शाखा अधिकृत, नासु, खरिदार के पढ्नुहुन्छ ?
बिज्ञापन खुलेको छ शहर बजार के पढ्नुहुन्छ ?
योग्यता अनुसारको रोजगार छैन हाम्रो देशमा
जानु नै छ आखिर दुबई कतार के पढ्नुहुन्छ ?
अस्पताल पुग्न नसकेर भाउजुको ज्यान गयो
ए साँईलादाई रेल आउने समाचार के पढ्नुहुन्छ ?
कर्म गर सफल हुन्छस् भन्नुहुन्छ हजुर-आमा
कम्मर कँस्छु सफल हुन्छु निधार के पढ्नुहुन्छ ?
के-को तयारी छ ? कोठाबाट बाहिर निस्कनुहुन्न
एकदिन त आराम गर्नुस् शनिबार के पढ्नुहुन्छ ?
यो गाउँमा बाटो आउँछ, मोटर पनि आउँछ
चुनाव आएपछि नेताले, यस्तै कुरा सुनाउँछ ।।
गरिब भएर के भो ? भोको छैन नाङ्गो छैन
दिनभरि काम गर्छ, साँझमा उ रमाउँछ ।।
नबस् भो परदेशमा, धन मात्र कमाउनलाई
छिट्टै स्वदेश फर्क भनी, पखेरोले बोलाउँछ।।
बाल्यकालमा लुकामारी खेल्दाखेरी लुके जस्तो
यो सरकारले बलात्कारी, रुमाल जस्तो लुकाउँछ ।।
बाले भन्छन् नगर बुढी गाली मात्र नगर
छोरो हो कमाउँछ, अहिले मन दुखाउँछ ।।
रचनाकार:- आवाजको खेतला डिएनके कुवँर