अर्घाखाँची । पुर्व उर्जामन्त्री तथा नेकपा नेता बर्षमान पुनले ओली समुहलाई मुलधारमा आउन आग्रह गरेका छन् । समुह बोकेर अरुलाई गाली गर्दैमा पार्टी नचल्ने भन्दै उनले बहुमत प्रचण्ड–माधब तिर रहेकाले मुलधारमा आएर राजनिती गर्न सुझाव दिए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी अर्घाखाँचीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता पुनले प्रधानमन्त्री ओलीको कदम राजा महेन्द्र र ज्ञानेन्द्रको भन्दा पश्चगामी रहेको बताए । ‘बहुमत हामी तिर छ, मुलधारमा आएर राजनिती गर्नुस्, पुनले भने,‘आफुलाई सर्वेसर्वा नठान्नुस् ।’ ओलीले भएको दुईतिहाई र स्थाई सरकार ढालेर स्थायित्व र ताजा जनमतको कुरा गर्न नसुहाउने पनी उनको भनाई छ ।
कार्यक्रममा पुर्व सभामुख ओनसरी घर्तीले प्रधानमन्त्रीको हुकुमी सासनका कारण यो अवस्था आईपुगेको बताईन् । उनले संविधानमा हुँदै नभएको व्यवस्था प्रयोग गरेर प्रधानमन्त्रीले आफुलाई संविधान भन्दा माथी ठानेको आरोप लगाईन् । संसद विघटन गर्ने कुनै प्रावधान नरहेकाले कानुनतः यो स्वतः खारेज हुने उनको भनाई छ ।
कार्यक्रममा नेकपा स्थाई कमिटी सदस्य एवं लुम्बिनी प्रदेश ईन्चार्ज युवराज ज्ञवालीले ओलीले जनता र देश खाल्टोमा हाल्न खोजेको बताए । ओलीको यो कदमको जती आलोचना गरेपनी कम हुने उनको तर्क छ ।कार्यक्रममा नेता डिलाराम आचार्य, पिताम्बर भुसाल, ठाकुर गैर, पिताम्बर सारु, सुशिला श्रिपाली लगायतले बोल्दै ओलीको प्रतिगामी कदमका विरुद्ध एकजुट हुन आव्हान गरेका छन् । पत्रकार सम्मेलनमा जिल्ला स्थित नेतागण र पत्रकारहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रम प्रेस संगठनका जिल्ला ईन्चार्ज प्रेमनारायण गैरेको अध्यक्षता र सहईन्चार्ज राधा नेपालीको सञ्चालनमा सम्पन्न भएको हो ।