पारेश्वर साहुका चार भाइ छोराहरूमध्ये तीन भाइ सहर पसे । समयमै सहर पसेका हुनाले प्रशस्तै सम्पत्ति जोडे पनि । धनपैसाले किन्न नसक्ने के छ र अहिले ! धन,पद, प्रतिष्ठाको रजगजमा डुबेका थिए तीनै भाइ । नपुग्दो केही थिएन । अलि सोझो माइलो चाहिँ गाउँमै आमालाई पालेर बसे ।
पछी छोराहरूले कमाएपछि उनलाई पनि सहर नै लान त खोजेका थिए तर उनले मान्दै मानेनन् । छयानब्बे बर्षको उमेरमा आमा बित्दा काजकिरिया गर्न सबै भाइ गाउँ आए । भरखरै बनेको बाटोमा एकसेएक गाडीले धुलो उडाउँदै प्रवेश गरे र उनीहरूलाई त्यहीँ छोडेर लिन आउने गरि फर्किए । त्यस्ता राम्रा गाडीबाट सुकिला तर जिर्ण शरीर लिएर बुढाहरू झरे । औसधिका पोकाका पोका लिएर बसे आमाको किरियामा ।
थोरै जटिलता आउँदासाथ आफ्ना फेमिली फिजिसियनसँग सम्पर्क गरि हाल्थे मोबाइलबाट । पैसा न हो नामी डाक्टरहरू उनीहरूका फेमेली डाक्टरहरू थिए । आमाको मरण र किरीया कर्मभन्दा उनीहरूलाई आफ्नो स्वास्थ्यको चिन्ता थियो । आफूहरू यति धेरै चिन्तामा हुँदा माइलो चाहीँमा स्वास्थ्य सम्बन्धि कुनै चिन्ता नदेख्दा र त्यत्रो दिन एउटा सम्म ट्याब्लेट नखाएको देख्दा उनीहरूलाई अचम्म लाग्यो र जेठो चाहीँले सोधे, ” हैन, माइलो! तैंले त अझैसम्म डाक्टरलाई देखेको छैनस् कि क्या हो ?”
“के हुनु दाइ , तपाईंहरूलाई मात्रै नेपालका सबैभन्दा नामी डाक्टरहरूले हेरिरहेका छन्, मलाई त विश्व कै प्रसिद्ध त्यसमा पनि चारचारवटा डाक्टरहरूले हेरिरहेका छन् ।”
“नचाहिने कुरा, हाम्रो बिमारीलाई खिल्ली उडाउनु भयो दाइले पनि।” कान्छोले मन दुखेको भावमा भने । “किन ढाटुँ ? तिनै चारवटा डाक्टरले गर्दा त म स्वस्थ छु” माइलोले मुसुमुसु हाँस्दै भने ।
“कोको हुन् त तपाईंका डाक्टर ? हाम्ले नि चिनम् न ! ” साहिलोले व्यङ्ग्य गर्दै सोधे । माईलोले मुसुक्क हाँसेर भने, “ल , टिपौ त ,,१. डा. उकाली, २. डा. ओराली, ३. डा. गाउँको हावा र ४. डा. गाउँको दानापानी ।”
तीनै भाइले एकोहोरो माइलोको अनुहारमा हेरिरहे ।
लेखक: चाेपनाराय बञ्जाडे सन्धिखर्क-०१, अर्घाखाँची ।
लेखकसंग सम्पर्ककाे लागि यहाँ क्लिक गर्नुहाेस