अर्घाखाँची । शितगंगा नगरपालिका-११ को वडा कार्यालय एउटा खयरबट्टी र अर्को कपिलवस्तुको ईमलियामा छ ।
खयरबट्टी वडा कार्यालय राखिएपनी त्यहाँ काम हुँदैन । वडाअध्यक्ष, सचिव ईमलियामै बस्छन् । खयरबट्टीमा कार्यालय सहयोगी मात्रै छन् । यस वडाका अधिकांश बस्तीका सेवाग्राहीलाई खयरबट्टी अपायक पर्छ । पहाड, जंगल क्षेत्र, छरिएर रहेका बस्ती पैदल पार गरेर खयरबट्टी जानुभन्दा कपिलवस्तु झर्न छिटो र सजिलो हुन्छ ।
मणिराम सारुले चार घण्टा पैदल हिंडालेर ८५ वर्षिय आमा जिवकला सारुलाई वृद्धाभत्ता बुझ्न ईमलिया ल्याए । गाउँमा बाटो त छ तर, यात्रु नपाईने भन्दै सार्वजनीक सवारी गाउँमा जाँदैनन् । ‘खयरबट्टी जान घरबाट ६ घन्टा पैदल हिंड्नु पर्छ, उनले भने, ‘बरु ईमलिया नजिक छ । सबैको माग अनुसारनै यहाँ कार्यालय राखिएको हो ।’ पुर्व पश्चिम राजमार्गमै जोडिएको इमलियाबाट खयरबट्टी रिक्सा चल्छन् । एक यात्रुको भाडा दुई सय रुपैया तिर्नुपर्छ । जिप, बस जाने बाटो भएपनी दिनहुँ गाडी भरिने गरी यात्रु नपाईने भएकाले जान मान्दैनन् ।
मौवाबारीका हिमबहादुर आलले नागरिकता बनाउन सिफारिस लिन वडा कार्यालय पुगेर फर्कदा एक दिन समय बित्ने बताए । उनका अनुसार त्यसपछीको एकदिनमा सदरमुकाम पुगेर नागरिकता बनाएर घर आईपुग्न भ्याईदैन । ‘नागरिकता बनाएर घर आईपुग्न तीन दिन समय लाग्छ, कागजपत्र नमिले, हस्ताक्षर छुटे अझै दुख हुन्छ,’ उनले भने ।
जिल्लाकै २७ प्रतिशत भुगोल क्षेत्र ओगटेको तत्कालीन सिद्धारा गाविसलाई नयाँ संरचना अनुसार शितगंगा नगरपालिकाका तिनवटा वडामा विभाजन गरिएको छ । दुर्गम त्यसैमाथी फराकिलो क्षेत्र भएकाले पनी स्थानियले सहजै सरकारी सेवा पाउन सकेका छैनन् । वडा कार्यालयमा नागरिकता लगायत सिफारिस बनाएर सदरमुकाम र नगरपालिका कार्यालय ठाडा जान सजिलो हुने भएकाले छिमेकी जिल्लामा कार्यालय राखिएको वडाध्यक्ष कोपिलाचद्र आलले बताए ।
वडाको मौवाबारी, दोबाटो, फोर्सल लगायतका गाउँबाट सेवाग्राही इमलिया आउँछन् । यी गाउँबाट खयरबट्टीको कार्यालयनै छ-सात घण्टाको पैदल दुरीमा पर्छ । त्यहाँ गएर सिफारिस बनाउने र फर्कदाँ दिन बित्छ । ईमलियाबाट भने सिफारिस लिएर सदरमुकाम पुगेर एकैदिनमा नागरिकता बनाउन सकिन्छ ।