१६ मंसिर २०८१, आइतवार
१६ मंसिर २०८१, आइतवार

आइपिएल उपाधि जित्न सक्ने तीन टोली

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) को १४ औं संस्करण नजिकीरहँदा सम्पूर्ण फ्रेन्चाइज टोलीले तयारी तीव्र रुपमा अघि बढाएका छन् । आइपिएल अप्रिल ९ देखि भारतका ६ सहरमा सुरु हुँदैछ ।

आइपिएलमा खेलाडीको लय निकै महत्वपूर्ण हुन्छ । आइपिएललाई फ्रेन्चाइज लिगको विश्वकप पनि भन्ने गरिन्छ । आइपिएलमा उच्च प्रदर्शन गर्ने खेलाडीलाई राष्ट्रिय टोलीमा पुग्न अझ सहज हुन्छ । नाम, दाम मात्र होईन खेलमा खेलाडीलाई उच्च प्रदर्शन गर्न दबाब पनि त्यतिनै हुन्छ । आइपिएलमा कुनैपनि टोलीलाई उपाधि जित्न एक दुई होईन टोलीलै उत्कृष्ट हुनुपर्छ । ४ मात्र विदेशी खेलाडी खेल्न पाउने हुँदा भारतीय खेलाडीको प्रदर्शनले उपाधिमा बढी निर्भर पार्ने गर्दछ ।

आगामी अक्टोबर-नोभेम्बरमा भारतमा टि२० विश्वकप हुने हुँदा सबै देशका खेलाडीलाई उच्च प्रदर्शन गर्नुपर्ने दबाब छ । धेरै देशले आइपिएलको प्रदर्शनलाई आधार मानेर विश्वकप टोली घोषणा गर्ने तयारीमा छन् । फिटनेस र चोटलाई पनि विशेष ध्यान दिनुपर्छ । आइपिएल २०२१ मा रहेका सबै टोलीका खेलाडी, खेलाडीको पछिल्लो समयको लय, सन्तुलन, युवा खेलाडीले गर्न सक्ने प्रदर्शनको सम्भावना, टोलीको कप्तानी लगायत सम्पूर्ण पक्षलाई हेर्दा उपाधिको लागि यी तीन टोली सर्वाधिक बलिया दाबेदार देखिन्छन् ।

३. रोयल च्यालेन्जर्स बेंगलोर

विराटको नेतृत्वमा रहेको बेंगलोरलाई सफल खेलाडीको असफल टोली भन्ने गरिन्छ । टोलीमा विश्व क्रिकेटका चर्चित खेलाडी रहेपनि उपाधि बिहिन छ । बेंगलोर उपाधिविहिन यात्रामा पूर्णविराम लगाउन चाहन्छ । टोलीलाई बलियो बनाउन अष्ट्रेलिया अलराउन्डर ग्लेन म्याक्सवेललाई १४ करोड २५ लाख भारु खर्चेको थियो ।

म्याक्सवेलको आगमनले बेंगलोरको तल्लोक्रमको ब्याटिङ मजबुत बनेको छ । बेंगलोरको मुख्य समस्या तीव्र गतिको कमजोर बलिङ हो । त्यसैले यस सिजनको अक्सनमा बेंगलोरले न्युजिल्यान्डका तीव्र गतिका बलर काईल जामिसनलाई १५ करोड भारु खर्चेको थियो । जामिसनसँगै बेगलोरमा अष्ट्रेलिया तीव्र गतिका बलर केन रिचर्डसन, ड्यानियल साम्स, डेन क्रिष्टियन तथा भारतीय नवदीप सैनी र मोहम्मद सिराज छन् ।

साम्सले गतवर्ष दिल्लीबाट खेलेका थिए । रिचर्डसनले गत सिजनमा व्यक्तिगत कारण देखाउँदै नाम फिर्ता लिएका थिए । क्रिष्टियनले अन्य लिगमा राम्रो गर्दै आएका छन् । यी तीनै खेलाडी तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्छन् । स्पिनरमा भारतीय टोलीका नियमित सदस्य युजभेन्द्र चहलसँगै वासिन्टन सुन्दर र अष्ट्रेलिया एडम जाम्पा जस्ता विश्वस्तरिय खेलाडी छन् ।

ओपनिङमा युवा खेलाडी देवदत्त पाडिक्कल र विराटले गर्नेछन् । दुबै उच्च लयमा छन् । पाडिक्कले गत सिजनमा आइपिएलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । पाडिक्कलले यसै महिना सम्पन्न लिष्ट ए मान्यता प्राप्त विजय हजारे ट्रफीमा लगातार चार शतक प्रहार गरेका थिए । एवि डिभिलियर्स बेंगलोरका ब्याटिङका प्रमुख हतियार र कर्णधार हुन् । डी भिलियर्स उनले एकै ओभरमा खेललाई मोड्न सक्छन् ।

ब्याटिङमा विराट, पाडिक्कल, डिभिलियर्स, म्याक्सवेल लगायतका खेलाडी हुँदा बलियो छ । तीव्र गति र स्पिन पनि त्यतिनै राम्रो छ । अर्कोतर्फ आइपिएलका सर्वाधिक सफल ब्याट्सम्यान विराटलाई उपाधिको भोक छ । उपाधिको भोकमा यस पटक विराट मेटाउन चाहन्छन् ।

२. दिल्ली क्यापिटल्स

दिल्ली आइपिएल इतिहासमा एक असफल टोलीमा पर्दछ । तर पछिल्लो समय दिल्लीले एक मजबुत र उत्कृष्ट टोली निर्माण गरेको छ । गतवर्ष फाइनलमा मुम्बईसँग पराजित भएको दिल्ली असफल टोलीको कालो धब्बा यस सिजनमा अन्त्य गर्न चाहन्छ । दिल्लीको टोली सन्तुलन, मजबुत र युवा जोशले भोरिएको छ । दिल्लीको कप्तानी यस सिजनमा विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तले गर्ने छन् । श्रेयस ऐर चोटका कारण यस सिजन खेल्ने छैनन् ।

ब्याटिङमा पृथ्वी शा, शिखर धवन, अजिक्या रहाने, स्टिभ स्मिथ, ऋषभ पन्त, शिम्रन हेटमायर लगायतका खेलाडी छन् । मार्कस स्टोइनिस, टम करन, क्रिस वोक्स र अक्षर पटेल लगायतका अलराउन्डर दिल्लीमा हुँदा ब्याटिङ र बलिङ दुवैमा गहिराई छ । गतवर्ष दिल्लीको मुख्य समस्या कमजोर भारतीय तीव्र गतिको बलिङ युनिट थियो ।

यसपटक दिल्लीले उमेश यादवलाई टोलीमा समेटेको छ । स्पिनमा भारतीय अनुभवी खेलाडी अमित मिश्रा र रविचन्द्रन आश्विन छन् । गत सिजनमा यी दुबै स्पिनर घाइते हुँदा दिल्ली समस्यामा परेको थियो । तीव्र गतिको बलिङमा दक्षिण अफ्रिका कागिसो रबाडा र एनरिच नोर्किया छन् ।

गतवर्ष रबाडाले ३० र नोर्कियाले २२ विकेट लिएका थिए । रबाडा योर्करसँगै डेथ ओभर स्पेलिष्ट हुन् । नोर्कियाले आइपिएल इतिहासकै सर्वाधिक गतीमा बलिङ गरेका थिए । रबाडा र नोर्कियाले प्रतिघण्टा १ सय ५० भन्दा माथिको गतिमा बलिङ गर्ने हुँदा ब्याट्सम्यानलाई गतीको कारण पनि दबाबमा राख्ने क्षमता राख्छन् । पावर प्ले र डेथ ओभर दुबैमा उत्कृष्ट बलिङ गर्दै सहज जित दिलाउन सक्छन् । यस सिजनमा ऋषभ पन्त राम्रो लयमा छन् । जसले दिल्ली उपाधिको दाबेदार देखिन्छ ।

१. मुम्बई इन्डियन्स

रोहित शर्माको कप्तानीमा रहेको मुम्बई आइपिएल इतिहासकै सर्वाधिक सफल टोली हो । मुम्बईले पाँच आइपिएल उपाधि जितेको छ । मुम्बई उपाधि ह्याट्रिक गर्ने सोचमा छ । मुम्बईमा विश्वस्तरिय चर्चित खेलाडीको बाहुल्यता छ । ओपनिङमा दक्षिण अफ्रिका क्विन्टन डी कक र रोहित शर्मा छन् । यी दुवै विश्व क्रिकेटमा वर्तमान समयका उत्कृष्ट ओपनर हुन् ।

ईशान किशन र सूर्यकुमार यादवले मध्यक्रम सम्हाल्ने छन् । यसै महिना इंग्ल्यान्डविरुद्ध डेब्यू गर्दै अर्धशतक बनाएका ईशान र सूर्यको मनोबल उच्च छ । अर्कोतर्फ भारतको टि२० विश्वकप टोलीमा पर्न उत्कृष्ट प्रदर्शन गर्नुपर्ने दबाब पनि त्यतिनै छ । मुम्बईको शीर्ष र मध्यक्रम नचल्दा पनि तल्लोक्रमका खेलाडीले बलियो योगफलमा पुर्याउन सक्छन् ।

हार्दिक पान्ड्या र काइरन पोलार्ड जस्ता विश्व क्रिकेटका वर्तमान समयका उत्कृष्ट अलराउन्डर छन् । हार्दिक र पोलार्ड दुवै उच्च लयमा छन् । पोलार्डले यसै महिना श्रीलंका स्पिनर अकिला धनञ्जयलाई ६ बलमा ६ छक्का प्रहार गरेका थिए । शीर्षक्रमका ६ ब्याट्सम्यानलाई छोड्दा क्रुनाल पान्ड्या, नाथन कुल्टर नाइल र जेम्स निसम जस्ता अलराउन्डर छन् । जसले गर्दा मुम्बईको टोली सिमित खेलाडीमा निर्भर छैन । सबै खेलाडी खेल जिताउन सक्ने क्षमता राख्छन् ।

तीव्र गति बलिङमा मुम्बईको आफ्नो भिन्दै विरासत छ । विश्व क्रिकेटका दुई उत्कृष्ट तीव्र गतिका बलर जस्प्रित बुमराह र ट्रेन्ट बोल्ट मुम्बईमै छन् । बोल्ट गती र बुमराहले योर्करका लागि माहिर छन् । स्पिनरमा राहुल चहर र पियुष चावलालाई साथ दिन क्रुनाल पनि छन् ।

कुनैपनि टोली उपाधि जित्न उत्कृष्ट खेलाडी भएर मात्र पुग्दैन । कप्तानी पनि त्यतिनै उत्कृष्ट हुनुपर्छ । खेलाडीको क्षमता चिन्न र सहि समयमा सहि निर्णय लिन सक्ने कप्तान हुनुपर्छ । पाँच उपाधि जिताएका रोहितको कप्तानी क्षमता उत्कृष्ट हुनुपर्छ । खेलाडी र कप्तानी दुवै उत्कृष्ट हुँदा मुम्बईले उपाधिमा ह्याट्रिक गर्न खोज्नेछ ।

तपाईको प्रतिक्रिया
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?