अर्घाखाँची । जन्मदिनमा केक काट्ने, साथिभाईहरुसंग रमाउने पैसा सामाजिक काममा लगाउने सकारात्मक सोच बढ्न थालेको छ । प्राय युवाहरु फिजुल खर्च जोगाएर सामाजिक क्षेत्रमा सहयोग गर्न तत्पर हुनु सकारात्मक पक्ष हो ।
आफ्नो पकेट खर्च कम गर्ने, तडक-भडक र तामझाम कम गरेर समाजमा दुख परेकाहरुलाई थोरै भएपनी सामाजिक उत्तरदायित्व वहन गर्नतिर युवाहरुले पहलकदमी थालेका छन् ।
यसैबिच अर्घाखाँची घर भई हाल भारतमा रहेका एक युवाले आफ्नो जन्मदिनका अवसरमा भुमिकास्थान-९, ढिकुराका मृगौला पिडित बिष्णुप्रसाद घिमिरेलाई आर्थिक सहयोग गरेका छन् ।
अर्घाखाँचीको मालारानी गाँउपालिका-४, खन उपल्लाबडाचौर घर भई हाल भारतको गाजियाबादमा रहेका लक्ष्मण खनालले मृगौला पिडित घिमिरेलाई उपचारमा सहयोग पुगोस् भन्ने हेतुले २५५५/- रुपैया सहयोग गरेका छन् । जन्मदिनको अवसरमा अन्य खर्च नगरि सहयोग गरेको उनले बताए । ‘समाजमा अनेक दुख पाएका व्यक्तीहरु हुनुहुन्छ, उनले भने,’सानो सहयोगले जिवन बच्छ भने सहयोग किन नगर्ने ?’
सबैले फजुल खर्च रोकेर सहयोग गर्नुपर्ने उनको भनाई छ । थोपाथोपा मिलेर सागर बन्ने भन्दै उनले हामिपनी थोरै थोरै जम्मा गरेर धेरै बनाउन सकिने बताए । दुवै मृगौला गुमाएका घिमिरेको काठमान्डौको नर्विक अस्पतालमा उपचार भईरहेको छ । आर्थिक स्थिति कमजोर रहेको र उपचारमा धेरै रकम खर्च हुने भएकाले परिवारले सहयोगका लागी अपिल गरेको छ ।