नेपाली कांग्रेस र माओवादीबाट एक/एक जना मन्त्री नियुक्त गरेर लुम्बिनी प्रदेश सरकारलाई बिस्तार गर्ने अन्तिम तयारी गरिएको छ।
तत्काल कांग्रेसबाट एक जना र माओवादीबाट एक जना मन्त्री नियुक्त गरेर सरकारलाई पूर्णता दिने अन्तिम तयारी भएको सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेले जानकारी दिए।
उनका अनुसार मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले तत्काल कांग्रेस र माओवादीलाई एक/एक मन्त्रालय दिएर सरकारलाई पूर्णताका लागि सहमति कायम गराएका छन्।
‘अहिले तत्काल कांग्रेसबाट एक जना र माओवादीबाट एक जना मन्त्री पठाएर सरकारलाई पूर्णता दिने सहमति कायम भएको छ,’ सरकारका प्रवक्ता पाण्डेले भने ‘तत्काल दुई मन्त्री सरकारमा आउने छन्।’
प्रदेशको १० सदस्यीयमन्त्री परिषद्मा तीन मन्त्री नियुक्त हुन बाँकी छन्। तीन मन्त्रालय मध्य दुई वटा मन्त्रालयमा कांग्रेस र माओवादीबाट एक/एक जना मन्त्री नियुक्त गर्ने र अर्को एउटा मन्त्रालय भने मुख्यमन्त्री चौधरी आफैले राख्ने छन्।
स्रोतका अनुसार मुख्यमन्त्री चौधरीले कांग्रेस माओवादीका शीर्ष नेताहरुबाट यो सहमति जुटाएका हुन्। मुख्यमन्त्री भएको सात महिना पुगिसक्दा समेत सरकारलाई पूर्णता दिन नसक्दा मुख्यमन्त्री चौधरी आलोचित भइरहेका थिए। फलतः उचित निकासका लागि उनले कांग्रेस र माओवादीका शीर्ष नेताहरु गुहारेका थिए।
सरकार स्रोतका अनुसार मन्त्रालयको भागवण्डामा सहमति जुटाएका मुख्यमन्त्री चौधरीले अबको चार दिन पछि मात्रै नयाँ मन्त्री नियुक्त गर्नेछन्। मुख्यमन्त्री यो अवधिमा जिल्ला बाहिर रहने भएकाले चार दिन पछि मात्रै सरकारले पूर्णता पाउने बताइएको छ।
‘मुख्यमन्त्री ज्यू बाहिर रहने भएकाले चार दिन पछि मात्रै सरकारले पूर्णता पाउने छ,’ सरकार स्रोतले भन्यो ‘अब सरकारको पूर्णतामा कुनै समस्या रहेन, मुख्यमन्त्री ज्यूको तत्काल समय नमिल्ने भएका कारण मात्रै सरकारको पूर्णता केही दिन लम्बिने भएको हो।’
यसअघि कांग्रेस र माओवादी बिच मन्त्रालय भागवण्डामा कुरा नमिल्दा सरकार पूर्णताको विषय अनिश्चित बन्दै आएको थियो। हाल एउटा मन्त्रालय पाएको माओवादीले थप दुई मन्त्रालय माग गरेको थियो। तर हालकै मन्त्री परिषद् संख्यालाई कायम राख्दा माओवादीले दुई मन्त्रालय पाउने अवस्था थिएन। फलतः मन्त्रालय बढाएरै भएपनि थप दुई मन्त्रालय पाउनु पर्ने दबाब माओवादीले मुख्यमन्त्री चौधरी माथि सिर्जना गरिरहेको थियो। तर मुख्यमन्त्रीकै दल नेपाली कांग्रेसले भने कुनै पनि हालतमा मन्त्रालय बढाउन नहुने अडान लिएपछि मुख्यमन्त्री चौधरी थप अप्ठ्यारोमा परेका थिए। अनि मुख्यमन्त्री चौधरी सहमतिका लागि शीर्ष नेता समक्ष पुगेका थिए।
यता माओवादी केन्द्र प्रदेश संसदीय दलले भने एउटा मात्रै मन्त्रालय पठाउने सहमतिका बारेमा जानकारी नभएको बताउँछ।
संसदीय दलका नेता जोगबहादुर महराले सरकारमा कांग्रेस र माओवादीबाट एक/एक जना मन्त्री पठाउने भनेर भएको सहमतिबारे आफूलाई कुनै जानकारी नभएको र यस बारेमा आफूसँग पछिल्लो समय कुराकानी समेत नभएको बताए।
‘कांग्रेस र माओवादीबाट एक/एक जना मन्त्री पठाउने सहमतिका बारेमा मलाई कुनै जानकारी छैन,’माओवादी प्रदेश संसदीय दलका नेता महराले भने ‘नत यो विषयमा मेरो पछिल्लो समय कसैसँग कुराकानी नै भएको छ, मलाई केही थाहा छैन।’
थप दुई मन्त्रालय माग गरिरहेको माओवादीको अहिलेको माग पनि उही नै रहेको महराको भनाई छ। अहिलेको परिस्थिति सम्म सरकारमा एक जनालाई मात्रै पठाउन नसकिने अवस्था नरहेको समेत उनले बताए।
‘आज सम्मको कुरा गर्नुहुन्छ भने हाम्रो माग भनेको दुई मन्त्रालय नै हो,’ महरा भन्छन् ‘एक जना मात्रै मन्त्री पठाउने भन्ने मनस्थितिमा हामीहरु अहिले सम्म छैनौँ।’ लीला गिरी नेतृत्वको अघिल्लो सरकारका पालामा पाएकै संख्यामा आफूले मन्त्रालय पाउनु पर्ने अडान माओवादीको छ। त्यो बेला माओवादीले तीन मन्त्रालय पाएको थियो।
‘हामीहरुले नयाँ गठबन्धन कायम भएर सरकार गठन हुँदा नै तीन मन्त्रालयको माग गरेका हौँ, र तीन मन्त्रालय माओवादीले पाउने भन्ने सहमति पनि हो,’ संसदीय दलका नेता महरा भन्छन् ‘तर माओवादीको भागमा एउटा मन्त्रालय कम पारिदिएर गरिने निर्णय उचित हुँदैन, माओवादीले तीन मन्त्रालय नै पाउनु पर्छ।’