अर्घाखाँची । नेकपा एमाले नेता महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ प्रती तुच्छ टिप्पणी गरेका छन् । सांसद अपहरण देखी हुलहुज्जत गर्नेसम्मका काण्डमा मुछिदै आएका नेता बस्नेतले ‘प्रचण्ड’ प्रती अस्वभाविक टिप्पणी गरेका हुन् ।
नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीको आयोजनामा सन्धिखर्कको सभाहलमा भएको वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई उनी मर्दा एक ढिका आँशु खसाल्ने कोहि नभएको टिप्पणी गरे । प्रचण्ड, माधब नेपाल, अग्नी सापकोटा र शेरबहादुर देउवालाई गालीगलौच गरेरै करिब एक घण्टा मञ्चमा बिताएका पुर्वमन्त्री समेत रहेका बस्नेतले बोल्दाबौल्दै के बोलीरहेको छु भन्ने सम्म बिर्सिए ।
उनले माओवादी अध्यक्ष प्रचण्डको राजनीतिक जीवन सिद्धिएको र उनि मर्दा समेत एक ढिका आँशु खसाल्ने कोही नभेटिने बताएका हुन् । बस्नेतले लेनिन र माओत्सेतुङको उदाहारण दिंदैं प्रचण्ड मर्दा एक ढिका आँशु खसाल्ने कोही नभेटिने अभिव्यक्ती दिएका हुन् । प्रचण्डको कुनै च्याखेदाउले अब काम नगर्ने भन्दै उनले प्रचण्ड सकिएको बताए । ओलीले सुनको लोटा दिंदा प्रचण्डले त्यसैमा प्रधानमन्त्रीको भिक माग्दै हिंडेको उनको भनाई छ ।
उनको टिप्पणी त्यतीमै रोकिएन । नेता बस्नेतले प्रचण्ड र माधवलाई बाम एकता नपचेको दावी गरे । कुकूरलाई घिउ नपचे जस्तै प्रचण्ड र माधवलाई पनि वाम एकता नपचेको उनले तर्क गरे । हुँदाहुँदैको दुइतिहाइको पार्टी फुटाएर उनीहरुले कलङ्कको टिका लगाएको उनको आरोप छ ।
नेता बस्नेतले नेपाली कम्युनिष्ट आन्दोलनको मुलप्रवाह नेकपा एमाले भएको भन्दै उच्च मनोबलका साथ पार्टीका काममा जुट्न कार्यकर्तालाई अग्रह गरे । सभाहलमा १२ सय नेता कार्यकर्ताको उपस्थिती रहेको नेकपा एमाले अर्घाखाँचीले जनाएको छ ।