अर्घाखाँची । अर्घाखाँचीमा आउँदा आईतवारबाट कोरोना विरुद्धको खोप लगाउन सुरु गरिने भएको छ ।
कोरोनाविरुद्धको खोप अभियान आजदेखी सुरु भएको छ । काठमाण्डौ उपत्यकाका १७ वटासहित देशभर १ सय २० केन्द्रबाट खोप अभियान सुरु भएको हो। तराईका जिल्लाहरुमा बुधवारदेखी अभियान चलाईएपनी पहाडी जिल्लाहरुमा आउँदो आईतवारदेखी मात्र खोप लगाउन सुरु गरिने भएको छ ।
जिल्लामा खोप भित्रिसकेको जानकारी गराउँदै अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले माघ १८ गते आईतवारदेखी खोप लगाउन सुरु गरिने जानकारी दिए । ‘खोप आईसकेको छ, उनले भने,‘१८ गते आईतवारबाट सुरु गर्छों ।’ पहिलो चरणमा स्वास्थ्यकर्मी, कर्मचारी, वृद्धवृद्धा र दिर्घरोगीलाई खोप लगाईने उनले बताए । सरकारले नै विभिन्न चरण र प्राथमिकताहरु तय गरेको छ ।
अर्घाखाँचीमा पहिलो चरणमा ४ सय खोप भित्रिएको छ । पहिलो चरणका लागि ४ सय खोप आएको र खोप लगाउनको लागि खोप प्राविधिकहरुलाई भर्चुअल तालिम प्रदान गरिएको डा गौतमले जानकारी दिए । अन्य खोप लगाउने स्थानहरुबाटै यो खोप लगाईने भएको हो ।