२७ कार्तिक २०८१, मङ्लबार
२७ कार्तिक २०८१, मङ्लबार

आपूर्ति विभागले चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई प्रभावकारी बनाउने

काठमाण्डाै । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडबाडलाई लक्षित गरी बजार अनुगमन गर्ने भएको छ ।

देशभरका आफू मातहतका निकायलाई सक्रिय बनाएर र जनशक्ति थप गरेर अनुगमनलाई प्रभावकारी बनाइने विभागका प्रवक्ता शिवराज सेढाईँले जानकारी दिए  । अबको एक/दुई दिनमा प्रभावकारी अनुगमन सुरु गर्ने उनको  दाबी छ ।

सेढाईँका अनुसार अबको अनुगमन चाडपर्वमा खरिद बिक्री हुने वस्तुमा केन्द्रित हुनेछ । चाडपर्वलाई लक्षित गरी अनुगमनका लागि काठमाण्डौ उपत्यकामा थप २५ जना जनशक्ति सङ्घीय तथा सामान्य प्रशासन मन्त्रालयसँग माग गरिएको उनले जानकारी दिए ।

विभाग मातहत रहेका देशभरका पाँच वटा कार्यालय र हरेक जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा देशभर नै अनुगमन हुने उन बताए । तीज र दशैँ नजिकिएकाले अबको अनुगमन, गरगहना, कपडा, मासु र दैनिक उपभोग्य वस्तुमा केन्द्रित हुने उनको भनाइ छ ।

चाडपर्वको समयमा उपभोक्ता र व्यापारीको बढी भेटघाट हुने भएकाले यो समयमा उपभोक्ताले गुनासो धेरै गर्ने भएकाले अनुगमनलाई बढाइने गरेको उनले बताए । अरु समयमा पनि विभागले नियमित रुपमा बजार अनुगमन गर्दै आएको उनले दाबी गरे । चाडपर्वको समयमा पालिकाहरुले पनि अनुगमनलाई थप प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ । अहिले पनि बजार भाउ महँगाे भएको, कालोबजारी भइरहेको गुनासो उपभोक्ताले गर्दै आएका छन् ।

चाडपर्वमा झन् बढी यस्ता घटना हुन सक्ने भन्दै उपभोक्ताले तत्काल बजार अनुगमन प्रभावकारी बनाउन माग गर्दै आएका छन् । कसैलाई आफू ठगिएँ भन्ने लागेमा स्थानीय प्रहरी, स्थानीय सरकार, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र मातहतका कार्यालय तथा विभागको टोल फ्रि नम्बर ११३७ मा पनि फोन गरेर गुनासो राख्न सकिने छ ।

यस्ता उजुरी आएमा कालोबजारी ऐन अनुसार कारबाही हुने उनले बताए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?