सिङ्गो गाउँकै पुर्जा अरुको नाममा

सिङ्गो गाउँकै पुर्जा अरुको नाममा

नवलपरासी । नवलपुरको कावासोती नगरपालिका-४ हसौरा क्षेत्रका स्थानीयवासी आफूले जोतभोग गरेको जग्गाको पुर्जा अर्कैको नाममा हुँदा चिन्तित बनेका छन् ।

हसौरा, चिलाहा, सालघारी, चिलाहा खोलापारि, स्कुलटोल, बगनासे, कुसनरी, सातबिघा, बीचटोल, ढुङ्गेनीका बासिन्दा पुर्जाविहीन बन्दा समस्यामा परेका छन् । लामो समयदेखि बसोबास गरेको जमिन भूमाफियाले आफ्नो नाममा पुर्जा बनाउँदा यस क्षेत्रका बासिन्दा समस्यामा परेका हुन् ।

यहाँको  ७० बिघा जग्गाको करिब २५ जनाले आफ्नो नाममा पुर्जा निकालेका छन् । पुर्जा निकाल्नेहरु काठमाण्डाै, धादिङ, पोखरा, वीरगञ्जलगायतका व्यक्ति भएको जनाइएको छ । २०३१ सालदेखि बसोबास गर्दै आएको भए पनि आफू बसोबास गरेको जमिनको पुर्जा भने अरुकै नाममा रहेको स्थानीयवासीको भनाइ छ ।

२०३१ सालदेखि बसोबास गरेको बताउने मायाराम थारूको जग्गाको समेत भूमाफियाले आफ्नो नाममा पुर्जा निकालेका छन् ।’यहाँ केही थिएन म लगायत केही व्यक्तिले झाडी फाँडेर बस्यौँ, त्यो बेला वनको क्षेत्र भनेर मलाई त समातेर भैरहवा जेलमा समेत थुनियो’, मायारामले भने ‘पछि धरौटीमा छाड्यो, तर आफैँले भोग गरेको जमिनको भने भूमाफियाले पुर्जा निकाले ।’ आफैँले भोग गरेको जग्गासमेत भूमाफियाले गाउँमै नआइ पुर्जा बनाएको उनी बताउछन ।

२०३१ सालदेखि बसोबास गरेको भए पनि २०५५ सालमा भने आफ्नो जग्गा भूमाफियाले पुर्जा बनाएर कब्जा गरेको थारूको भनाइ छ । उनी जस्तै यहाँका धेरै घरपरिवारको बसोबास रहेकाले जग्गाको पुर्जा अर्कैको नाममा छ । २०५४ सालमा फिल्डबुक कायम गरी २०५५ सालमा मालपोत कार्यालयले पुर्जा वितरण गरेको थियो ।

त्यस समयमा विभिन्न ठाउँका करिब २०/२५ जनाले आफ्नो नाममा पुर्जा बनाए । अहिले पनि यहाँ बसोबास गर्नेहरुको जग्गाको पुर्जा अर्कैको नाममा रहेको स्थानीयवासी गोपी शर्माले बताए । पुर्जा गलत रूपमा निकालेको भनेर त्यस समयमा तत्कालीन गाविस कार्यालय, मालपोत घेर्ने काम गरेपछि मालपोत कार्यालयले पुर्जा बदरको काम अगाडि बढाएको थियो । तर मालपोत कार्यालय आफैँले जारी गरेको पुर्जा पुनः सच्याउन नमिल्ने भनी अदालतले आदेश दिएपछि बसोबास गरेका व्यक्तिभन्दा अरुकै नाममा पुर्जा कायम भएको हो । शिवमन्दिर क, ख र ग को नक्सामा जोतभोग गर्नेभन्दा फरक व्यक्तिको नाममा पुर्जा रहेको उनको भनाइ छ ।

त्यही समयमा यहाँका केही स्थानीयवासीले समेत पुर्जा बनाएका थिए तर आफू बसोबास गरेको भन्दा फरक ठाउँको पुर्जा बनेपछि यसले समेत समस्या निम्त्याएको कावासोती-४ का वडाध्यक्ष रमाकान्त चापागाईँले बताए। करिब ३०० घरधुरीले जोतभोग गरेको जग्गाभन्दा फरक ठाउँको कित्ताकाट भएको छ ।

यसले अर्को समस्या निम्त्याएको उनको भनाइ छ ।  करिब ८० घरपरिवारले आफू बसेको भन्दा केही फरक भए पनि पुर्जा निकालेका छन् तर ३०० घरपरिवार भने आफू बसेको ठाउँभन्दा फरक ठाउँमा कित्ताकाट भएपछि पुर्जाविहीन बनेका छन् ।

तत्कालीन समयमा केन्द्रको नापीले छ महिना यहाँ आएर ‘बाउन्ड्री’को काम गरेको थियो तर पछि फिल्डमा नआइ कित्ताकाट गरेकाले  यस्तो समस्या आएको वडाध्यक्ष चापागाईँले बताए । त्यही समयमा फिल्डमा नआई केही भूमाफियाले यस क्षेत्रको जग्गाको पुर्जा आफ्नो नाममा निकालेका थिए ।

पुर्जा निकाल्ने धेरै मानिस कहाँका हुन् भन्नेसमेत यकिन नभएको वडाध्यक्ष चापागाईँले बताए । यहाँका स्थानीयवासीले भने फिल्डबुक सच्याउनुपर्ने माग गरेका छन् । जोतभोग गरेको आधारमा पुनः नापी गरेर पुर्जा दिनुपर्ने माग स्थानीयवासीको छ ।

 

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

bhim bc

Leave a Reply

Your email address will not be published.