८ जेष्ठ २०८१, मङ्लबार
८ जेष्ठ २०८१, मङ्लबार

प्रदेश १ मा बढ्यो पारिवारिक हत्या

विराटनगर । विराटनगर महानगरपालिका–५ पृथ्वी चोकका ३१ वर्षीय साजन सिंहले धारिलो हतियार प्रहार गरेर शुक्रबार राति आफ्नै दाजु ४२ वर्षीय भोला सिंहको हत्या गरे।

मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीका अनुसार विगतदेखि नै लागूऔषधको दुव्र्यसन एवं कुलतमा फसेका साजनले मादक पदार्थ सेवन (मापसे) गरेर दाजुको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। हत्याको चुरो कुरो चाहिँ पारिवारिक विवाद नै रहेको उनले बताए।
–––
‘साजनको कुटपिट र यातना सहन नसकेर श्रीमतीले गत वैशाखमा सम्बन्ध विच्छेद गरेपछि परिवारमा बेमेल सुरु भएछ,’ जिसीले भने, ‘त्यो विवाद बढेर हत्याजस्तो जघन्य अपराधसम्म पुगेको खुल्यो।’ आफ्नै भाइबाट मारिएका भोला खोटाङमा कार्यरत राष्ट्रिय अनुसन्धानका हवल्दार हुन्।
–––

मोरङको बेलबारी नगरपालिका–७ का ५४ वर्षीय अम्बिका घिमिरेले असार १९ गते मुङ्ग्रोले कन्चटमा प्रहार गरेर श्रीमती ४८ वर्षीया सीता घिमिरेको हत्या गरे। मदिरा सेवनका कारण उत्पन्न विवाद श्रीमतीको हत्यामा पुगेर टुंगिएको एसपी जिसीले बताए।
–––

खोटाङको दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिका–२ सोल्माका २८ वर्षीय सुवर्ण राईले असार १३ गते आफ्नै बुवा ७२ वर्षीय चन्द्रबहादुर राईको हत्या गरिदिए। सामान्य पारिवारिक विवादपछि खुकुरीले गद्र्धनमा प्रहार गरेर सुवर्णले वृद्ध बाबुको हत्या गरेको खोटाङ प्रहरी प्रमुख डीएसपी उमेश लम्सालले बताए। उनका अनुसार सुवर्णविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको छ।
–––

मोरङको रंगेली नगरपालिका–३ का १९ वर्षीय विनोद यादवले जेठ ४ गते राति आफ्नै भाउजू २४ वर्षीया अनिता यादवको हत्या गरे। घरमा पानीको कल गाडेको पैसा कसले तिर्ने भन्ने विषयमा बढेको विवादपछि बाम्फोक (दाउ)ले घाँटीमा हानेर विनोदले भाउजूको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुल्यो।

भोजपुर घर भइ इलामको देउमाई नगरपालिका–४ चित्रेमा बस्दै आएका ४५ वर्षीय ताकबहादुर तामाङले जेठ २८ गते श्रीमती ४६ वर्षीया सुर्जामाया तामाङको हत्या गरे। घरयासी विवादपछि दाउले घाँटी रेटेर श्रीमतीको हत्या गरेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले बताए। घटना भएका बेला एसपी राई इलाम प्रहरी प्रमुख थिए।
–––

उदयपुरको त्रियुगा नगरपालिका–९ का ५० वर्षीय पुलकित चौधरीले वैशाख २० गते कुटपिट गर्दा भाइ ३६ वर्षीय खुशीलाल चौधरीको ज्यान गयो। सामान्य विवादपछि कुटपिट हुँदा घाइते भएका खुशीलालको उपचारका क्रममा विराटनगरको गोल्डेन अस्पतालमा मृत्यु भएको उदयपुर प्रहरीका तत्कालीन प्रमुख एसपी भीमबहादुर दाहालले बताए।
–––

सुनसरीको बराहक्षेत्र नगरपालिका–९ का उमेश पौडेल आफ्नै बुवाको हत्या अभियोगमा पक्राउ परे। उमेशले बुवा ३६ वर्षीय उपेन्द्र पौडेललाई वैशाख ७ गते तपेशले प्रहार गरेर घाइते बनाएका थिए। उपेन्द्रको उपचारका क्रममा वैशाख ९ गते विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
–––

माथि उल्लेखित घटना पारिवारिक हत्याको जघन्य अपराधसँग जोडिएका छन्। पछिल्लो समय प्रदेश १ मा यस्ता घटना बढेर गएको प्रहरीको तथ्यांकले पुष्टि गर्छ। प्रहरीका अनुसार चालु आर्थिक वर्षको असार अन्तिम सातासम्ममा प्रदेश १ मा पारिवारिक हत्याका ५२ वटा घटनामा ५३ जनाको ज्यान गएको छ।

१४ जिल्ला रहेको प्रदेशमा सोलुखुम्बुबाहेक १३ वटा जिल्लामा यस्ता घटना भएका छन्। सुनसरीमा ११, झापामा १०, मोरङमा पाँच, इलाम, उदयपुर र ताप्लेजुङमा चार/चार, तेह्रथुममा तीन, धनकुटा, पाँचथर, संखुवासभा, खोटाङ र ओखलढुंगामा दुई/दुई तथा भोजपुरमा एउटा परिवारिक हत्याको घटना भएका छन्।

प्रदेश १ का प्रहरी प्रमुख डीआईजी अरुणकुमार बिसी बढ्दो पारिवारिक हत्याका घटनाले परिवारभित्रै असुरक्षित महसुस गराएको र सबैलाई चिन्तित तुल्याएको बताउँछन्। बेरोजगारीपछि उत्पन्न पारिवारिक किचलो, मदिरा तथा लागूऔषधको बढ्दो सेवन, वैदेशिक रोजगारी, परिवारभित्र पैत्रिक धनसम्पत्तिको बाँडफाँट, मानसिक समस्या, प्रविधिको बढ्दो प्रयोग, पारिवारिक विचलन एवं बेमेल आदिले यस्ता घटना बढाएर लगेको उनको भनाइ छ।

‘कोरोना महामारीका कारण लामो समयसम्म घरभित्रै थुनिएर बस्नुपर्ने लगायतका कारण  सुसुप्त रूपमा रहेका कलह विग्रहमा परिणत हुँदा रिस र आवेगमा यस्ता घटना हुने गरेको पाइन्छ,’ उनले भने, ‘जसले बाबु, आमा, छोरा, छोरी, दाजु, भाइ, श्रीमान्, श्रीमतीभित्र नै जघन्य अपराध निम्तिइरहेको थुप्रै उदाहरण छन्।’ बिसीका अनुसार परिवारभित्रको हत्या लगायतका जघन्य अपराध रोकथाम र न्यूनीकरणका लागि विशेष जनचेतनामूलक कार्यक्रम सञ्चालनको तयारी भइरहेको छ।

‘यस्ता घटनाले राज्यका निकायदेखि सबै सरोकारवालालाई चिन्तित बनाइरहेको छ,’ उनले भने, ‘स्वास्थ्य संस्था एवं सम्बन्धित निकायसँग समन्वय गरेर जनचेतनामूलक कार्यक्रमलाई अभियानकै रूपमा सञ्चालन गर्ने तयारी छ।’ उनका अनुसार रोजगारी, स्वास्थ्य, शिक्षा र पारिवारिक संरचनामा ध्यान नदिँदा परिवारभित्रै आपराधिक मानसिकताको विकास भएपछि मानिसले घटना गराउने गरेको पाइन्छ।

परिवारभित्रकै अपराधले डरलाग्दो रूप लिइरहेको बताउँदै डीआईजी बिसीले भने, ‘परिवारभित्रका घटना नियन्त्रण चुनौतीपूर्ण छ।’ पछिल्लो समय सामान्य पारिवारिक विवाद एवं झमेला हत्याजस्तो जघन्य अपराधमा परिणत हुनु नै समाजको डरलाग्दो पाटो भएको उनको भनाइ छ। यस्ता अपराध नियन्त्रणमा प्रहरीसँगै परिवार र समाजको भूमिका महत्त्वपूर्ण हुने बिसीले बताए।

बढ्दो पारिवारिक हत्याका घटनाले चिन्तित बनाएको बताउँदै समाजसास्त्री एवं मनोविद्ले नियन्त्रण सवालमा खोज एवं अनुसन्धानको आवश्यकता औंल्याएका छन्। समाजसास्त्री एवं प्राध्यापक डिल्ली प्रसाईं पारिवारिक हत्या बढ्नुमा सामाजिक, पारिवारिक, आर्थिक र मनोवैज्ञानिक मुख्य कारण रहेको बताउँछन्।  ‘परिवारभित्रै सामाजिक र सांस्कृति प्रक्रियामा विचलन आयो। आर्थिक, समाजिक र मनोवैज्ञानिक समस्या त छँदैछन्,’ उनले भने, ‘जसले यसअघि दरिलो सम्बन्धमा अडिएको हाम्रो पारिवारिक संरचनालाई कमजोर बनाएर लग्यो। त्यसैले विगतमा नदेखेका र नसुनेका गम्भीर घटना परिवारभित्रै हुन थाले।’

प्रसाईंले पछिल्लो समय सामाजिक एवं पारिवारिक संरचनाका कारण व्यक्तिवादी प्रवृत्ति हावी भएर आफूलाई नियन्त्रण गर्न नसक्दा र महत्वकांक्षा बढ्दै गएर जघन्य अपराध हुन थालेको बताए। यस्ता अपराध बढ्नुमा सामाजिक सञ्जाल र प्रविधिको दुरुपयोग पनि अर्को कारण रहेको उनको भनाइ छ।
‘असल संस्कारमा नहुर्किएको व्यक्ति समाज र परिवारबाट नियन्त्रित हुँदैन,’ प्राध्यापक प्रसाईंले भने, ‘उसको विक्षिप्त मनस्थितिको गुण र चरित्र अपराधशास्त्रसँग जोडिँदा घरभित्रै असुरक्षा बढ्यो।’ उनका अनुसार यस्ता अपराध नियन्त्रणका लागि वास्तविकता पहिचान र चिरफार जरुरी छ। राज्य संयन्त्र, कानुन र समाज कमजोर भएपछि परिवारले मात्रै नियन्त्रण गर्न नसक्दा व्यक्ति अपराधी भएर निस्कन थालेको उनको भनाइ छ।

मनोविद् एवं प्राध्यापक महेश खत्री नेपालीमा पछिल्लो समय सहनशीलता कमजोर हुँदा पारिवारिक अपराधको अवस्था साह्रै विकराल बनेर गएको बताउँछन्। समाजको आधुनिकीकरण, देखावटी र आवेगले पारिवारिक अपराधको बाटोतर्फ मान्छे अघि बढ्न थालेको उनले बताए।

‘समाजले एउटा उपयुक्त ढंगको मार्ग निर्धारण गर्ने नेतृत्व पाउन सकिरहेको छैन। नकारात्मक बनेको समाजलाई सकारात्मकतातर्फ लैजाने गतिविधि नै छैनन्,’ खत्रीले भने, ‘जीवनलाई सहज ढंगले अपनाउने क्रममा मान्छेले बाटो भुलेको छ। समाज र परिवारलाई त्यसबाट बाहिर निकाल्नका लागि उत्तरदायित्त्व वहन गर्ने खालका कार्यक्रम नहुँदा सबैतिर अन्धकार भयो।’

विभिन्न विक्रीति, विसंगतिसमेतले परिवाररूपी गाडी सञ्चालनको सही आधार नहुँदा समाजमा भइरहेका घटनाबाट परिवार अछुतो रहन नसकेर धमाधम पारिवारिक हत्या भइरहेको मनोविद् खत्रीको तर्क छ। ‘स्वस्थ र गतिशील पारिवारिक वातावरणले घरभित्रको अपराध रोक्न सक्छ,’ खत्रीले भने, ‘बुझाउने र मार्गदर्शन गर्ने कुरामा परिवार चुक्दै गएकाले  मानिसमा जीवन जिउने कलाको प्रशिक्षण आवश्यक देखिन्छ।’

उनका अनुसार यस्ता अपराध रोक्न कमजोरीलाई पहिल्याउँदै समय सापेक्ष ढंगले परिवर्तित गरेर नैतिकता सिकाउँदै मानिसको मनोबल उच्च बनाएर लैजान आवश्यक छ। राज्यको अभिभावकीय भूमिका कमजोर हुँदा परिवारभित्र ज्यानै लिने जघन्य अपराध भइरहेको खत्रीको विश्लेषण छ। ‘आफूलाई बुझ्ने कुरामा कमजोर हुँदा मानिसमा नैतिकता र असल आचरणको अभाव देखियो,’ उनी भन्छन्, ‘आफ्नो जिम्मेवारी र दायित्व बुझ्न नसक्दा घरभित्रै जघन्य अपराध देख्न र भोग्नपर्ने अवस्था आइदियो।’

परिवारका सदस्यलाई नैतिकवान बनाउने विषयमा भने महिलाको भूमिका महत्त्वपूर्ण हुने प्राध्यापक खत्रीको भनाइ छ।(अन्नपुर्णपाेष्ट)

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?