१ असार २०८१, शुक्रबार
१ असार २०८१, शुक्रबार

कांग्रेसको कान्छो पुस्ता: कहिले पुग्ला नेतृत्वमा ?

‘प्रमको कार्यकाल सक्किँदै गर्दा उहाँको काम हेरेर मलाई यसकारण मनपर्छ देउवा भनेर हामीले पनि भन्न पाइयोस्। कार्यकाल सुरु हुनेबित्तिकै खुर्सानीको बोटमा चढाएर दुर्घटना निम्त्याउन तत्पर समर्थकहरु प्रधानमन्त्रीलाई पार्टी र गुटको मात्रै होइन देशको हुन देऊ। अवसर छ सुन्दर इतिहास रच्ने,’ विद्यार्थी संघकी नेता एलिजा ढकालले साउन १८ मा ट्विट गरिन्।

प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालय ‘मलाई शेरबहादुर देउवा मनपर्छ, किनभने।।’ शीर्षकमा भिडिओहरु सार्वजनिक गर्न व्यस्त भएका बेला कांग्रेस कार्यकर्ता ढकाल भने पार्टी नेतृत्वलाई सजग गराइरहेकी थिइन्। ढकाल कांग्रेसको कान्छो पुस्ताको प्रतिनिधि हुन्। आफ्नो दलको नेतृत्व वा सरकारले जे गरे पनि आँखा चिम्लेर समर्थन गर्ने र विपक्षीको खेदो खन्ने कार्यकर्ताहरुको भीडमा उनीजस्ता युवाहरु अहिले आफ्नै पार्टीको सरकारलाई पनि खबरदारी गरिरहेका छन्।

सडक होस् या सामाजिक सञ्जाल, कांग्रेसमा यो पुस्ताले अहिले आफ्नो आवाज बुलन्द बनाउँदै लगेको छ। तर, अझै लामो समय युवाहरु पार्टीको नेतृत्व तहमा नपुग्ने देखिएको छ। कांग्रेसमा केन्द्रदेखि तल्लो तहको नेतृत्व चयनमा प्रत्यक्ष प्रभाव पार्ने क्रियाशील सदस्यहरूमा युवाको संख्या बढेको छ। प्रौढहरुको पार्टीको पहिचान बनाएको कांग्रेसमा पछिल्लो पटक सदस्यता वितरण लचिलो बनाइएका कारण युवाहरुको संख्या बढेको हो।

कांग्रेसमा नयाँ सदस्यता लिनेको संख्या चार लाख ४३ हजार ६७८ छ। यस्तै चार लाख नौ हजार ३३ जनाको सदस्यता नवीकरण गरिएको छ। जसमा १६ देखि २५ वर्ष उमेर समूहका ४० हजार ४२७ र २६ देखि ४० वर्ष उमेर समूहका दुई लाख ४९ हजार ७७४ जना सदस्य छन्। यसरी हेर्दा कांग्रेसमा युवा क्रियाशील सदस्यहरुको संख्या दुई लाख ९० हजार २०१ पुगेको छ।

४१ देखि ६० वर्ष उमेर समूहका तीन लाख २८ हजार २४३, ७१ देखि ७५ वर्ष उमेर समूहका ८३ हजार १० र ७५ भन्दा माथि उमेर समूहका ११ हजार ७८२ क्रियाशील सदस्य छन्। प्रतिशतमा हेर्दा १६ देखि २५ वर्ष उमेर समूहका ४.५९, २६ देखि ४० वर्ष उमेर समूहका २८.३८, ४१ देखि ६० वर्ष उमेर समूहका ३७.३०, ६१ देखि ७५ वर्ष उमेर समूहका ९.४३ र ७५ भन्दा माथिको उमेर समूहका १.३३ क्रियाशील सदस्य छन्।

समग्रमा १८ देखि ४० वर्ष उमेर समूहका क्रियाशील सदस्यको संख्या झण्डै ३३ प्रतिशत छ। ४१ देखि ७५ वर्षसम्मका क्रियाशील सदस्यको संख्या झण्डै ४७ प्रतिशत छ भने ७५ वर्षभन्दा माथिको संख्या जम्मा १ प्रतिशतभन्दा केही बढी छ।

कांग्रेसमा क्रियाशील सदस्यबाट निर्वाचित महाधिवेशन प्रतिनिधिले पार्टीको केन्द्रीय नेतृत्व चयन गर्छन्। क्रियाशील सदस्यमा युवाको बाहुल्यता देखिएका कारण आसन्न महाधिवेशनले चयन गर्ने केन्द्रीय कार्यसमितिमा कांग्रेसमा युवा भनिने दोस्रो र तेस्रो पुस्ताका नेताहरुको उपस्थिति बलियो हुने सम्भावना देखिएको छ। तर, पार्टी नेतृत्वमा भने फेरि पनि ७० आसपासका वयोवृद्ध नेताहरुकै हालिमुहाली चल्ने देखिएको छ।

कांग्रेसमा कान्छो पुस्ता भनेर चिनिने २८ देखि ४० वर्ष उमेर समूहका युवा आगामी केन्द्रीय कार्यसमितिमा पनि पुग्न कठिन छ। पार्टीको महाधिवेशन प्रतिनिधि बन्ने तयारी तयारी गरिरहेका नेविसंघका पूर्व केन्द्रीय सदस्य सुशील भट्टले आगामी महाधिवेशनलाई आफूले उत्साहपूर्वक हेरिरहेको बताए। यद्यपि तारकेश्वर नगरपालिका–४ का उनले कांग्रेसको कान्छो पुस्ता केन्द्रीय तहमा पुग्न थुप्रै चुनौती रहेको बताए।

‘लामो समयदेखि पार्टीमा लागेका सिनियर नेताहरु धेरै संख्यामा हुनुहुन्छ। यस पटक पनि युवालाई चुनौती छ,’ नेविसंघका पूर्वकेन्द्रीय सदस्य भट्टले भने, ‘वडाबाट चयन हुने क्षेत्रीय प्रतिनिधिदेखि महाधिवेशन प्रतिनिधि हुँदै सबै तहको चुनाव लड्न सक्ने युवालाई प्रवेश गराउनुपर्ने छ। अभिभावक पुस्तासँग लड्नु नै मुख्य चुनौती हो।’

यद्यपि युवाहरुले हिम्मत हार्न नहुने उनले बताए। ‘क्रियाशील सदस्यमा युवा पुस्ताको जति सहभागिता छ, त्यसअनुसार केन्द्रीय समिति, नीति निर्माणको तहमा प्रवेश पाउन सहज छैन,’ उनले भने, ‘तर, कसैले किस्तीमा राखेर युवालाई नेतृत्वमा ल्याउनेवाला छैन। संघर्ष गर्नुपर्छ। त्यसका लागि हाम्रो पुस्ता चुनौतीको सामनाका लागि डराउनु हुँदैन।’ नेविसंघकै पूर्वसहमहामन्त्री राजेश रौनियार भने महाधिवेशनमा पार्टीका विभिन्न तहका कार्यसमितिहरुमा तेस्रो पुस्ताको जबरजस्त सहभागिता हुनेमा आशावादी देखिन्छन्। उनी क्रियाशील सदस्यतामा युवा समूहको उल्लेख्य संख्या नै त्यसको आधार भएको उनको तर्क छ।

‘कांग्रेसमा युवाको आकर्षण बढेको क्रियाशील सदस्यताले देखाइसकेको छ। त्यही आकर्षणले अब हाम्रो पुस्ताका युवा पार्टीका विभिन्न तहमा जबरजस्त सहभागिता देखाउँछन्,’ उनले भने, ‘हाम्रो पुस्ता वडा, गाउँ-नगर, क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रमा आउँछन्, हेर्दै जानुहोला।’

बाराको पचरौटा नगरपालिका–७ का रौनियार केन्द्रीय कार्यसमितिको पदाधिकारीमा भने तेस्रो पुस्ताको उपस्थिति कल्पना गर्न नसकिने बताउँछन्। ‘केन्द्रीय कार्यसमितिमा सदस्यका रुपमा हाम्रो पुस्ता आए पनि पदाधिकारीमा पहिलो र दोस्रो पुस्ता मात्रै आउँछ।’ खोटाङको दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका–१ दिक्तेल घर भई काठमाडौंमा नेविसंघको राजनीति गर्दै आएका युवा विकल राई भने कांग्रेसको तेस्रो पुस्ता केन्द्रीय कार्यसमितिमा पुग्न अझै १० वर्ष लाग्ने बताउँछन्। कांग्रेसको विधानले नै युवा पुस्तालाई केन्द्रीय नेतृत्वमा आउन रोक लगाएको उनको जिकिर छ।

‘कांग्रेसमा युवा पुस्तालाई केन्द्रीय नेतृत्वमा आउन वैधानिक बाटो नै बन्द गरिएको छ। हाम्रो पिँढी ४० वर्षभित्रै केन्द्रीय नेतृत्वमा पुग्न कठिन छ,’ कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागअन्तर्गतको युवा प्रचार नेटवर्कका संयोजक राईले भने, ‘कम्तीमा पनि १० वर्ष अर्थात् अझै दुई महाधिवेशन पर्खिनै पर्छ।’ कांग्रेसको मूल नेतृत्व भने ६१ वर्षमाथिको उमेर समूहमै जाने निश्चित छ। अहिले कांग्रेसमा मूल नेतृत्वका लागि दाबी गरिरहेका युवा नेता कल्याण गुरुङबाहेक सबै ६१ वर्षमाथिका छन्।

सभापतिका प्रमुख दाबेदार सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल ७६ वर्षमा छन्। सभापतिको आकांक्षा राखेका शेखर कोइराला ७०, प्रकाशमान सिंह ६५, विमलेन्द्र निधि ६४ र शशांक कोइराला ६२ वर्षका छन्। www.nepalkhabar.com

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?