८ जेष्ठ २०८१, मङ्लबार
८ जेष्ठ २०८१, मङ्लबार

देउवाले विश्वासको मत पाउने सम्भावना कति ?

काठमाण्डौ । आज बस्न लागेको प्रतिनिधि सभा बैठकबाट प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदै छन। पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठकमै उनले विश्वासको मत लिने अनुमान गरिएको थिएन । किनकी प्रधानमन्त्रीमा नियुक्त भएको एक महिनासम्म विश्वासको मत लिने सुविधा उनलाई छ । तर सबैले अनुमान गरे विपरीत उनले आज प्रतिनिधि सभाको बैठकबाट विश्वासको मत लिन लागेका  हुन।

एमालेमा पार्टी एकताको पहल भैरहेको र यो पहल सफल भएमा पछि विश्वासको मत पाउन नसकिने भएकाले देउवाले हतार गरेका हुन । त्यसो त मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएपछि उनले मन्त्रिपरिषद विस्तारभन्दा पहिले विश्वासको मतलाई प्राथमिकता दिंदै आएका छन । यसबीचमा उनले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेका छन । नेता नेपाल पक्षबाट विश्वासको मत पाउने सुनिश्चित भएपछि उनले आजै प्रतिनिधि सभाबाट विश्वासको मत लिन लागेका हुन ।

एमाले वरिष्ठ नेता झलनाथ खनालले विज्ञप्ति नै निकालेर देउवालाई विश्वासको मत दिन आह्वान गरेका छन भने नेपाल समूहका सांसदहरु अनौपचारिक छलफलमा जुटेका छन् ।

यस्तो छ संसदको अङ्कगणित

​प्रतिनिधिसभा नेपाली कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, जसपाको उपेन्द्र यादवको पक्षमा १७ र राष्ट्रिय जनमोर्चाकी एक सांसद गरी देउवाको पक्षमा १२८ मत पुग्छ । प्रतिनिधिसभामा अहिले कायम रहेका कुल २७१ सदस्यमध्ये बहुमत पुर्‍याउन प्रधानमन्त्री देउवालाई १३६ मत आवश्यक पर्छ । एमालेको माधव नेपाल समूहको कम्तिमा ८ मत पाएमा उनले विश्वासको मत पाउनेछन।

एमालेको १२१ सांसदमध्ये २६ जनाले देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयमा हस्ताक्षर बुझाएका थिए भने तीमध्ये २३ जना सांसदले सर्वोच्च अदालतमा परेको रिटका पक्षका हस्ताक्षर गरेका थिए। सर्वोच्चमा बुझाइएको रिटमा एमालेका यी सांसदसहित बहुमत अर्थात् १४६ सांसदको हस्ताक्षर जुटेको हुनाले देउवाले विश्वासको मत पाउने कांग्रेसको दावी छ । त्यसो त सर्वोच्च अदालतले संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार बन्ने प्रयोजनका लागि मत दिएबापत् सांसदहरूलाई कारबाही नगर्नु भनेर ह्वीप नलाग्ने निर्णय गरिसकेको अवस्था रहेकाले देउवाको पक्षमा क्रस भोटिङ हुने र सरकारले विश्वासको मत पाउने कांग्रेसको विश्वास छ ।एमालेले संस्थागत रुपमा देउवालाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।

पार्टी फुटाउने षड्यन्त्र भयो : भीम आचार्य

नेकपा एमालेका सचिव तथा माधव नेपाल समूहका नेता भीम आचार्यले एमाले फुटाउने नियतले प्रधानमन्त्रीले आजै संसदमा विश्वासको मत लिन खोजेको बताएका छन । आज माधव नेपाल निवासमा भएको छलफलपछि पत्रकारसँग कुरा गर्दै आचार्यले एक महिना समय हुँदाहुँदै र अरु विकल्प रहेकै बेला आजै विश्वासको मत लिन खोज्नु एमाले फुटाउने षडयन्त्र भएको बताए ।

‘दश बुँदे सहमति गरेर हामी पार्टी एकजुट बनाउन लागेका बेला र हामीले मत दिँदैनौँ भनेका बेला विश्वासको मत लिन खोज्नु एमाले फुटाउने षड्यन्त्र बाहेक अरु केही होइन’ उनले भने। उनले देउवालाई विश्वासको मत दिने बारेमा कुनै छलफल नभएको पनि बताए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?