काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सम्पूर्ण नेपालीहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराइसक्ने बताएका छन् ।
सबैलाई निःशुल्क खोप उपलब्ध गराउने उनले बताए । कोरोनाविरुद्धको खोप अभियान शुभारम्भ समारोहलाई आज बालुवाटारस्थित निवासमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले करिब तीन महिनाभित्र सम्पूर्ण नेपालीहरुलाई खोप उपलब्ध गराइसक्ने बताए ।
कोरोना भाइरसविरुद्धको खोप अभियान आजबाट देशभर सुरु भएको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी लगायतलाई खोप लगाउन सुरु गरिएको छ । खनेपालले कोरोनाविरुद्ध कोभिशिल्ड खोप प्रयोगमा ल्याएको हो । कोभिशिल्ड खोपको १० लाख डोज भारत सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको हो ।
खोप उपलब्ध गराएकोमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई धन्यवाद दिए । उनले भारतबाट किनेर पनि खोप ल्याइने बताए । प्रधानमन्त्री ओलीले खोप नाफा कमाउने माध्यम र व्यापारको विषय हुन नहुने दोहोर्याए । कोरोनाविरुद्धको खोप मानव जातिको साझा उपलब्धी, साझा सफलता र सबैको पहुँचभित्र हुनुपर्ने उनले बताए ।