काठमाडौं । देशकै ठूलो क्षमताको ढल्केबर सबस्टेशनको उद्घाटन आज हुँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मध्याह्न सबस्टेशनको उदघाटन गर्न लागेका हुन् । त्यसका लागि उनी नेपाली सेनाको हेलिकप्टरमार्फत् आज धनुषा जाँदैछन् ।
धनुषामा करिब डेढ घण्टा बिताएर उनी सिरहाको कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार हाल ढल्केबरमा १६० एमभीएका दुई र ३१५ एमभीएको एक गरी ६३५ एमभीएका ट्रान्सफर्मर जडान भएका छन् । यस्तै कूल ४००-२२० केभी क्षमताको सबस्टेशनमा ३१५ एमभीए क्षमताका तीन वटा गरी ९४५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर छन्, जसले करिब ९०० मेगावाट विद्युतलाई प्रसारण गर्न सक्दछन् ।
ढल्केबर सबस्टेशन बनेसँगै नेपाल–भारतबीच करिब एक हजार मेगावाट विद्युत् आयात–निर्यातका लागि पूर्वाधार तयार भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।प्राधिकरण प्रसारण निर्देशनालयका अनुसार ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमार्फत भारतीय पक्षसँग भएको सम्झौताअनुसार थप बिजुलीसमेत आयात गर्न सकिन्छ । मुलुकभित्र खपत हुन नसकेको विद्युत् भारत निर्यात गर्न पनि सकिने छ । दुई मुलुकबीच इनर्जी बैकिङ गर्नसमेत बाटो खुल्ने प्राधिकरणले जनाएको छ ।