१ असार २०८१, शुक्रबार
१ असार २०८१, शुक्रबार

कोरोनाको तेस्रो लहरमा मुलुकको अर्थतन्त्रमाथि ठूलो समस्या आउन सक्छ: मिनेन्द्र रिजाल

कांग्रेसका सांसद मिनेन्द्र रिजालले कोरोना भाइरस संक्रमणको सम्भावित तेस्रो लहरमा मुलुकको अर्थतन्त्रमाथि अझै ठूलो समस्या आउनसक्ने भएकाले सजग हुनुपर्ने बताएका छन् ।

कान्तिपुर इकोनमिक समिट, २०२१ को ‘अर्थतन्त्रको उपचार’ विषयक छलफलका क्रममा पूर्वमन्त्रीसमेत रहेका रिजालले भने, ‘पहिलो लहरमा रोजगारी यति गुम्यो, बाहिर बस्ने मानिसको रोजगारी गुम्यो, बाहिर बस्ने मानिस फर्किएर, आत्तिएर आए त्यसलाई ठीक ठाउँमा राख्न सकेनौं । त्यसपछाडि दोस्रो लहर फैलियो । अब हाम्रो क्षमता र ज्ञानभन्दा बाहिरको समस्या हुन सक्छ । यी सबै चिजलाई हेर्ने हो भने हाम्रो अर्थतन्त्रलाई जरैदेखि हल्लाइदिने खालको छ ।’

मुलुकको अर्थतन्त्र अगाडि बढाउनका लागि राजनीतिक दलहरूबीचमा समझदारी हुनुपर्ने रिजालको भनाइ थियो । त्यसैका लागि सत्तारुढ गठबन्धनले साझा न्यूनतम कार्यक्रममा राष्ट्रिय सहमतिको कुरा राखेको उनले बताए । राजनीतिक दलहरूले आ-आफ्ना तथ्यांक बोकेका कारण चुनावका क्रममा विमान अवतरण गर्ने सडक निर्माण गर्छौं भन्नुपर्ने अवस्था आएको पनि उनले बताए । उनले त्यस्तो गर्नुभन्दा पनि राष्ट्रिय सहमति गर्नुपर्नेमा जोड दिए ।

‘हामीले उहाँहरूसँग मिलेर बाटो निर्माण गर्नुछ । राष्ट्रिय सहमति निर्माण गर्नुपर्छ भनेर साझा न्यूनतम कार्यक्रम राखेका छौं । अहिलेसम्म हामी एकअर्कालाई आक्षेप लगाउनेमा लाग्यौं त्यसले समस्या भयो भन्ने हो,’ उनले भने । मुलुकमा उत्पादन नभइरहेको तर बाहिरबाट पैसा आएकाले माग बढ्को रिजालको भनाइ थियो । उनले वर्तमान समयमा मुलुकमा २० अर्बको वर्षेनी चामल मात्रै आयात भइरहेको पनि तथ्यांक राखे ।

‘जुन देशको राजश्व भन्सारको बिन्दुबाट ४५ प्रतिशत उठ्छ । जुन देशको मान्छेहरूका १ सय रुपैयाँमा २० रुपैयाँ बाहिरबाट पठाएको रुपैयाँबाट मुलुक चलेको हुन्छ । त्यो पैसाले सिर्जना गरेको मागलाई पूरा गर्नसक्ने क्षमताको विकास गर्न सकेको छैन त्यसले समसयाको जालोमा राखेको छ,’ उनले भने ।

पछिल्लो समय कोरोनाका कारण पुँजीगत खर्च हुन नसकेको पनि रिजालको भनाइ थियो ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?