एजेन्सी । म्यानमारमा ‘कू’ गरेर सत्ता कब्जा गरेको सैन्य सरकारले १९ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।
सेनाका क्याप्टेनको सहयोगीलाई हत्या गरेको आरोपमा १९ जनालाई मृत्युदण्डको सजाय सुनाएको समाचारसंस्था सीएनएनले जनाएको छ ।
गएको मार्च २७ मा याङ्गोनको ओकालापा जिल्लामा सेनाका क्याप्टेनका सहयोगीको हत्या भएको र त्यही घटनामा संलग्नलाई मृत्युदण्डको सजाय सुनाएको सेनाको स्वामित्वमा रहेको म्याबाडी टेलिभिजनलाई उदृत गर्दै सीएनएनले जनाएको छ ।
गएको माघ १९ गते भएको सैन्य ‘कू’ पछि सैन्य सरकारले पहिलोपटक मृत्युदण्डको सजाय सुनाएको हो । द एसिस्टेन्स एसोसिएशन फर पोलिटिकल प्रिजनर्स समूहले म्यानमा सैन्य ‘कू’ पछि भएका घटनामा ४८ बालबालिकासहित कम्तीमा ६ सय १४ जनाले ज्यान गुमाइसकेको बताएको छ ।
समूहका अनुसार २८ सयभन्दा बढी हिरासतमा छन् । सेनाले भने अहिलेसम्म २ सय ४८ जनाको ज्यान गएको र प्रदर्शन नियन्त्रणमा लिने क्रममा स्वचालित हतियार प्रयोग नगरेको दाबी गरेको छ । सैन्य सरकारले आन्दोलन मत्थर हुँदै गएको र आउँदो दुई वर्षभित्र चुनाव गर्ने बताएको समाचारसंस्था सीएनएनले जनाएको छ ।