अर्घाखाँची । मालारानी गाँउपालिकाको कार्यशैली र क्रियाकलापहरुमा आपत्ती जनाउँदै पाँच दलले ध्यानाकर्षण पत्र बुझाएका छन् ।
चार बुदे ध्यानाकर्षण पत्रमा एकलौटी कर्मचारी नियुक्त गरिएको विषय, नियम विपरित कर्मचारी नियुक्त, समिती र सञ्जालमा एकलौटी, जनताको पैसाले आवधिक भ्रमणका नाममा खर्चिलो कार्य गर्न लागेको आरोप लगाउँदै पालिकाका पाँच दलले ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
नेपाली कांग्रेसका शान्ता खनाल, माओवादी केन्द्रका पदम क्षेत्री, राष्ट्रिय जनमोर्चाका बिरबहादुर कुँवर, राष्ट्रिय प्रजातन्त्र पार्टीका रणबहादुर खनाल र जनता समाजवादी पार्टीका सुरज बिकको संयुक्त हस्ताक्षरित ध्यानाकर्षण पत्रमा कार्यसम्पादन गर्दा स्थानिय सरकारको क्षेत्राधिकार, ऐन, नियम र मापदण्ड विपरित एकपक्षिय ढंगले क्रियाकलाप भईरहेको उल्लेख छ ।
गलत कार्यहरु सच्याउन र समन्वयात्मक ढंगले पालिकाका कार्यहरु अगाढी नबढाए संघर्ष गर्ने उनिहरुको चेतावनी छ । स्वेच्छाचारी ,एकलौटी तथा हेपाहा प्रवृति नसच्याईए संघर्षका रुपहरु अवलम्वन गर्न बाध्य हुने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ।
पालिकाका जनप्रतिनिधी, कर्मचारी र पत्रकारहरु समेत आवधिक योजना निर्माण गर्न बर्दियाको ठाकुरद्वार जाने कार्यक्रम तय भएको छ । कोरोनाको जोखिम र जिल्ला बाहिर जाँदा खर्चिलो/भड्किलो हुने भएकाले गोष्ठी अर्घाखाँचीकै कुनै स्थानमा गर्न जनदवाब बढेको छ ।