१ असार २०८१, शुक्रबार
१ असार २०८१, शुक्रबार

अब मेक इन नेपाल

नेपाललाई उत्पादनशील अर्थतन्त्रको रूपमा स्थापित गर्न नेपाल उद्योग परिसंघ (सिएनआई)ले सरकारको साथ लिएर ‘मेक इन नेपाल–स्वदेशी’ अभियान कार्यान्वयन प्रारम्भ गरेको छ। नेपालको अर्थतन्त्रमा संरचनागत परिवर्तनको उद्देश्य राखिएको यस अभियानले नेपालाई आयतमुखीबाट उत्पादनमुखी अर्थतन्त्रमा परिवर्तन गराउँछ। सरकारले न्यूनतम साझा कार्यक्रममार्फत् पनि नेपाललाई उत्पादनमुखी अर्थतन्त्र बनाउने उल्लेख गरेको छ।

नेपालको यथार्थता के हो भने यहाँको नीति राजस्वमुखी छ। यो सोचलाई नै परिवर्तन गर्न जरुरी छ। उत्पादनमुखी अर्थतन्त्रले देशको विकास गर्छ, स्वदेशी पुँजीको विकास हुन्छ र देशभित्रै उच्चदरको रोजगारी सिर्जना हुन्छ। राजस्व परिचालनको दीर्घकालीन आधार पनि उत्पादनमूलक अर्थतन्त्रले दिन्छ। आयातमुखी हुँदा देशको भुक्तानी प्रणाली दवाबमा छ। नेपाललाई उत्पादनमूलक अर्थतन्त्र बनाउने हो भने त्यसले निर्यात बढाउँछ र भुक्तानी सन्तुलन कायम गर्न सहयोग गर्छ। अहिले नीति निर्माता, उद्योगी व्यवसायी, राजनीतिज्ञ र आमजनतामा यो जागरुकता आएको छ, जुन असाध्यै सकारात्मक छ।

परिसंघ उद्योगीहरूको छाता संगठन भएकाले पहिलो प्राथमिकता उत्पादनमुखी अर्थतन्त्रको निर्माण गर्नु हो। त्यसकै जगमा मेक इन नेपाल स्वदेशी अभियान सुरु भएको छ। यसका मुख्य दुईवटा पक्ष छन्, पहिलो स्वदेशी वस्तुको उत्पादन बढाउने र दोस्रो स्वदेशी वस्तुको खपत वृद्धि गर्ने। स्वदेशी वस्तु तथा सेवाको उत्पादन र उपभोग वृद्धिको योजना सँगसँगै बनाउनु पर्छ। नेपालमा वस्तु तथा सेवाको उत्पादन अभिवृद्धि र उत्पादित वस्तु तथा सेवाको स्वदेशी एवं विदेशी बजारमा खपत बढाउने योजना लिएर परिसंघ अघि बढेको छ। आमउपभोक्तासँगै सरकारी निकाय पनि ठूलो उपभोक्ता हो। त्यसकारण प्रत्येक घरघरमा स्वदेशी वस्तुको उपभोग बढाउने, स्वदेशी वस्तुको गुणस्तरीयतामा विश्वसनीयता अभिवृद्धि गर्ने र सार्वजनिक निकायमा पनि स्वदेशी वस्तुकै उपभोग बढाउने गरी अघि बढ्नुपर्नेछ। त्यसका अतिरिक्त बजारीकरणमार्फत विश्वबजारमा नेपाली वस्तुको निर्यात बढाउँदै व्यापार घाटा घटाउन रणनीतिक हिसाबले अघि बढ्नुपर्नेछ।

उत्पादन बढाउन विगत एक वर्षदेखि काम भइरहेको छ। परिसंघले नेपालमा वस्तु तथा सेवा उत्पादन बढाउन कहाँ कहाँ समस्या छ भनेर विस्तृत अध्ययन गरेको छ। परिसंघले गहन अध्ययनबाट ३४ वटा क्षेत्रमा मध्यस्थताको आवश्यकता पहिचान गरेको छ। सरकार र निजी क्षेत्र मिलेर नीतिगत सुधारदेखि प्रक्रियागत सरलीकरणका काम गर्ने हो। नेपालको कूल गार्हस्थ्य उत्पादनको विद्यमान संरचनामा आमूल परिवर्तन गर्न सकिन्छ। नेपालको अर्थतन्त्रमा परिवर्तनका लागि ठोस लक्ष्य लिइएका छन्। उद्योग विभागमा वार्षिक हजार उद्योग स्थापना गर्ने लक्ष्य राखिएको छ। यो लक्ष्य हासिल हुँदा नेपालमा उद्योग दर्ताका हिसाबले ऐतिहासिक उपलब्धि हासिल हुनेछ। औद्योगिक क्षेत्रमा वार्षिक एक लाख ५० हजार रोजगारी सिर्जना गर्ने लक्ष्य छ।

नेपालको श्रम बजारमा प्रवेश गर्ने जनशक्तिलाई विदेशिनबाट रोक्ने र यही अवसर प्रदान गर्ने लक्ष्य राखिएको छ। सन् २०२५ सम्ममा अर्थतन्त्रमा उद्योगको योगदान बढाएर २२ प्रतिशत पुर्‍याउने हाम्रो लक्ष्य छ। अहिले एक खर्बको वस्तु निर्यात भइरहेको छ। यो अभियानअन्तर्गत पाँच वर्षभित्र ४.६ खर्ब डलर बराबरको निर्यात गर्ने योजना छ। यस अभियानको प्रभावकारी कार्यान्वयनका लागि उत्पादन र उपभोगका सातवटा महत्वपूर्ण स्तम्भ पहिचान भएका छन्।

औद्योगिक वातावरण
यसअन्तर्गत धेरैवटा विषय आउँछन्। नीतिगत मध्यस्थतादेखि नेपालमा व्यावसायिक वातावरणमा सुधार ल्याउने लक्ष्य लिइएका छन्। व्यावसायिक सहजता सूचक (डुइङ बिजनेस इन्डेक्स)मा अहिले नेपाल ९४औं स्थानमा छ, यसलाई ३० अंकले सुधार गरी ६४औं स्थानमा ल्याउने लक्ष्य राखेका छौं। सरकारलाई कर तिर्न, कम्पनी दर्ता गर्न धेरै बाधा र अड्चन छ, धेरै समय लाग्छ। कुनै कारण उद्योग बन्द गर्नुपर्‍यो, व्यवसाय बन्द गर्नुपर्‍यो भने पनि झन्झट हुनुका साथै धेरै समय लाग्छ। सरकारसँग मिलेर समस्या हटाउँदै व्यावसायिक वातावरण कसरी प्रवद्र्धन गर्ने भन्ने विषयमा सोच्नुपर्ने छ। उद्योग सञ्चालन जग्गा प्राप्तिमा समस्या छ। औद्योगिक सम्बन्ध उत्पादनमुखी छैन। नेपालमा उत्पादनको लागत धेरै छ। बैंकका ब्याज पनि एकल दरमा स्थिर हुन सकेको छैन।

आयात न्यूनीकरण 
नेपाल उर्वरभूमि हुँदाहुँदै पनि उच्च आयात तबरबाट गरिरहेका छौं। कृषि प्रधान देश भए पनि कृषि वस्तुनै दुई खर्ब रूपैयाँ भन्दा बढीको आयात भइरहेको छ। चालु खाता खाताको अवस्था पनि खराब छ। अहिलेको अवस्थामा १३ खर्बको आयात हुँदा १ खर्बको मात्रै निर्यात भइरहेको छ। वस्तुको पहिचान गरी स्वदेशमै उत्पादन वृद्धि गरेर प्रतिष्थापन गर्नुपर्छ। संभावित वस्तुको उत्पादन नेपालमा बढाउनै पर्छ।

पूर्वाधार विकास
पूर्वाधार विकासमा नेपाल पछाडि छ। औद्योगीकरण प्रवद्र्धन हुने गरी पूर्वाधार विकासमा जोड दिइनुपर्छ। पर्यटन क्षेत्रको प्रवद्र्धन गर्ने गरी पूर्वाधार विकास हुनुपर्छ। सामाजिक क्षेत्रलाई पनि सँगै ध्यान दिनुपर्ने नेपालको आवश्यकता छ। सरकारको पुँजीगत खर्चलाई प्रभावकारी बनाउने, समयमै आयोजना सम्पन्न गर्ने र गुणस्तरीय निर्माण गर्ने गरी अघि बढ्नुपर्छ।

सेवामूलक उद्योगको आधुनिकीकरण
सेवामूलक उद्योगलाई कसरी आधुनिकीकरण गर्ने भन्ने प्रश्न सामुन्नेमा छ। सेवा क्षेत्रलाई प्रविधिमैत्री बनाउँदै ग्राहकमुखी बनाउनुपर्नेछ। सेवा क्षेत्रमा विशेषज्ञता अभिवृद्धि गर्दै लैजानुपर्नेछ।

स्वदेशी वस्तुको बजारीकरण
नेपालमा उत्पादन भएका वस्तुहरूको नेपाली बजारमै कसरी व्यवस्थापन गर्ने भन्ने सोच्न जरुरी छ। स्वदेशी उत्पादनमाथि नेपाल र नेपालीमा विश्वास बढाउनुपर्छ। गुणस्तरीयता सुनिश्चित गर्दै मूल्यमा प्रतिस्पर्धी बनाउन जरुरी छ। आमउपभोक्तामा नेपाली उत्पादनमाथिको विश्वास वृद्धि गर्न अभियान चाल्नुपर्ने छ। सरकारी क्षेत्रमा अनिवार्य स्वदेशी वस्तुको प्रयोग बढाउनुपर्छ। यो सँगसँगै निर्यातलाई प्राथमिकतामा राख्नुपर्छ।

सरकारी खरिदमा स्वदेशीलाई प्राथमिकता
नेपाल सरकार सबैभन्दा ठूलो उपभोक्ता हो। वस्तु तथा सेवाका ठूलो उपभोग सरकारी निकायले गरिरहेका छन्। निजी क्षेत्रको क्षमता अभिवृद्धि गरी विदेशीसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउनुपर्नेछ। सरकारले निर्माण क्षेत्रमा होस् या अन्य उपभोग्य वस्तु खरिद गर्दा होस् स्वदेशीलाई प्राथमिकता दिने नीति अंगिकार गर्नुपर्छ।

विश्व बजारमा स्वदेशी वस्तुको प्रवद्र्धन
नेपालसँग एउटा महŒवपूर्ण लाभ छ। हाम्रो उत्तर र दक्षिणतर्फ ठूलो संख्यामा उपभोक्ता छन्। ती बजारमा नेपाली उत्पादन प्रवद्र्धन गर्न सक्ने हो भने नेपालको निर्यात व्यापारमा कायापलट हुन्छ। त्यसकारण विश्वबजारमा स्वदेशी वस्तुको प्रवद्र्धनमा ध्यान दिनुपर्छ। स्वदेशी वस्तुको पहिचानका लागि लोगोको विकास गरिएको छ। स्वदेशी वस्तुको गुणस्तरीयता र प्रतिस्पर्धी मूल्यको सुनिश्चितता त्यसले गराउँछ। उद्योगहरूले नेपालमा वस्तुको गुणस्तरमा मूल्य अभिवृद्धि गराइरहेका छन्। उनीहरूका लागि सहज वातावरण निर्माण गर्न जरुरी छ।

धेरै सुपरमार्केटहरूमा स्वदेशी लोगो भएका सामानहरूको छुट्टै स्टलको व्यवस्था गर्ने तयारी भइरहेको छ। ग्राहकलाई स्वदेशी वस्तु पहिचानमा सहजता होस् भनेर यसो गर्न खोजिएको हो। मेक इन नेपाल अभियानसँग जोडिएर सबै काम अघि बढिरहेको छ। स्वदेशी लोगो कसलाई प्रयोग गर्न दिने भन्ने मापदण्ड बनिरहेको छ। यसै अभियानबाट नेपालको उत्पादन राम्रो, गुणस्तरीय र सस्तो हुन्छ भन्ने देखाउनु छ। औद्योगिक वातावरण बनाउन विभिन्न कार्यक्रम आयोजना गर्ने योजना छ। मुख्य त नीतिगत सुधार हुनुपर्छ। सरकारको नेतृत्व गर्ने राजनीतिज्ञ तथा कर्मचारीतन्त्रको दृष्टिकोणमा पनि सुधार आउनुपर्छ। नेपाली उत्पादन प्रवद्र्धन गर्नुपर्छ भन्ने आउनुपर्छ। उनीहरूलाई बढी भन्दा बढी सुविधा दिएर काम गर्नुपर्छ भन्ने सोच आउनुपर्छ।

सानो नीति परिवर्तनले पनि काम गर्न हौसला दिइरहेको हुन्छ। नीति सुधार भएसँगै नेपाल सिमेन्टमा आत्मनिर्भर भएको छ। केही मद्दत पाएमा निर्यात हुन सक्छ। त्यसबाहेक डन्डी, जस्तापाता, पेन्टस्, तेलमा आत्मनिर्भर भइसकेको अवस्था छ भने गार्मेन्टस्, टेक्सटाइल, बिस्कुटलगायतमा आत्मनिर्भर भएर निर्यात गर्न सकिन्छ। परिसंघको रिसर्च सेलले उत्पादन बढाउने, आयात घटाउने र निर्यात बढाउने वस्तुको खोजी गरिरहेको छ। ती वस्तुको सूची बनाएर प्रवद्र्धनका लागि आवश्यक सहयोग गर्नुपर्नेछ। कुन उद्योगलाई कस्ता सुविधा चाहिन्छ भनेर अध्ययन भइरहेको छ।

मेक इन स्वदेशी अभियानमा अरू देशहरूले पनि काम गरिहेका छन्। परिसंघले अघि बढाएको यस अभियान पनि सबैको सामूहिक प्रयासबाट सफलता प्राप्त हुनेछ। औद्योगिक वातावरण तयार भएमा चीन र भारतसँग राम्रो व्यापार गर्न सकिन्छ। स्वदेशलाई मात्र चाहिने उत्पादन मात्रै नभई भारत तथा चीनलगायत तेस्रो मुलुकमा पनि निर्यात गर्न सकिन्छ। विद्युत् उत्पादन पनि राम्रो भइरहेको छ, आत्मनिर्भर नजिक पुगेका छौं। भिजिट नेपाल २०२० कोभिडले पूर्णरूपमा प्रभावित भयो। पर्यटन नेपालका लागि राम्रो सम्भावना भएको क्षेत्र हो। नेपाल पर्यटनको प्रचुर सम्भावना भएकाले विदेशीहरू नेपाल आउन चाहन्छन्।

हामीले पाँच वर्षमा रूपान्तरण चाहेका छौं। दृष्टिकोण परिवर्तन नभई आर्थिक विकास सम्भव छैन। नीतिसँगै दृष्टिकोण परिवर्तन नगरी केही हुँदैन। यसतर्फ सचेतना बढ्यो भने चाँडै नै दृष्टिकोणमा सुधार आउने छ। जनचेतना फैलाउने, नीति निर्माणको वातावरण तयार गर्ने काम गर्न, नेपाली जनतामा नेपाली उत्पादनको उपयोग बढाउने काम गर्न हामीले योजना बनाएका छौं। मेक इन नेपाल स्वदेशी उत्पादन सफल बनाउन सार्वजनिक निजी साझेदारी आवश्यक चाहिन्छ। सार्वजनिक निजी साझेदारीमार्फत प्रदेश तथा स्थानीय तहसम्म जाने योजना छ। सरकारले औद्योगिक ग्राम बनाउने योजना अघि सारेको छ ।(अन्नपुर्ण)

author-imageविष्णुकुमार अग्रवाल

अग्रवाल नेपाल उद्योग परिसंघका अध्यक्ष हुन्।

 

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?