काठमाडौं । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले समानान्तर गतिविधि रोक्न नेता माधवकुमार नेपाल समूहलाई आग्रह गरेका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकपछि संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसंग कुरा गर्दै नेता ज्ञवालीले पार्टीमा समानान्तर गतिविधि कायम राखे कारबाही हुने चेतावनी दिए । उनले एमाले मन नपरे अर्को पार्टी खोल्न वा अर्को कुनै दलसंग जोडिन आग्रह गरे ।
उनले अघि भने, ‘मलाई नेकपा एमाले मन पर्दैन भने अर्कै पार्टी खोल्छु, या देशमा विद्यमान कुनै पार्टीसंग जोडिन्छु भन्न पाइन्छ, नेपालको संविधानले हामीलाई त्यो छनोटको स्वतन्त्रता दिएको छ । विचारको छनोटको, समर्थनको छनोटको स्वतन्त्रता दिएको छ ।
ज्ञवालीले अगाडि थपे, ‘तपाईं जुन ठाउँमा हुनुहुन्छ त्यसलाई बलियो बनाउनुस् । चित्त बुझ्दैन, अट्नै नसक्ने निश्कर्षमा पुगेको हो भने त्यसमा जबर्जस्ती गर्ने कुरा पनि केही छैन ।’
माधव नेपाल समूहलाई ज्ञवालीले प्रश्न गरे, ‘समानान्तर संगठन खोलेर पार्टीको एकतालाई कमजोर पारेर गन्तब्यमा पुग्न सकिन्छ र ?’