२५ मंसिर २०८१, मङ्लबार
२५ मंसिर २०८१, मङ्लबार

कांग्रेस शीर्ष नेतृत्वमा दाबी गर युवा !

निराशा
नेपाली राजनीतिको विशृंखल उतारचढाव कहिले र कसरी टुंगिन्छ, अनुमान गर्न सकिन्न । संघीय सरकार परिवर्तनको एउटा उच्चाटलाग्दो अवस्था अहिलेलाई सकिए पनि प्रदेशहरूमा यी जालसाजी जारी छन् ।

उन्नत लोकतान्त्रिक अभ्यासका लागि कठोर संघर्ष गरेको दाबी गर्ने व्यक्तिहरू र तिनका समूहको राजनीतिक खिचातानी निकृष्ट तहमा पुगेको छ । भ्रष्टाचार र कुशासनका फेहरिस्त सरकारी प्रतिवेदनहरूमै छताछुल्ल छन् । शासकीय दम्भ, आरोप–प्रत्यारोपमा प्रयुक्त भाषा र शैली, एकअर्काका समर्थक र विरोधीहरूले सामाजिक सञ्जालमा चलाएका अभियान आदिले राजनीतिक संस्कारको स्तर छर्लंग पारेका छन् ।

राजनीतिक दलसम्बन्धी अध्यादेशले राजनीति सुध्रिएको छैन, पार्टीहरू नियत र क्षुद्रतामा समान छन् भन्ने पुष्टि गरेको छ । नेता–कार्यकर्ताको आचरण र उनीहरूप्रतिको अविश्वासका कारण निर्णायक समयमा रिसोर्टमा राख्ने अभ्यास प्रायः सबै पार्टीमा देखिएको छ । नेताहरूको खुलेआम खरिद–बिक्री, अपहरण सामान्य हुन थालेको छ । सिद्धान्त, दर्शन, विचार, रणनीति र कार्यदिशा मिलेमा नेताहरू एउटै पार्टीमा रहने वा नमिलेमा फरक हुने भन्ने सार्वभौम नियम नेपालमा लागू हुँदैन । आदर्श र सिद्धान्तका चर्का कुरा गर्नेहरूले लाभ–हानि तौलिएर गुट वा पार्टी रोज्ने अभ्यास सामान्य भएको छ । नेपाली राजनीतिमा दर्शन, सिद्धान्त र निष्ठाको अन्त्य भई स्वार्थ मात्र बाँकी छ ।

यी सब विकृतिको अपजस शीर्ष नेताहरूलाई मात्र थोपरेर पुग्दैन । पछिल्लो पुस्ताका नेताहरू विकृत अभ्यास गर्न अग्रजभन्दा पारंगत भैसकेका प्रमाणहरू प्रशस्त छन्, कार्यकर्ताहरू सायद सिक्दै छन् । राजनीतिक पक्षधरतामा विवेक बन्धक राख्नु अनिवार्यजस्तै भयो । नेता–कार्यकर्ताको देवत्वकरण–दानवीकरण र दानवीकरण–देवत्वकरणको दोहोरो अभ्यास स्वाभाविक देखिएको छ । र, यसको नक्कल पेसाकर्मी, व्यवसायी, बुद्धिजीवी, पत्रकार, विद्यार्थीलगायत सामान्य जनमा पनि देखिन थालेको छ, जसको असर समाज र व्यक्तिव्यक्तिसम्म पुगेको छ । जुनै पनि क्षेत्रमा देखिएको अति राजनीतीकरण, राजनीतिको विद्रूपीकरण आदिले समाज र सम्पूर्ण देश आक्रान्त छ ।

सम्भावना

नेपाली राजनीतिमा सम्भावनाका संकेतहरू पनि प्रशस्त छन् । उदाहरणका लागि, प्रतिनिधिसभा विघटनविरुद्ध महामारीबीच पनि जसरी आवाज उठ्यो, आन्दोलन भयो, त्यो उज्यालोको संकेत हो । राजनीतिक स्वेच्छाचारिताका विरुद्ध राजनीतिक पार्टीहरू मात्र होइन, प्रेस र नागरिक समाजको अथक मिहिनेत–भूमिका र अदालतको कार्यसम्पादनले तत्कालका लागि यसमा अंकुश लगाएको छ । त्यस्तै, महामारी सृजित अप्ठ्यारो परिवेशमा पनि युवा अभियन्ताहरूको गतिविधि र प्रयासले उज्यालो भविष्यको आस जगाउँछ । यस्ता उदाहरणहरू प्रशस्त छन् ।

यिनै संगत/असंगत समयको सेरोफेरोमा नेपाली कांग्रेसको चौधौं महाधिवेशनको टुंगो लागेको छ । यो महाधिवेशनले कस्ता नेताहरूलाई जिम्मेवारीमा ल्याउला त ? नेपाली कांग्रेस विविधतायुक्त पार्टी हो । बीपी कोइरालाजस्ता दूरदर्शी, गणेशमान सिंहजस्ता त्यागी, कृष्णप्रसाद भट्टराईजस्ता सादगीपूर्ण नेताहरूले जन्माएको/हुर्काएको पार्टीमा, प्रदीप गिरिजस्ता अध्ययनशील नेता छन् र छन्— नेपाली सत्ता राजनीतिको विकृतिको प्रवर्तक मानिनेहरू पनि । यी दुवै प्रवृत्तिका बीचमा पर्ने धेरै नेतामध्ये महाधिवेशनबाट कस्ता नेताहरू जिम्मेवारीमा आउलान् ? उनीहरू विसंगत राजनीतिको फोहोरी भेलमा समाहित होलान् वा फरक केही गर्लान् भन्ने अनुमान लगाउन अहिल्यै सकिन्न ।

यसपालि गगन थापाले महामन्त्रीको उम्मेदवारका रूपमा आफूलाई अघि सारेका छन् । कांग्रेसको यो पुस्ताले पार्टी सभापतिमै दाबी गर्नुपर्थ्यो । थापाबाहेक विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, गुरु घिमिरे, धनराज गुरुङजस्ता सक्षम युवा पार्टीमा छन् । शेखर कोइराला, प्रकाशमान सिंहजस्ता दोस्रो पुस्ताका नेताहरूमा पनि सक्षम नेतृत्वको सम्भावना देखिन्छ ।

दोस्रो पुस्ता भनिने नेताहरूले आफूलाई राजनीतिमा अगाडि ल्याउन सकेका छैनन् । जसरी एमालेमा दोस्रो पुस्ता भनिने नेताहरू पहिलो पुस्ताका नेताहरूका लाचार छायाजस्ता मात्र देखिए, कांग्रेसको पनि स्थिति त्यही हो । त्यसैले कांग्रेस नेतृत्व चयन सन्दर्भमा क्रमागत पालो (हाइरार्की) को परम्परागत शैली छोडेर युवा पुस्ताले निर्णायक हस्तक्षेप गर्नैपर्छ ।

महाधिवेशन नेतृत्व छनोटको अवसर मात्र होइन, सैद्धान्तिक बहस, नीति, भावी कार्यदिशा निर्माणसहितको नेतृत्व छनोटको अवसर पनि हो । कांग्रेसमा संस्थागत रूपमा सैद्धान्तिक बहसले ठाउँ नपाएको वर्षौं भयो । सैद्धान्तिक बहसको शून्यताले पार्टी कस्तो बन्दो रहेछ भनी पार्टीभित्रकै नेता–कार्यकर्ताले बढी बुझेका होलान्, त्यसको मूल्य सारा देशले चुकाउनुपरेकै छ । यो वैचारिक शून्यता अन्त्यका लागि युवा नेतृत्व आँट र तयारीका साथ अगाडि आउनैपर्छ ।

अहिले निर्णायक ठाउँमा रहेका नेताहरू गुट राजनीतिभन्दा बाहिर आउन नसकेको जगजाहेरै छ । परिणामतः नेतृत्व पार्टी सञ्चालन र सरकारको प्रतिपक्षी भूमिका दुवैमा असफल प्रमाणित भैसकेका छन् । अहिले सरकारको नेतृत्वको अवसर राजनीतिक कुशलताले होइन, अघिल्लो सत्ताधारी पार्टी नेतृत्वको उपद्रोको परिणाम मात्र हात लागेको हो । यो अवसरको न्यूनतम सदुपयोग गर्ने संकेत पनि अहिलेसम्म देखिएको छैन ।

अविच्छिन्न नेतृत्वको महत्त्वाकांक्षा नेपाली राजनीतिको महारोग हो र कांग्रेसमा यो झनै पुरानो र जण्ड छ । पाँच पटक सरकारको नेतृत्व गर्दा पनि उल्लेख गर्नलायक उपलब्धि शून्य तर विसंगत राजनीतिको सारथि बनेका शेरबहादुर देउवा यो अधिवेशनमा पाँचौं पटक चुनावी मैदानमा ओर्लिएका छन् । यो समग्र नेपाली राजनीति र कांग्रेसकै लागि विडम्बनापूर्ण स्थिति हो । यसको अन्त्यका लागि युवा कांग्रेसले आँट गर्नैपर्छ र इमानदार शीर्ष नेतृत्वले गुट–उपगुटको सम्बन्ध बिर्सिएर युवालाई साथ दिनैपर्छ ।

त्यसो त, युवा सबै समस्याको समाधान होइनन् । लोकतान्त्रिक प्रणालीमा नेतृत्वको योग्यता उमेरको कसीमा नापिने होइन । उमेरको वृद्धिले राजनीतिक इच्छाशक्ति वा कार्यक्षमतामा वृद्धि वा कमी आउने होइन । व्यक्तिको उमेर वा पार्टी जीवनमा उसको समयको लगानीकै आधारमा नेतृत्व दिनुपर्छ भन्ने पनि छैन । पटकपटकको अवसरमा सफल साबित हुन नसकेका नेताहरूभन्दा परीक्षणमा सम्भावना देखाएका वा परीक्षण हुनै बाँकी तर प्रचुर सम्भावना भएका युवा नेताहरूलाई मौका दिए मात्र नेपाली राजनीतिमा कांग्रेसको योगदान सार्थक होला ।

के युवाहरू निर्विकल्प हुन् त ? होइनन् । पछिल्लो समय नेपाली राजनीतिको अपराधीकरणमा युवा नेताहरू अग्रमोर्चामा देखिएका छन् । गुटको विरासत पनि नयाँ पुस्तामा सर्दै गएको देखिन्छ । अध्ययनको अभाव, चर्चाको भोक, धैर्यको कमीजस्ता समस्या दलमा आबद्ध युवाहरूमा देखिन्छ । त्यस्ता युवाहरू राजनीतिको समस्यालाई मिहिन ढंगले बुझ्ने र समाधानको खोजी गर्नेभन्दा पनि ‘आई लभ यु ओली बा’ वा ‘यसकारण मलाई शेरबहादुर देउवा मन पर्छ…’ जस्ता अभियानमा आकर्षित छन् ।

देश असामान्य अवस्थामा छ । महामारीले अर्थतन्त्र थिलथिलिएको छ । अति राजनीतीकरणले राज्यका संरचनाहरू अस्तव्यस्त छन् । गरिबी, बेरोजगारीजस्ता समस्याको समाधान तत्काल खोज्नुपर्नेछ । राजनीति र सत्ता, नेताहरूका वरिपरि झुम्मिने झुन्डको स्वार्थ पूरा गर्ने होइन, आमजनताको सेवा गर्ने माध्यम हो भन्ने व्यवहारबाट देखाउनु छ । आफूलाई स्थापित गर्न तयार नेताले देशका यस्ता समसामयिक विषयलाई बहसमा ल्याउनुपर्छ । नेतृत्व पाए, ती समस्यालाई कसरी समाधान गर्छु भन्ने मार्गचित्र प्रस्तुत गर्नुपर्छ । गुट वा छहारीको राजनीतिक घेराबाहिर निस्कनुपर्छ । जब विचार गौण र व्यक्ति प्रधान हुन्छ, तब विविध किसिमका स्वार्थप्रेरित समूह र गुटहरू बन्न थाल्छन् । सधैं छहारी खोज्ने प्रवृत्तिले व्यक्तिविशेषमा निहित क्षमतामा पनि खिया लाग्छ । त्यसैले महाधिवेशनको तयारीमा नेतृत्वको परिक्रमा र कार्यकर्ता परिचालनभन्दा पनि सैद्धान्तिक बहसमा केन्द्रित गरी अवसरको सदुपयोग गर्नुपर्छ । नत्र कर्मकाण्डी महाधिवेशनले एउटा अकर्मण्य नेतृत्वलाई स्थापित गर्छ, जसको मूल्य पार्टीले मात्र होइन सारा मुलुकले चुकाउनुपर्छ । (कान्तिपुर)

wagle.samjhana@gmail.com

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?