१२ जेष्ठ २०८१, शनिबार
१२ जेष्ठ २०८१, शनिबार

एनलाई चिट्ठी

पौडेल प्रिय एन, The dairy of young girl (एक किशोरीको डायरी) पढिसके पछि म केही नलेखी बस्न सकिन, अझ भनौं भने मन थाम्नै सकिन । त्यसैले यो पत्र तिमीलाई लेख्दै छु, स्वीकार है  ।

मसँग शब्द नै छैन, म कुन शब्द कहाँबाट प्रयोग गरूँ । फक्रिदै गरेको कोपिला, मौलाउँदै गरेका तिम्रा ती चिन्तनहरू यस विशाल ब्रह्माण्डबाट कसरी उजाडिन पुगे । यो डायरी पढिरहँदा गला धेरै पटक अवरुद्ध भयो । आँखाबाट आँसु छछल्कि रहे । तिम्रो के दोष थियो, तिमी यहुदी हुनुमा । यहुदी भएकै कारण कति अन्याय र थिचोमिचो सहनु पर्यो र अन्त्यमा ज्यान गुमाउन पर्यो। बन्द कोठाभित्र निसासिदै उतार चढावमा बिताएका ती दिनहरु, बमको वर्षाबाट त्रसित ती प्रत्येक रातहरु । न त पायौ भोकमा खान, न त पायौ बालसुलभ ती मनभित्र खेल्दै गरेका प्रश्नका उत्तरहरू । कति दबाएर राख्यौ बगैंचामा पुतली जस्तै खेल्ने ती मनभरिका इच्छाहरू । पारिलो घाममा मुस्कुराउन खोज्ने तिम्रा ती चाहनाहरू, जुनेली रातमा पोखिन खोज्ने तिम्रा ती रहरहरू। धन्न एउटा कोरा कागजमा टिप्न सक्यौ र त बन्यो तिम्रो त्यो अमूल्य डायरी, जसले गर्दा संसारका मानव जातिलाई नै सोच्न बाध्य पार्दै छ ।

युद्धमा बालबालिकाहरूले कस्ता कस्ता शारीरिक, मानसिक र संवेगात्मक अवस्थाबाट गुज्रनु पर्यो । आखिर युद्ध के को लागि, कसको लागि । हारले के प्राप्त हुने र जीतले कसले के पाउने । आफ्नो नैसर्गिक अधिकारबाट वञ्चित हुनुपर्दा एउटा बालिका यौवन अवस्थामा प्रवेश गर्दै गर्दा, ऊ भित्र के कस्ता विचार र उतारचढावहरु आउँछन् होला । एउटा बन्दी बनेर कयौ वर्ष न घामको किरण न त जूनको उज्यालो, न त हावाको चिसो स्पर्श अनुभव गर्न सक्यौ । कति दबायौ आफ्नै मन मस्तिष्क र गलाबाट निस्कने ती शब्दहरू । कति निरस र खल्ला चाडवाड बिताउन बाध्य भयौ ।

राम्रो लगाउँदै मीठो खाँदै प्रकृतिमा रमाउने ती रहरहरूलाई कसरी एक एक गर्दै तिलाञ्जली दिन बाध्य भयौ । खतरै खतरामा बिताएका ती अनिश्चितकालिन प्रत्येक क्षणहरू । भविष्यमा केही गरी मरेर पनि बाँचिरहने तिम्रो त्यो चाहना पूरा त गर्यौ एन, तिम्रो त्यो डायरीबाट । डायरी पढ्दा पढ्दै म जस्तो कमजोर र भावुक मन भएकाहरूलाई साह्रै गाह्रो भयो । रातमा सिरानी भिज्यो । दिनमा गला रोकियो । प्रतेक क्षण तिम्रो लागि प्रार्थना गरिरहें । अर्को जुनी हुने भए ठूलो र सम्पन्नशाली परिवारमा जन्मनु राजकुमारी बनेर । सारा सुख सुविधाहरू उपभोग गर्नु । डर, त्रास र द्वन्द्वै द्वन्द्वमा होइन, तिमीले चाहे जस्तै स्वतन्त्र र खुला आकाशको पंक्षी बनेर जीवन जीउन सक्नु । साथै एक कुशल नेतृत्व प्रदान गरी संसारबाट नै युद्ध उन्मूलन गर्न सक्नु । तिमीलाई मेरो धेरै धेरै शुभकामना । उही तिम्रो दिदि इन्दिरा

लेखक: इन्दिरा

तपाईको प्रतिक्रिया
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?