ वटा उजुरी दर्ता भएकामा अर्को आवमा ७ सय २१ वटा र २०८०/८१ को तीन महिनामै ६ सय २० वटा उजुरी परिसकेका छन् । पछिल्लो ४ वर्ष ३ महिनाभित्रमा १ हजार ६ सय ४८ वटा साइबर अपराधका उजुरी दर्ता भएका छन् । अधिकांश साइबर मुद्दा टिकटकसँग सम्बन्धित छन् ।

‘टिकटक चलाउनेमा नै सचेतना नआएसम्म यस्ता घटना रोकिनेवाला छैनन्,’ साइबर ब्युरोका प्रहरी निरीक्षक राजकुमार खड्गीले भने, ‘यसको उपचारका लागि विद्युतीय कारोबार ऐन २०६३ पर्याप्त छैन, साइबर अपराध नियन्त्रण ऐनको आवश्यकता छ ।’ टिकटकलगायत सामाजिक सञ्जालको दुरुपयोगले समाजमा बढ्दो घृणा, अश्लीलता र चरित्र हत्याका घटना सरकारको टाउको दुखाइ भइरहेको छ ।

फेक एकाउन्ट खोलेर जसले जसलाई जे पनि गर्न सक्ने र बदनाम गराउने सामग्रीलाई स्वतः हटाउने कुनै संयन्त्र टिकटकमा छैन । छिमेकी भारत, अफगानिस्तानलगायत देशले टिकटकलाई प्रतिबन्ध नै लगाएका छन् भने अमेरिका, फ्रान्ससहित ५० भन्दा बढी विकसित देशले यसको नियमनका लागि कदमहरू चालेका छन् ।

बच्चादेखि वृद्धवृद्धासम्म जुनसुकै उमेर र पेसाकाले सर्वाधिक प्रयोग गर्ने टिकटकले नेपालमा पनि मनोसामाजिक समस्या ल्याएको देखिएपछि गृह मन्त्रालय कुनै न कुनै हिसाबले टिकटकको नियमन गर्ने अवस्थामा पुगेको छ । साइबर ब्युरो, गृह मन्त्रालय र टिकटकका अन्तर्राष्ट्रिय प्रतिनिधिबीच गत आइतबार पनि यस विषयमा छलफल भएको थियो ।

गैरकानूनी सामग्री स्वतः हटाउने र दोषीलाई कारबाही गर्न सकिने संयन्त्र विकास गर्न टिकटकलाई जिम्मेवार बनाउने सरकारको तयारी छ । तर, यतिले मात्रै टिकटकबाट हुने दुरुपयोग नरोकिने जानकारहरू बताउँछन् । ‘सरकारलाई केवल टिकटकमा भएका सामग्रीको मात्रै चिन्ता भएजस्तो देखिन्छ,’ डिजिटल राइट्स नेपालका कार्यकारी निर्देशक अधिवक्ता सन्तोष सिग्देल भन्छन्, ‘तर, समस्या यति मात्रै छैन, प्रयोगकर्ताका वैयक्तिक विवरण र गोपनीयतासँग सम्बन्धित तथ्यांकहरू सिधै टिकटकले जम्मा गर्छ जो देशबाहिरको साइबरमा गएर बस्छ, त्यो नेपालबाहिर जान दिन हुन्न भन्नेबारे सरकार सचेत नै देखिन्न, जो चिन्तालाग्दो विषय हो ।’

अमेरिकाले आफ्ना टिकटक प्रयोगकर्ता नागरिकको विवरण देशबाहिर लैजान प्रतिबन्ध लगाएपछि टिकटकले हालै त्यहाँ स्थानीय साइबर बनाएको छ । नेपालमा पनि टिकटकको सञ्चालक बाइटडान्स र फेसबुकको सञ्चालक मेटाजस्ता कम्पनीहरूको त्यस्तै संयन्त्र बनाउन सरकारले दबाब दिनुपर्ने सिग्देल बताउँछन् । ‘नागरिकको गोपनीयताको रक्षा गर्नु सरकारको प्राथमिक दायित्व हो,’ सिग्देल भन्छन्, ‘तर, ठूला कम्पनीहरूले आफ्ना नागरिकका गोपनीयतासँग सम्बन्धित वैयक्तिक विवरणहरू बिनारोकटोक लगिरहेका छन्, त्यसो गर्न नदिन सरकारले तत्काल आवश्यक कदम चाल्नुपर्छ ।’

टिकटकले प्रयोगकर्ताको रुचिअनुसारका अन्तहीन भिडियोहरू मोबाइलका स्क्रिनमा आउने गरी एलगोरिदम सेट गरेको हुनाले घण्टौंसम्म यसलाई चलाउने लतमा संसारभर रहेको अनुसन्धानले देखाएका छन् । जसले आम रूपमा अनिद्रा, एन्जाइटी, डिप्रेसनजस्ता मानसिक रोगको प्रकोप नै निम्त्याएको मनोविद्हरू बताउँछन् । ‘यस मामिलामा नेपाल पनि अछुतो रहेन,’ मनोचिकित्सक करुणा कुँवर भन्छिन्, ‘कुनै पनि लत लाग्नु भनेको मस्तिष्कका लागि कडा लागूऔषधको लत लाग्नुसरह नै खतरनाक हुन्छ, दुर्भाग्यवश ठूलो संख्यामा हामीकहाँ पनि मानिसहरूमा टिकटकको लत लागेको देखिन्छ जसले सोच्नै नसकिने मानसिक समस्याहरू निम्त्याइरहेको छ ।’

कुँवरले पछिल्लो समय आफूकहाँ टिकटक चलाएर डिप्रेसनमा पुगेकाहरू मनोचिकित्सा परामर्शका लागि आउने क्रम ह्वात्तै बढेको बताउँछिन् । ‘बालबालिकामा सामाजिक सञ्जाल धेरै चलाउने लत लाग्दा उनीहरूको मस्तिष्क विकासमा बाधा परिरहेको छ, वयस्कहरूमा पनि सिर्जनशीलता र उत्पादकत्व दुवै घटिरहेको छ,’ उनी भन्छिन्, ‘रातभरि पनि टिकटक चलाउनेहरूमा अनिद्राको समस्या आम रूपले देखिन थालेको छ, यसले गर्दा उनीहरूमा बेचैनी बढेको छ भने फलोअर धेरै भएनन् भन्ने चिन्ताले आत्महत्यासमेत गर्ने चिन्ताजनक घटनाहरू देखिन थालेका छन्, यो भनेको मानसिक स्वास्थ्य धेरै नै बिग्रेको अवस्था हो ।’

सामाजिक सञ्जाललाई सकेसम्म थोरै र आवश्यक परेका बखत जानकारीका लागि प्रयोग गर्ने, बच्चाहरूलाई यसबाट टाढै राख्ने र यसको मनलाग्दी प्रयोग हुन नदिन नियमन गर्ने काम सरकारले गर्नुपर्ने उनी ठान्छिन् ।

‘पहिलो त घरघरमा प्रयोगकर्ताहरू नै यसको दुष्परिणामबारे सचेत हुनुपर्छ,’ मनोचिकित्सक कुँवर भन्छिन्, ‘सरकारले पनि जति बेला जुन एप पनि चल्न नसक्ने गरी यसको नियमन गर्ने, कस्ता सामग्रीहरू मात्र अपलोड वा पोस्ट हुने भन्ने संयन्त्रको विकास गर्ने र टिकटक, फेसबुकजस्ता सामाजिक सञ्जाललाई जिम्मेवार भएर चलाउन लगाउने गर्नुपर्छ ।’

संसारका धेरै देशले बढ्दो मानसिक स्वास्थ्य समस्यालाई रोक्न टिकटकमा पूर्ण वा आंशिक बन्देज लगाएका घटनाको स्मरण गर्दै डा. कुँवरले थपिन्, ‘नेपालमा पनि कुनै न कुनै एक्सन लिन जरुरी छ भन्ने मलाई लाग्छ ।’

प्रयोगकर्ताहरूमा देखिएको मानसिक स्वास्थ्यमा बढ्दो विचलन, सामाजिक सद्भावमा आएको खलल र बिनारोकटोक घृणास्पद अभिव्यक्तिका अलावा टिकटकविरुद्ध भइरहेको यस विश्वव्यापी घटनाको पछाडि केही बहुआयामिक कारण हुन् सरकारहरूले गोपनीयता, राष्ट्रिय सुरक्षा र डाटा सुरक्षाको चिन्ता ।

अमेरिकालगायत पश्चिमा देशहरू टिकटकमार्फत चिनियाँ सरकारले संवेदनशील जानकारीमा पहुँच प्राप्त गरेकामा चिन्तित छन् । यस्तो चिन्ता गर्नुपर्ने अवस्था नेपालमा पनि भएको तर यसबारे सरकारले चासो भने देखाइनसकेको अधिवक्ता सिग्देलको विश्लेषण छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?