एजेन्सी । कोरोना भाइरसको संक्रमणका बिरामीका लागि विकास गरिएको खाने औषधि आपतकालीन प्रयोगका लागि अनुमति दिइएको छ ।
भारतको रक्षा अनुसन्धान एवं विकास संगठनले विकास गरेको यो औषधि पाउडरका रुपमा आउँछ जसलाई पानीमा घोलेर कोरोनाका बिरामीले प्रयोग गर्न सक्छन् ।
अनुसन्धानका क्रममा यो औषधिलाई कोरोना पोजेटिभ देखिएका र अस्पतालमा भर्ना भएका बिरामीलाई प्रयोग गरिएको थियो । ‘२ डीजी’ नाम गरेको यो औषधि सेवन गरेका बिरामी छिटो निको भएको र बाह्य अक्सिजनमाथि निर्भरता घटेको पाइएको थियो । यो औषधिको भारतमा तीन चरणमा परीक्षण गर्दा प्रभावकारी पाइएपछि अनुमति दिइएको हो ।
भारतको औषधि नियन्त्रण विभागले यो औषधिलाई अस्पतालमा भर्ना भएका बिरामीलाई चिकित्सकको सिफारिसमा प्रयोग गर्ने गरी स्वीकृति प्रदान गरेको छ ।
अहिलेसम्म भारतमा कोरोनाका गम्भीर बिरामीलाई रेम्डिसिभिर र फेबिफ्लुलगायतका औषधिको प्रयोग हुँदै आएको छ ।