६ बैशाख २०८१, बिहिबार
६ बैशाख २०८१, बिहिबार

भारत र पाकिस्तान जोड्ने फिल्म ‘टाइगर-३’

भारत र पाकिस्तानको अति शत्रुतापूर्ण व्यवहारका कारणले गर्दा समग्र सार्क क्षेत्र प्रताडित छ र नेपाल पनि यसको एक महत्वपूर्ण सदस्य भएको हुँदा त्यसबाट प्रभावित नहुने कुरै भएन ।

विश्व प्रसिद्ध भारतको बलिउड पनि अचम्मको छ, हिन्दुत्वमा अडिएको मानिने भारतीय राष्ट्रवादले पाकिस्तानको उग्र विरोध गर्छ र उसलाई सकेसम्म होच्याउने र त्योभन्दा बढी संस्थागत आतंकवादको पक्षपोषण गर्ने देशको रूपमा उभ्याउँछ । यही शृङ्खलाको पछिल्लो ब्लकबस्टर फिल्म थियो- सन्नी देवलको ‘गदर-२’ ।

यो चलचित्रमा पाकिस्तानी सेना कुन हदसम्मको भारत विरोधी रहेको छ भन्ने देखाइएको छ र अन्त्यमा उसकै भूमिमा हिरोका बाउछोराले सखाप पार्छन् भन्ने एक्सन सहित देखाइन्छ । यो कथा र प्रस्तुतिलाई भारतीय दर्शकहरूले सन्नी देवल र यसका निर्देशक अनिल शर्माको अपेक्षा विपरीत ब्लकबस्टर बनाइदिए ।

तर एउटा अचम्म लाग्ने कुरा के छ भने भारतीय सिने उद्योगका अर्का सुपरस्टार सलमान खानले भने उनका धेरै फिल्ममार्फत भारत र पाकिस्तानलाई भावनात्मक रूपमा जोड्ने प्रयास गर्छन्, एक्सन होस् वा मारधाड । ती फिल्म पनि हिट मात्रै नभई ब्लकबस्टर पनि छन् ।

यही शृङ्खलामा पर्छ उनको पछिल्लो फिल्म ‘टाइगर-३’ । उनका यी फ्रेञ्चाइजी तीन वटै फिल्महरूले भारत र पाकिस्तानलाई जोड्ने प्रयास गरेका छन् । अत्यन्त भावनात्मक तरिकाले यी शत्रुवत् दुई देशलाई जोड्ने फिल्म थियो- ‘बजरंगी भाइजान’ ।

दर्शकहरूलाई यो फिल्म यति मन पर्‍यो कि सन् २०१५ मा आएको यो फिल्मले संसारभरबाट ९.१ अर्ब रुपैयाँ कमायो, सुन्नमा आए अनुसार भारतसँग त्यति सुमधुर सम्बन्ध नभएको चीनमा समेत यो फिल्मले राम्रो व्यापार गर्‍यो ।

‘बजरंगी भाईजान’सँग बलिउड मसला फिल्मलाई चाहिने सबै तत्वहरू थिए- एक्सन, ड्रामा, संगीत र त्यसको कथा तथा उत्कृष्ट प्रस्तुति । यसको सन्देश पनि दुई देशलाई भावनात्मक रूपमा जोड्ने खालको । यो चलचित्रमा फिल्मलाई चाहिने सबै तत्वहरू हुनुका साथै धेरै कुराहरू अवास्तविक नलाग्ने ।

उनलाई एउटा हनुमान भक्तको रूपमा चित्रित गरिनुको साथै हनुमानसँग भएको बुद्धि, बल र भावना एकसाथ भएको देखाइएको छ र कुनै लप्पनछप्पन नभएका सोझो व्यक्ति पनि । एउटी बोल्न नसक्ने बच्चीलाई कसरी उनले ‘भारत विरोधी’ पाकिस्तानमा आफ्नो परिवारसँग मिलाउँछन् भन्ने कुरा बडो मार्मिक र सटिक ढंगले प्रस्तुत गरिएको छ । त्यसैले यो फिल्म ब्लकबस्टर भएको मान्न सकिन्छ ।

भारत पाकिस्तानलाई त्यस्तै भावनात्मक रूपमा जोड्ने उनको अर्को चलचित्र हो- ‘भारत’ । यो फिल्मले लामो अन्तरालको कहानी बोके तापनि यो सन् १९४७ को देश विभाजन हुने अवसरमा विछोड भएकी आफ्नी बहिनीसँगको मिलनको कथामा आधारित छ ।

उनका बाबु रेल्वेका मास्टर हुन्छन् र भीडभाड तथा दंगामा उनी मारिन्छन् तर उनले आफ्नो परिवारको रेखदेख कुनै हालतमा गर्नु भनी आफ्नो छोरा सलमानलाई जिम्मेवारी दिएका हुन्छन् । तर भीडभाडमा उनकी सानी बहिनी हराउँछिन्, पछि उमेर पुग्दै जाँदा उनी बेलायत पुग्छिन् र एउटा टेलिभिजन कार्यक्रम मार्फत भारत-पाकिस्तान विभाजनको बेला छुटेका परिवारलाई जोडाउने कार्यक्रम मार्फत उनकी बहिनी पनि भेटिन्छिन् । यो चलचित्रमा पनि सलमानले धेरै मारधाडका दृश्यहरू नराखीकनै अत्यन्तै न्याय गरेका छन् र दर्शकको मन जितेका छन् ।

धन्य छ, बलिउड फिल्म उद्योग जसले ‘गदर’ जस्तो भारत-पाकिस्तानलाई तोड्ने फिल्म मात्रै दिंदैन यी दुई देशहरूलाई जोड्ने फिल्महरू पनि दिइरहन्छ जसमा सुपरस्टार सलमान खान र यशराज ब्यानरले अग्रणी भूमिका निर्वाह गरिरहेको छ

अब चर्चा गरौं यशराज ब्यानरको, सन् २००४ मा रिलिज भएको फिल्म ‘वीर जारा’को । त्यसको मुख्य भूमिका शाहरूख खान र प्रीति जिन्टाले निभाएका छन् । यो फिल्ममा शाहरूख खान एउटा पाइलटको भूमिकामा भएको हुँदा सानो हेलिकोप्टर सहितको एक्सन दृश्य देखाइएको छ तर बाँकी सबै भावनात्मक रूपमा प्रस्तुत गरिएको छ ।

भारत र पाकिस्तानको उग्र शत्रुताको कारणले भारतीय जासुसको आरोपमा शाहरूख खानलाई पाकिस्तानी जेलमा राखिन्छ र पछि उनको नाम पनि विस्मृतिमा परेर ‘कैदी नम्बर ७८६’ हुन्छ । जसलाई पाक अर्थात् पवित्र मानिन्छ । उता यसकी नायिका शाहरूखको भारतीय गाउँमा आएर बच्चाहरूलाई पढाउने सेवा गर्छिन्, त्यो पनि निस्वार्थ रूपमा ।

अन्त्यमा वकिलको भूमिकामा रहेकी रानी मुखर्जीले कानुनी लडाईं लडेर यी एकअर्काप्रति निस्वार्थ भावले समर्पित जोडीलाई मिलाउँछिन् । यसको संगीत, नाट्य रूपान्तरण तथा भावनात्मक प्रस्तुति उच्च श्रेणीको भएको हुँदा दर्शकको आँखामा पटक-पटक आँसु आउँछन् । यसको मूल सन्देश पनि भारत र पाकिस्तानलाई जोड्ने हो ।

संभवतः भारत र पाकिस्तानलाई जोड्ने यही परम्परालाई यशराज चोपडाका छोरा आदित्य चोपडाले पनि कायम राखेका छन्, आफ्ना तीन वटा ‘टाइगर’ फिल्महरू मार्फत । पहिलो शृंखला टाइगरमा दिनमै विभिन्न स्वरूपमा हजारौं युद्धहरू लड्ने पाकिस्तानी गुप्तचरी संस्था आईएसआई तथा भारतीय गुप्तचरी संस्था रअका लागि काम गर्ने दुइटा एजेण्टहरू बीचमा विवाह गराएका छन् ।

उनीहरू शत्रु देशका एजेण्टहरू भएको जान्दाजान्दै पनि एकअर्कालाई कुनै हानिनोक्सानी नगरी सफल दाम्पत्य जीवन गुजारी मात्रै रहँदैनन् आइपर्दा आफ्नो देशका लागि मरिमेटेर काम गर्छन् । यही शृंखला टाइगर २ र ३ मा समेत जारी राखेका छन् ।

पहिले पहिले यस्ता जासुसी र एक्सनले भरिएका कथाहरू बेलायती गुप्तचर संस्था एमआईका सुपर एजेण्ट जेम्स बोण्डको बारेमा हेरिन्थ्यो । आम मान्छेले कल्पनासम्म गर्न नसक्ने एक्सनले भरपूर यी सिनेमाहरूले संसारै पिटेका थिए । प्रविधि र ठूलो पूँजी भारतीय सिनेमा उद्योगमा भित्रिएपछि त्यहाँ पनि जेम्स बोण्डकै हाराहारीमा र उनीहरूकै कथामा यस्ता फिल्महरू बनिरहेका र दर्शकमाझ लोकपि्रय पनि भइरहेका छन् ।

‘टाइगर-२’ मा इराकमा फसेका ८०० भारतीय तथा १०० पाकिस्तानी नर्सहरूलाई उद्धार गर्न यी आईएसआई र रअका एजेन्टहरूले जुन तरिकाले काम गर्छन् त्यसको मूल कथा त्यही हो । टाइगर शृंखलाको रोचक पक्ष के हो भने यी दुई श्रीमान्-श्रीमती एउटै मिसनमा काम गर्छन् । तर एकअर्कालाई थाहै नदिई पछि मात्रै थाहा पाउने तरिकाले । यसमा निर्माता, निर्देशक र कथाकारले जासुसी सिनेमामा जुन कौतूहलता राख्नुपर्ने हो त्यो राख्ने काम अब्बल तरिकाले गरेका छन् ।

अब ‘टाइगर-३’ को चर्चा गरौं । माथि भनिएकै फ्रेन्चाइजी कथाको निरन्तरता हो यो सिनेमा । अर्थात् पाकिस्तानी र भारतीय जासुसी संस्थाका एजेन्टहरू मिलेर एउटै मिसनमा काम गर्ने । योभन्दा अघिल्ला सिरिजहरूमा कुनै विदेशी भूमिमा यी जासुसहरूले काम गर्थे भने यो सिरिजमा पाकिस्तानमा काम गर्छन् ।

पाकिस्तानले जुन रूपमा भारतलाई ठूलो शत्रु देख्छ तर त्यहाँको वास्तविक शत्रु भनेको सत्ता-आकांक्षी सैनिक जलरलहरू हुन् भन्ने कथा यो चलचित्रले पस्किन्छ । अर्थात् आईएसआईकै पुरानो एजेन्टले सेनाका जनरलहरूसँग मिलेर भारतसँग शान्ति चाहने राजनैतिक रूपले निर्वाचित प्रधानमन्त्रीलाई अपदस्थ गरेर सत्ता हत्याउने प्रपञ्च रच्ने खलनायक (इमरान हास्मी) लाई देखाइएको छ ।

वास्तविक शत्रु भारत होइन पाकिस्तानी नै हुन् भन्ने मूल सन्देश दिइएको छ । टाइगरका अघिल्ला दुई शृंखलाहरू हेर्दा लार्जर द्यान लाइफका दृश्यहरू अलि वास्तविक लाग्थे । तर यो तेस्रो शृंखलामा एक्सन दृश्यहरू कल्पना पनि गर्न नसकिने साथै अवास्तविक लाग्ने तरिकाले देखाइएको छ ।

पाकिस्तानी जेलबाट टाइगर भाग्दा पठान (शाहरूख खान) ले जुन रूपमा प्रवेश गर्छन् त्यो दृश्यहरू हेर्दा कुनै भिडियो गेमको दृश्य हो कि सिनेमा हो भनेर छुट्याउन गाह्रो पर्छ । भिडियो गेममा पनि एकपछि अर्को कठिन अवस्थाहरू पार गर्न नसक्दा भिडियो गेम खेल्ने व्यक्ति हार्छ तर यहाँ यस्तो असम्भव र कठिन दृश्यहरूमा पनि दुइटा सुपरस्टार हिरोहरू एकअर्कासँग ठट्टा गरिरहेका हुन्छन् ।

यस्ता दृश्यहरूमा बाल दर्शक त रमाउलान्, तर वयस्क दर्शकहरूलाई भने पचाउन गाह्रो पर्छ । यसको अन्तिम दृश्यमा पाकिस्तानकी प्रधानमन्त्री जसलाई बेनजिर भुट्टोको झल्को दिने गरी बनाइएको छ, जसलाई आतंककारीहरूले मारेको भनिन्छ, लाई आईएसआई तथा रअका दुई एजेन्ट तथा अन्य पाकिस्तान र भारतप्रति बफादार सहयोगी एजेन्टहरूको मार्फत बचाइन्छ ।

भारतीय राष्ट्रवादलाई मलजल गर्ने दृश्य पाकिस्तानी स्वतन्त्रता दिवस अर्थात् १४ अगस्तमा आफ्नो प्रस्तुति दिन गएका स्कुले किशोरी विद्यार्थी मार्फत भारतको राष्ट्रगान मार्फत सम्मान र मित्रताको सन्देश दिइएको छ, यो वास्तवमा पटकथा लेखकको अति मार्मिक दृश्यांकन मान्नुपर्छ ।

भारत र पाकिस्तानको अति शत्रुतापूर्ण व्यवहारका कारणले गर्दा समग्र सार्क क्षेत्र प्रताडित छ र नेपाल पनि यसको एक महत्वपूर्ण सदस्य भएको हुँदा त्यसबाट प्रभावित नहुने कुरै भएन । धन्य छ, बलिउड फिल्म उद्योग जसले ‘गदर’ जस्तो भारत-पाकिस्तानलाई तोड्ने फिल्म मात्रै दिंदैन यी दुई देशहरूलाई जोड्ने फिल्महरू पनि दिइरहन्छ जसमा सुपरस्टार सलमान खान र यशराज ब्यानरले अग्रणी भूमिका निर्वाह गरिरहेको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?