सर्वोच्चले ब्यूँताइदियो एमाले र माओवादी केन्द्र, अर्कैका नाममा दर्ता छन् दुवै पार्टी

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएको छ ।
निर्वाचन आयोगले ऋषिराम कट्टेल नेतृत्वमा नेपाल कम्युिनस्ट पार्टी दर्ता भइसकेको अवस्थामा निर्वाचन आयोगले तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्र एकीकरण भइ बनेको दललाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाममा दर्ता गरेको थियो । दुई दल एकीकरण भएपछि बनेको नयाँ दलको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दर्ता गर्ने निर्वाचन आयोगको निर्णय विरुद्ध परेको रिटमा न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पक्षमा फैसला गरेको हो ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दर्ता गर्ने आयोगको २३ जेठ २०७५ को निर्णय र त्यसलाई सदर गर्न ९ कात्तिक २०७५ को निर्णय बदर गर्दै सर्वोच्चले साबिकमा निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता रहेका नेपाल कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग राजनीतिक दलका रुपमा साविककै अवस्थामा कायम रहने बताएको छ । फैसलामा अगाडि भनिएको छ, ‘अब यी दुई राजनीतिक दलले एकीकरण गर्ने भए राजनीतिक दलसम्बन्धी ऐन तथा नियम विपरीत नहुने गरी निर्णय गरी अविलम्ब निर्वाचन आयोगमा उपस्थित हुन जानकारी दिई शीघ्र कानून बमोजिम आवश्यक निर्णय गर्नू गराउनू भनी विपक्षीमध्येका निर्वाचन आयोगका नाममा परामादेश समेत जारी गरिएको छ ।’
अर्कैका नाममा दर्ता भएका एमाले र माओवादी केन्द्र कसरी ब्युँतिन्छन् ?
सर्वोच्च अदालतले सत्तारूढ नेकपाको एकीकरण खारेज गर्दै पूर्ववतस् रूपमा एमाले र माओवादी केन्द्र ब्युँताउने आदेश दिएको छ। तर निर्वाचन आयोगमा एमाले र माओवादी केन्द्र नामका दुई पार्टी अर्कैका नाममा दर्ता भइसकेका छन्।
एमाले र माओवादी केन्द्र खारेज गरेको घोषणा गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा गठन भएको घोषणा गरेका थिए। निर्वाचन आयोगमा एमाले र माओवादी केन्द्र खाली भएपछि मोरङकी पूर्वएमाले कार्यकर्ता सन्ध्या तिवारीले आफ्नो नाममा नेकपा (एमाले) दर्ता गराएकी थिइन्। त्यसैगरी, पूर्वमाओवादी नेता गोपाल किराँतीले आफ्नो नाममा नेकपा (माओवादी केन्द्र) दर्ता गरेका थिए।

अहिले पनि निर्वाचन आयोगमा यी दुवै पार्टी तिवारी र किराँतीको नाममा दर्ता छन्। निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलको सूचीमा १२५ औं स्थानमा माओवादी केन्द्र र १३२ औं स्थानमा एमाले दर्ता छन्। सर्वोच्चले एमाले र माओवादी केन्द्र पूर्ववत: रूपमा ब्युँतिने फैसला गरे पनि यी दुबै पार्टी कानुनी रूपमा अर्कैका नाममा दर्ता रहेकाले यो फैसलाले संवैधानिक/कानुनी जटिलता थपेको छ।