अर्घाखाँचीमा प्रथम क्लब क्रिकेट लिग टि-२० प्रतियोगिता हुँदै

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । सन्धिखर्कमा प्रथम क्लब क्रिकेट लिग टि-२० प्रतियोगिता हुने भएको छ । जिल्ला क्रिकेट संघ अर्घाखाँचीको आयोजनामा हुने प्रतियोगिता आउँदो चैत २० गते देखि शुरू हुने भएको हो।
प्रतियोगितामा जिल्ला क्रिकेट संघमा आधाकारिक रूपमा दर्ता हुन आएका जिल्ला भित्रका १२ वटा क्लबहरू बिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा अर्घाखाँची बुलेटिन क्रिकेट क्लब, बागमारा सामुदायिक क्लब, युएसिसि अर्घा, रोयल आँपखोला पकले क्रिकेट क्लब, इलाभेन ब्रदर्श डिभर्ना, शिद्देश्वर चुत्रावेशि क्रिकेट क्लब, बसन्त युवा क्लब, सगरमाथा क्रिकेट क्लब, एनसिसि पान्डाडा, सिम्रिक क्रिकेट क्लब, मालारानी क्रिकेट क्लब र छत्रदेव वारियर्स गरेर १२ वटा क्लबहरूले सहभागिता जनाउनेछन् ।
१२ वटा क्लबहरूलाइ ४ समुहमा विभाजन गरेर प्रतिस्पर्धा गराईने छ । प्रतियोगिताको विजेता टोलीले नगद रू ४० हजार मेडल, ट्रफी र प्रमाणपत्र तथा उपविजेता टिमले नगद रू २० हजार मेडल, ट्रफी र प्रमाणपत्र पुरस्कार राखिएको छ । यस्तै संघले अन्य उत्कृष्ट विधाहरूमा पनि नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गर्ने संघका अध्यक्ष ऋषिकेश भट्टराईले जानकारी दिए ।
जिल्ला भित्र हुने क्रिकेट गतिविधि र जिल्ला बाहिर हुने जिल्लासंग सम्बन्धित क्रिकेट गतिविधिमा प्रत्यक्ष-अप्रत्यक्ष रूपमा सहभागी हुन मद्दत पुग्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको संघका अध्यक्ष भट्टराईले जानकारी दिए । ‘जिल्लामा कुनै क्रिकेट प्रतियोगिता हुदै गर्दा जिल्लाको सबै स्थानबाट खेलाडी समेट्न कठिन हुन्छ । जिल्ला बाहिर जिल्ला टिम लिएर खेल्न जानू पर्यो भने जिल्लाको टिम बनाउन कठिन छ,अध्यक्ष भट्टराईले भने,‘अहिलेसम्म जिल्लामा को कस्ता खेलाडी छन् थाहा छैन, जब क्लब हुन्छ तब क्लबमा आवद्द सबै खेलाडी जिल्ला क्रिकेट संघको प्रत्यक्ष निगरानीमा हुन्छन् र ती खेलाडीहरूको हरेक प्रफमेन्स थाहा हुन्छ त्यसपछि खेलाडीलाई छनोट तथा क्याम्पमा बोलाउन सकिन्छ ।’
कोरोना महामारीले ठप्प भएको खेलकुद क्षेत्र विस्तारै चलायमान हुँदैछ । गत वर्ष हुने कुनैपनी खेल तोकिएको समयमा सुचारु हुन सकिरहेका थिएनन् । अन्तर्राष्ट्रिय रुपमै खेल क्षेत्र प्रभावित भएकोमा अहिले प्रतियोगिताहरु भईरहेका छन् । अर्घाखाँचीमा पनी गत वर्ष एपिएल टि-२०, ईमर्जिङ्ग कप, उपमेयर कप, छत्रदेव प्रिमयर लिग लगायतका प्रतियोगिता भएका थिए । यस वर्ष प्रतियोगिताहरु ढिलोगरी सुरु भएपनी यस आर्थिक वर्ष भित्र अधिकांश प्रतियोगिताहरु सञ्चालन गर्ने लक्ष्य लिईएको छ ।