सर्वदलीय बैठकमा नेताहरूबीच घोचपेच, राष्ट्रपतिकै अगाडि प्रधानमन्त्रीलाई प्रतिगमनको आरोप

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा नेताहरूबीच घोचपेच भएको छ । राष्ट्रपति भण्डारीले दलका नेताहरूलाई बोलाएर छलफल गर्ने र चियापानको कार्यक्रम राखेकी थिईन् ।
बैठकमा प्रधानमन्त्री ओलीले संसद् विघटनको निर्णय ठिक रहेको जिकिर गरेको र अहिले संसद् बैठक चल्न नसक्नुले आफ्नो कदम ठिक साबित भएको बताएको राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीले जानकारी दिए । प्रधानमन्त्री ओलीले छिटो भन्दा छिटो चुनावमा जानुपर्ने कुरालाई पटक–पटक जोड दिनुभएको थियो । तर नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपालगायतका दलका नेताहरूले राष्ट्रपति भण्डारीकै सामुन्ने प्रधानमन्त्रीले प्रतिगमनको बाटो रोजेको र अदालतले त्यसलाई असफल बनाइदिएको बताएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
प्रधानमन्त्रीले संविधान र लोकतन्त्र नमानेको दलका नेताहरूले आरोप लगाएका थिए । बैठकमा राष्ट्रपतिले आफू संविधान र लोकतन्त्रको संरक्षक भएकाले सरकारले गरेका सिफारिस पारित गर्नु आफ्नो कर्तव्य हुन आउने बताईन् । राष्ट्रपति भण्डारीले संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढिकरणका लागि राजनीतिक दलबीचको सहकार्यलाई निरन्तरता दिनुपर्ने बताएकी हुन् ।
सर्वदलीय बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव सहभागी थिए । त्यस्तै गृहमन्त्री रामबहादुर थापा, एमाले महासचिव ईश्वर पोखरेल, नेता सुवास नेम्वाङ, विष्णु पौडेल, नेपाली कांग्रेसका तर्फबाट रामचन्द्र पौडेल, विमलेन्द्र निधि, डा। शशांक कोइराला, माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ र देव गुरुङ पनि सहभागी थिए ।
सर्वदलीय बैठकमा मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, राप्रपाका अध्यक्ष डा। प्रकाशचन्द्र लोहनी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र जनकराज शर्मा र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल पनि सहभागी थिए ।