२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार

रंगमञ्चलाई चाहिएको ऊर्जा

डेढ वर्षयता अन्य क्षेत्रझैं कोरोना महामारीको चपेटामा परिरहेको रंगमञ्च अब जुर्मुराउन लागेको छ । जनजीवन अलि सामान्य बन्दै गएसँगै स्वास्थ्य मापदण्ड पालना गर्दै नाटकघरका ढोका खुल्न थालेका छन् ।

सामान्य अवस्थातर्फ फर्किने यो उत्साहले घरबाहिरको मनोरञ्जनबाट लामो समयदेखि परै रहेका नाटकपारखीहरूलाई मन बहलाउने राम्रो विकल्प दिनेछ नै, कलाकारसहित रंगमञ्चसम्बद्ध ठूलो समूहले पनि अनिश्चितकालीन बेरोजगारीबाट पार पाउँदै जानेछ । लामो समयदेखि रंगमञ्चका गतिविधि ठप्प भइरहँदा सम्बद्ध व्यक्तिहरू साँच्चै मर्कामा छन् । त्यसमाथि राज्यका सम्बद्ध निकायहरूमा अन्यत्रजस्तै कला क्षेत्रलाई पनि राहत प्याकेज दिने सद्बुद्धि पलाउने छाँट नदेखिएको पृष्ठभूमिमा मञ्चको पर्दा उघ्रिन सुरु हुनु सुखद संकेत हो ।

नाटकले, दर्शकको तत्काल प्रतिक्रिया पाउने कलाको यो स्वरूपले प्राण पाउने भनेकै दर्शकहरूबाट उठ्ने शुल्कबाट हो । त्यसका लागि पनि पहिले त नाटकको मञ्चन हुनुपर्‍यो । कोरोना महामारीका कारण त्यसैको सम्भावना नरहेपछि कलाकारलगायतको आम्दानीको सानै भए पनि स्रोत सुक्यो । तत्काल भौतिक रूपमा मञ्चमा फर्किने सम्भावना नरहेपछि कलाकारहरूले नाट्य गतिविधिलाई भर्चुअल बनाउने कोसिस गरिहेरे । फेसबुक लाइभ र युट्युब मञ्चनमार्फत उनीहरू पारखीहरूसँग जोडिए, तर अर्थोपार्जन शून्यप्रायः नै रह्यो । प्रत्यक्ष कलाका लागि भर्चुअल माध्यम अन्यत्र फलदायी मानिए पनि यो दिगो विकल्प भने होइन, अपेक्षित कलाचेत नभएको र कलामर्म नबुझ्ने नेपाली समाजका लागि त झन् हुँदै होइन ।

कोरोनाकाल अझै कति लम्बिन्छ, ठेगान छैन र रंगमञ्चीय कलाकारलगायतले कहिलेसम्म काकाकुलको अवस्थामा रहिरहनुपर्ने हो, टुंगो छैन । यस्तो अनपेक्षित परिस्थितिमा तिनको आडभरोसा बन्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थान अघि सर्नुपर्ने हो, तर ती प्रतिक्रियाविहीन छन् । राणा, पञ्चायत र बहुदलकालमा बरु राज्यको केही न केही सहयोग पाएको रंगमञ्च गणतन्त्रकालमा घोर उपेक्षामा पर्नु ठूलो विडम्बना हो । यसले यो लोकतान्त्रिक गणतन्त्रको चेतनाको स्तर छर्लंग पार्छ ।

नाटक पहिले शासक र सम्भ्रान्त वर्गमा सीमित थियो, बिस्तारै यसको उत्पादन अनि उपभोगमा सर्वसाधारणको सहभागिता बढ्दै गयो । पहिले काठमाडौं उपत्यकामा बढी सीमित थिए नाटकघरहरू, जुन समयसँगै देशका विभिन्न भागमा खुल्न थाले । कलाकर्मीको संख्यामा बढोत्तरीसँगै अनेक नाट्य समूह अस्तित्वमा आउँदै गए । देशका कुनाकुनामा नाटक मञ्चन हुन थाले । कतिपयले बाहिरी सहयोगको टेको पाएका थिए भने, केही आफ्नै बलबुतामा कला क्षेत्रमा इँटा थप्दै गए । व्यावसायिक आकार ग्रहण गरिनहाले पनि नाट्य क्षेत्र फैलँदो क्रममा थियो । राष्ट्रिय–अन्तर्राष्ट्रिय महोत्सवहरू भइरहेका थिए । अचानक मञ्चमा कोरोना भाइरस देखा पर्‍यो, जसले यस्ता सारा गतिविधिमा पर्दा लगाइदियो । रंगमञ्चमै निर्भर हुनेहरूको दैनिकी कष्टकर बन्दै गयो । कतिसम्म भने, अवस्था सामान्य हुन लाग्ने समयको अनिश्चितताका कारण कतिपय त यस क्षेत्रबाटै पलायन हुन बाध्य भए । कलाकारलगायतलाई यस्तै समय चाहिने हो राज्य ।

यद्यपि अर्थोपार्जनका हिसाबले नाट्य क्षेत्र कहिल्यै सुरक्षित थिएन । यो क्षेत्रमा रहरले नै डोर्‍याउने हो । तर रहरले व्यक्तिविशेषलाई सधैं अगाडि ठेलिरहन सक्दैन । यो क्षेत्र देश चिनाउने एउटा माध्यम भएकाले यसमा करिअर बनाउन लागिपर्नेहरूलाई ‘रहरमा लागेकाहरू त हुन् नि’ भनेर राज्य र समाजले नीच मारेर बस्न मिल्दैन, ऊर्जा दिइरहनुपर्छ । कठिनाइमा परेका बेलाको सानै भरथेग पनि गतिलो ऊर्जा हुन सक्छ भन्ने सत्यलाई सरोकारवाला निकायहरूले बिर्सेजस्तो गर्न मिल्दैन ।

समृद्ध समाजको अपरिहार्य तत्त्व हो— रंगमञ्च । समाजको मानसिक स्वास्थ्यलाई सबल बनाउन पनि यसको अधिकतम उपयोग हुनुपर्छ । निस्सारलाग्दो यो कोरोनाकालमा मनोरञ्जनको खाँचो झन् बढी महसुस गरियो । यद्यपि नाटकघरमा दर्शकहरू भौतिक रूपमा उपस्थित हुन सक्दैनथे, तथापि सामान्य अवस्था अवश्य फर्किन्छ र त्यति बेलाका लागि पनि मनोरञ्जन चाहिन्छ भन्ने हेक्का राज्यलाई हुनुपर्ने थियो । राज्यले यस्तै समयमा यस्ता क्षेत्रलाई मर्न नदिने हो, ताकि यस क्षेत्रसम्बद्ध व्यक्तिहरूलाई राज्यको अपनत्वको बोध हुन सकोस्, तिनले सिर्जनालाई गुणस्तरीय बनाउनमै ध्यान लगाइरहन पाऊन् अनि नेपाली समाजका विविधतापूर्ण असंख्य कथालाई दर्शकहरूसामु ल्याउन सकून् ।

कला क्षेत्रलाई राज्यले राहत प्याकेज दिनु; कलाकार लगायतको टेको भइदिनु भनेको यो क्षेत्रमा आबद्ध जनशक्तिलाई ऊर्जा दिनु मात्रै होइन, देशको जरो पनि गहिरो र फराकिलो बनाउँदै लैजानु हो । देश भनेको निश्चित सीमाभित्रको भूगोल मात्र होइन, त्यो सीमाभित्र लेखिएको/पढिएको, गाइएको/बजाइएको, मञ्चन/प्रदर्शन गरिएको विषय पनि हो । कला क्षेत्रलाई महत्त्व दिने देशको अन्तर्राष्ट्रिय छवि पनि चहकिलो हुन्छ । जीर्णोद्धारको ठूलो सम्भावना हुँदाहुँदै अर्थोपार्जनको लालसाले महाकवि देवकोटाको घर धूलिसात् पार्न हतारिने राज्यका सम्बद्ध निकायहरूले यो गुह्य मनन गर्नु जरुरी छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?