१ असार २०८१, शुक्रबार
१ असार २०८१, शुक्रबार

कांग्रेस महाधिवेशन: पुरानो कार्यतालिका प्रभावित, नयाँ तालिका अझै आएन

काठमाण्डौ । प्रमुख सत्तारुढ दल कांग्रेसको १४औँ महाधिवेशन निर्वाचित समयमा नहुने निश्चित भए पनि नयाँ तालिका अझै आएको छैन । बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा पनि नयाँ तालिका पेस हुन सकेन ।

केन्द्रीय सदस्यको सुझावको आधारमा महाधिवेशन कार्यतालिका सार्वजनिक हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । कांग्रेसले आगामी भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने गरी तालिका सार्वजनिक गरे पनि क्रियाशिल सदस्यता नै अझै टुंगिएको छैन । वडा अधिवेशनसमेत हुन नसकेको अवस्थामा महाधिवेशन निर्वाचित मितिमा नहुने निश्चित छ, तर नयाँ मितिबारे पनि कांग्रेसमा सहमति जुटेको छैन ।

बिहीबारको बैठकमा उपसभापति तथा समायोजन समितिका संयोजक विमलेन्द्र निधिले समायोजनसम्बन्धी प्रतिवेदन, महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन निर्देशिकासम्बन्धी प्रस्ताव र क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले क्रियाशील छानबिन समितिको प्रगति विवरण पेस गरेका छन् । महाधिवेशनमा उम्मेदवार हुन केन्द्रीय सभापतिका लागि ३० हजार, उपसभापतिका लागि २५ हजार, महामन्त्रीका लागि २५ हजार, सहमहामन्त्री र केन्द्रीय सदस्यका लागि १० हजार शुल्क तिर्नुपर्ने प्रस्ताव निर्वाचन समितिले गरेको छ। यसअघि सभापतिको २० हजार र अरुको १० हजार रुपैयाँ थियो।

बैठकमा क्रियाशील सदस्यता प्रतिवेदनमा छानबिन समितिका सदस्य कल्याण गुरूङले फरक मत राखेका छन भने सदस्य आनन्द ढुंगानाले केही विषय छुटेको र समावेश गर्नुपर्ने बताएका छन् । बैठकमा सरकार सञ्चालन, कोरोना महामारी नियन्त्रणको सम्बन्धमा पनि छलफल हुने शर्माले बताए ।

क्रियाशील सदस्यताको केही विवाद रहे पनि त्यसलाई थाती राखेर महाधिवेशन अघि बढाउनुपर्ने नेता प्रदीप पौडेल बताउँछन् । यसअघि पनि सदस्यता विवाद रहेकै अवस्थामा महाधिवेशन भएको उनले स्मरण गराए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?