लक्ष्मण घिमिरे ।
अर्घाखाँची । भुकम्पबाट आहत भएको जाजरकोट र पुर्वी रुकुमलाई अर्घाखाँचीका सबै स्थानीय तहले आर्थिक सहयोग गरेका छन् ।
जिल्ला समन्वय समितिको पहलमा आर्घाखाँचीका छ वटै स्थानीय तहले आर्थिक सहयोग गरेको जिल्ला समन्वय समितिका सभापती जिवनारायण कोईरालाले बताए । विपद् परेको बेलामा एकले अर्कोलाई सहयोग गर्नु प्रत्येक नेपालीको दायीत्व भएकोले यसमा सबैको सहयोग हुनुपर्ने उनले बताए ।
जिल्लाका तिन नगरपालिका सन्धिखर्क, भुमिकास्थान र शितगंगाले एक–एक लाख रुपैयाँ तथा तिन गाउँपालिका पाणिनी, छत्रदेव र मालारानीले ७५ हजारका दरले आर्थिक सहयोग गरेका हुन् । यहाँका छ वटा स्थानीय तहले एकमुष्ठ पाँच लाख २५ हजार आर्थिक सहयोग गरेका छन् ।
छ वटै स्थानीय तहको कार्यपालिका बैठक बसी एकमुष्ठ सहयोग गर्ने निर्णय भएको हो । भूकम्प प्रभावित क्षेत्रमा राहत, उपचार, पुनः निर्माणलगायतका कार्यमा सहयोग पुर्याउने उद्देश्यले सहयोग गरेको शितगंगा नगरपालिकाका नगर प्रमुख छविलाल पौडेलले बताए । आफूहरूले विपद् कोषबाट सो रकम सहयोग गर्ने निर्णय गरेको उनले बताए ।
गत कार्तिक १७ गते मध्यरातमा भूकम्प जाँदा जाजरकोट र पूर्वी रुकुममा ठुलो मानवीय तथा भौतिक क्षति भएको छ ।