उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले यही कार्तिक २७ देखि मंसिर १ गतेसम्म संयुक्त अरब इमिरेट्स (यूएई) का लागि तय भएको भ्रमण स्थगित गरेका छन् ।
दुबईमा आयोजना हुन लागेको १८ औँ दुबई एयर शो, २०२३ मा भाग लिन यूएईका युवराज मोहम्मद बिल रसिद अल मकतुमको निमन्त्रणामा उपप्रधानमन्त्री खड्का नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यूएई जाने कार्यक्रम तय भएको थियो । यसका लागि यही कार्तिक १६ गते बसेको मन्त्रिपरिषद्को बैठकले भ्रमणको स्वीकृति समेत दिएको थियो ।
कर्णाली प्रदेशको जाजरकोटमा भूकम्प गएको र त्यहाँ उद्दार तथा राहतमा लाग्नुपर्ने भएकाले यूएई भ्रमण स्थगित गरिएको रक्षा मन्त्रालयका प्रवक्ता सहसचिव प्रकाश पौड्यालले विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् । ‘भूकम्प गए पश्चात जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको र प्रभावितहरूको उद्दार, राहत र पुनःस्थापनालगायतका काममा उपप्रधानमन्त्री खड्का स्वयम् निरन्तर क्रियाशील रहनु भएकाले यस विषम परिस्थितिमा वैदेशिक भ्रमणमा जान उपयुक्त नहुने निष्कर्षसहित यूएई भ्रमण रद्द गरिएको हो,’ विज्ञप्तिमा उल्लेख छ ।
कार्तिक १७ गते शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्प गएको दिन सुर्खेतमा रहेका उपप्रधानमन्त्री खड्का त्यसयता काठमाडौं फर्किएका छैनन् । उनी भूकम्प पीडितको उद्दार र राहतमा सहभागी भइरहेका छन् ।