श्रीलङ्कासँगको टी-ट्वान्टी श्रृङ्खला वेस्ट इन्डिजले जित्यो

काठमाण्डौ । श्रीलङ्कासँगको तीन खेलको टी-ट्वान्टी श्रृङ्खला घरेलु टिम वेस्ट इन्डिजले जितेको छ ।
आज भएको तेस्रो तथा अन्तिम खेलमा श्रीलङ्कालाई ३ विकेटले हराएर वेस्ट इन्डिजले श्रृङ्खला २–१ ले जितेको हो । श्रीलङ्काले दिएको १ सय ३२ रनको लक्ष्य वेस्ट इन्डिजले १९ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।
वेस्ट इन्डिजका लेन्डल सिमोन्सले सर्वाधिक २६ रन जोडे । यस्तै निकोलस पुरणले २३, इभिन लेबिसले २१ तथा फाबियन एलनले अविजित २१ रन बनाए । श्रीलङ्काका लक्शान शन्दकानले ३ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको श्रीलङ्काले २० ओभरमा ४ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो ।
श्रीलङ्काका लागि दिनेश चण्डीमालले अविजित रहदै ५४ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । वेस्ट इन्डिजका फाबियन एलन, केभिन, ओबेड म्याकक्वे र जासन होल्डरले एक/एक विकेट लिए ।
पहिलो खेल वेस्ट इन्डिजले ४ विकेटले जितेको थियो भने दोस्रो खेलमा श्रीलङ्काले ४३ रनले जितेको थियो ।