१२ जेष्ठ २०८१, शनिबार
१२ जेष्ठ २०८१, शनिबार

‘स्वास्थ्य मापदण्डको पालना नगर्दा कोरोनासँगै अरु खालका सरुवा रोगको पनि जोखिम हुन सक्छ’

अघिल्ला वर्षहरुमा बर्खाको समयमा डेङ्गी, स्क्रब टाइफस, झाडापखाला  लगायतका सरुवा रोगका बिरामीहरु बढ्थे । यस्ता रोगका बिरामीहरुले अस्पताल भरिन्थे । तर  नेपालमा कोरोना भाइरसको महामारी सुरु भएपछि यस्ता खालका सरुवा रोगका बिरामी कम मात्रै भेटिएका छन् ।

लामो समय विद्यालयहरु, कार्यालयहरु बन्द भए । मानिसहरु लामो समयसम्म घरमै बसे र जनस्वास्थ्यका मापदण्डको पालना गरेकाले यस्ता खालका सरुवा रोगको जोखिम कम भएको हुन सक्छ । कोरोना नसरोस् भनेर बचावटका लागि अपनाइएका स्वास्थ्य मापदण्डको पालना, सरसफाइका कारण अरु खालका सरुवा रोगको जोखिम कम भएको हुन सक्छ । तर निषेधाज्ञा खुकुलो भएसँगै  स्क्रब टाइफस  लगायतका  समस्या भएका बिरामीहरु बढ्न थालेका छन् ।

निषेधाज्ञा खुकुलो भएसँगै भीडभाडमा जाने, जनस्वास्थ्यका मापदण्डहरुको पालना नगर्ने गरेकाले सरुवा रोगको जोखिम बढ्न थालेको हो । जनस्वास्थ्यको मापदण्ड पालना नगर्दा, खानपानमा ध्यान नदिँदा र  फोहर पानी पिउँदा यस्ता रोगहरु लाग्छन् ।

मनसुनको समयमा रुघाखोकीका भाइरसहरु सक्रिय हुन्छन् । पानीका मुहानहरु धमिलो  र प्रदूषित हुन्छन् । जसका कारण पानीजन्य रोगको जोखिम पनि उत्तिक्कै. हुने गर्छ । शाैचालय गइसकेपछि मिचिमिची साबुनपानीले हात धुने अभ्यास सबैको नहुँदा र उमालेको, फिल्टर गरेको वा क्लोरिन हालेको पानी नपिउँदा सरुवा रोगको जोखिम हुन्छ । बाढी पहिरोका कारण बर्खाको समयमा पानीका स्रोत फोहोर हुन्छन् ।

कुन अस्पतालमा, कस्ता रोगका बिरामीहरुहरु कतिले बढेका छन् भनेर  स्वास्थ्य तथा  जनसङ्ख्या मन्त्रालयले तथ्याङ्कहरु सङ्कलन गर्ने गर्छ ।  पछिल्लो समय केही मात्रामा स्क्रब टाइफस लगायतका रोगका बिरामीहरु देखिएका भए पनि उल्लेखनीय रुपमा भने बढेका छैनन् ।

कोरोना होस् वा अरु जुनसुकै खालका सरुवा रोगबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय भनेको जनस्वास्थ्यको मापदण्डको पालना गर्नु हो । त्यही भएर सरकारले मास्क लगाउन, साबुनपानीले हात धुन र स्यानिटाइजरको प्रयोग गर्न आग्रह गर्दै आएको छ ।

शुद्ध पानी मात्रै पिउने, बासी सडेगलेका र फोहोर खानेकुरा नखाने, राम्ररी उमालेको, फिल्टर गरेको वा क्लोरिन गरेका पानी मात्रै पिउने कुरा यो मौसम, वा उ मौसम भन्ने हुँदैन । जुनसुकै समयमा पनि सफा खाना र पानी पिउने बानी बसाल्नुपर्छ ।

लामखुट्टेका कारण किटजन्य रोगको जोखिम हुने भएकाले शरीर ढाक्ने कपडा लगाउने, सुत्दा झुलको प्रयोग गर्ने गर्नुपर्छ । घर वरपर रहेका पानी जम्ने खाल्डाखुल्डी पुर्नुपर्छ । तराईका धेरै ठाउँमा गर्मीको समयमा सर्पदंशको समस्या हुनेभएकाले विशेष सावधानी अपनाउनुपर्छ. । गर्मी होस् या जाडो, घरभित्र होस् या बाहिर  जतिसुकै बेला पनि विभिन्न खालका रोगका रोगको जोखिम धेरै हुने भएकाले जतिसुकै बेला होसियार बन्नुपर्छ ।

असारदेखि चाडपर्व सुरु हुने समयसम्म अर्थात् भदौ, असोजसम्म सरुवा रोगको धेरै जोखिम हुन्छ ।  भीडभाड गर्दा, स्वास्थ्य मापदण्डको पालना नगर्दा र सरसफाइमा ध्यान नदिँदा धेरै समस्या हुन्छ । हामी अहिले पनि कोरोनाको जोखिममा छौँ ।  निषेधाज्ञा खुकुलो भए पनि जनस्वास्थ्यको मापदण्ड पालना गर्न नभुलौँ । सफा पानी पिउने, स्वस्थ वातावरणमा बस्ने, र स्वास्थ्य मापदण्डको पालना सधैँ गरौँ ।

(स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महासाखाका निर्देशक डा. पौडेलसँग गरिएको कुराकानीमा आधारित) 

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?