९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

कांग्रेस मञ्चमा बस्नेले होईन भुँईमा बस्नेले जोगाएका छन् : गगन थापा

लक्ष्मण घिमिरे ।
गुल्मी । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाली कांग्रेस पार्टी मञ्चमा बस्नेले नभई भुँईमा बस्नेले जोगाएको बताएका छन् । भुँईमा बस्ने मानिसले पार्टी जोगाईदिएकाले नेताहरु मञ्चमा शानले बस्ने गरेको बताए ।

नेपाली कांग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलनलाई तम्घासमा सम्बोधन गर्दै महामन्त्री थापाले दुख गरेर पार्टी जोगाएका कांग्रेसजनलाई नबरालिन आव्हान गरे । पछिल्लो समय कांग्रेसका कार्यकर्तामा अन्यौल सृजना भएको भन्दै दायाँ–बायाँ मन नडुलाउन उनको आग्रह थियो । ‘कांग्रेसजन अन्यौलमा देखिन्छन्, कतै बरालिनु हुँदैन,‘उनले भने,‘देश अफ्ठ्यारोमा परेको बेला कांग्रेसले सम्हालेको छ, अबपनि कांग्रेसले नै निकास दिन्छ ।’

चार वर्षपछी हुने निर्वाचनको चिन्ता छोडेर जनताको काममा लाग्नुपर्ने उनले बताए । जनताको काम छोडेर सत्ता केन्द्रित हुँदा जनता आजित बनेको बताए । व्यवस्था उत्तम हुँदाहुँदै शिर्ष तहका केही नेताहरुको प्रवृत्तीले गर्दा अहिले गणतन्त्र माथी धावा बोल्ने काम भएको बताए । तर, विरोध गर्ने छुट गणतन्त्रमा मात्र सम्भव भएको बताए ।

पछिल्लो समय अराजकता बढेको भन्दै उनले पुर्वराजालाई च्याँखे थापेर नबस्न चेतावनी दिए । जनतालाई दास बनाएर बस्ने राजा फ्याँकेको धेरै नभएको भन्दै नेता थापाले बिपी कोईरालाले चार लाख बिगाहा जमिन चार जनाबाट खोसेर जनतालाई बाँडेको स्मरण गरे । ‘देशको ढुकुटी राजाले कुम्ल्याएर शासन गरेका थिए,उनले भने,‘रैती जस्तो भएर जनता बस्नुपर्ने अवस्थाबाट बाहिर आएका छौं, फेरी त्यही बाटोमा जानु हुँदैन ।’

राजाको व्यवस्था ठिक थियो भन्नेहरु भ्रममा परेको उनको भनाई छ । गर्न चाहेजती, हुन सक्ने जती नभएपनी प्रजातन्त्र आएपछी देशमा धेरै कुरा परिवर्तन भएको उनले बताए । नेपालमा यो वर्ष इतिहासकै सबैभन्दा बढी पर्यटक भित्रिएको उनको भनाइ छ । भारतलाई बिजुली बेच्ने देखी बङ्गलादेशसँग विद्युत् निर्यात गर्ने सम्झौता, राजाको पालामा १८५ डलर प्रतिव्यक्ति आय भएको मुलुक अहिले १ हजार चार सय डलर प्रतिव्यक्ति आय भएको मुलुक बनेको उनले दाबी गरे।

पञ्चायत कालमा एक सय मध्ये ५५ जना गरिबीको रेखा मुनी रहेकोमा अहिले एक सयमा १० जना मात्र गरिबीको रेखा मुनी रहेको उनले बताए। दस अर्ब राजाले बाँड्ने ढुकुटी अहिले १७ खर्ब पुगेको, अहिले वार्षिक १ खर्ब ४७ अर्ब रुपैयाँ वृद्ध भत्ता, स्वास्थ्य बिमा, अपाङ्ग भत्ता गरेर सिधै जनताले पाउने गरेको, २ सय मेगावाट बिजुली रहेको देशमा प्रजातन्त्र आयपछि दुई हजार ७ सय मेगावाट पुगेको थापाको भनाइ छ। राजाको पालामा ७ हजार किलोमिटर सडक रहेकामा अहिले ६० हजार किलोमिटर बाटो पुगेको उनले बताए।

विकासले अपेक्षकृत गती लिन नसकेको स्विकार गर्दै महामन्त्री थापाले त्यसलाई सच्चाएर जानु पर्नेमा उल्टो दिशामा नहिंड्न आग्रह गरे । व्यवस्था परिवर्तन गर्न लाग्दा अर्को एक पुस्ताले दुख पाउने भन्दै उनले व्यवस्था भित्र रहेका खराब प्रवृत्ती फाल्नुपर्ने बताए ।

प्रतिनिधीसभा सदस्य समेत रहेका थापाले पछिल्लो समय प्रदेश फाल्नुपर्ने आवाज उठिरहेको भन्दै अधिकार फेरी सिंहदरबार केन्द्रित गराउन नहुने स्पष्ट पारे । प्रदेशलाई बलियो बनाउनुको साटो प्रदेश खारेजी तर्फ लाग्यौं भने अधिकार फेरी सिंहदरबार केन्द्रित हुने उनको तर्क छ ।

खर्च कटौती गर्न प्रदेश खारेज नभएर केन्द्रिय मन्त्रालयको संख्या घटाउनु पर्ने बताए । ‘प्रदेश खारेजको कुरा आईरहेको छ,‘थापाले भने,‘यो जायज कुरा होईन, अधिकार पुनः संघिय राजधानी केन्द्रित हुन्छ ।’ प्रदेशलाई अझ बलियो बनाएर संघिय मन्त्रालयमा दस जनाको मात्र मन्त्रीमण्डल बनाउनु पर्ने उनको भनाई छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?