लक्ष्मण घिमिरे।
अर्घाखाँची । सन्धिखर्कमा ‘स्थानिय विकासका कार्यक्रमहरुमा महिला सहभागिता’ सम्बन्धी क्षमता अभिवृद्धी कार्यक्रम सम्पन्न भएको छ । स्थानियतह देखि निति निर्माण तहसम्म महिलाको सहभागिता अपरिहार्य रहेको भन्दै क्षमता अभिवृद्धी गर्न तालिमको आयोजना गरिएको हो ।
सन्धिखर्क नगरपालिकाको सहयोग र नेपाल चेतना केन्द्र (NCK) अर्घाखाँचीको आयोजनामा सन्धिखर्क स्थित सभाहलमा सम्पन्न कार्यक्रममा नेपालका ग्रामीण क्षेत्रका महिलाहरु आर्थिक, सामाजिक रुपमा विपन्न तथा विकासका अवसरबाट बञ्चित हुनुपरेकाले क्षमता अभिवृद्धी कार्यक्रम संचालन गरिएको आयोजकले जनाएको छ । विकासका कार्यहरुमा महिलालाई जोड्न महिलाहरुको सहभागिता र क्षमताको विकास गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो ।
कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ तथा प्रदेश सांसद निर्मला क्षेत्रीले महिलाहरुलाई चुलोचौको र मेलापातमा मात्र सिमित नराखि विकास निर्माणका कार्यमा पनि उनीहरुको सहभागिता बढाइनु पर्ने बताईन् । दिगो, प्रभावकारी र समतामुलक विकास गर्न महिला र पुरुष दुबैलाई विकासका कार्यक्रमहरुमा र नयाँ अवसरहरुमा उत्तिकै सहभागी गराईनु पर्ने उनले बताईन् । ‘विकास भनेको भौतिक संरचनाको निर्माण र आर्थिक वृद्धिदर मात्र होईन, उनले भनिन्,‘विकासमा जब हरेक वर्गको अपनत्व र हिस्सा हुन्छ, तब मात्र विकासको अर्थ हुन्छ ।’ पितृसतात्मक सोच तथा सदियौं देखि चल्दै आएको महिला प्रतिको भेदभावपूर्ण व्यवहारले अझैपनी निरन्तरता पाएको उनको भनाई छ ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सभापती बिष्णुप्रसाद खनाल ‘मुस्कान’ ले विकासको मुल प्रवाहमा ल्याउनका लागी महिलाहरुलाई नै अधिकार र नेतृत्व शक्ति प्रदान गरी क्षमतावान् बनाउनु पर्ने बताए । महिलाहरुलाई हरेक कार्यमा पुरुष सरह सहभागि गराई महिलाहरुमा भएको आन्तरिक क्षमतालाई बृद्धि गर्नुपर्ने उनको भनाई छ । प्रशिक्षणमुलक कार्यक्रममा प्रशिक्षक बाबुराम पौडेल, शान्ता भन्डारि लगायतले आधा सन्सार महिलाले ओगटेको र आधा भागलाई विकासको मुलधारबाट छुट्याउने हो भने विकास अधुरो र अपुरो हुने बताए । आधारभुत आवश्यकताहरुको परिपूर्ति गर्न मात्र नभई समृद्धि हासिल गर्नका लागी पनि महिलाको अग्रसरता जरुरी रहेकोमा उनीहरुले जोड दिए ।
दुई चरणमा सम्पन्न भएको कार्यक्रमको उद्घाटन सत्रमा शुभकामना दिंदै जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्मा भुसाल, नेपाली काङ्ग्रेसका जिल्ला सभापती बिष्णुप्रसाद खनाल ‘मुस्कान’, सन्धिखर्क नगरप्रमुख कमलप्रसाद भुसाल, शितगंगा नगरपालिकाका प्रमुख सुर्य अधिकारी, सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिक, शिक्षक संघका यादव घिमिरे, रिपोटर्स क्लबका प्रदेश प्रमुख रामकुमार क्षेत्री लगायतले कार्यक्रम सफलताको शुभकामना दिए ।चेतना केन्द्र नेपाल (NCK) का संस्थापक अध्यक्ष निर्मला क्षेत्रीको अध्यक्षता, समन्वय समितिका प्रमुख पिताम्बर शर्मा भुसालको प्रमुख आतित्यथा र प्रितम परियारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा ६ वटै पालिकाका महिला प्रतिनिधी, संघसंगठन, राजनितिक दलका महिला प्रतिनिधी, पत्रकार लगायत ३ सय बढीको सहभागिता रहेको थियो ।