२९ कार्तिक २०८१, बिहिबार
२९ कार्तिक २०८१, बिहिबार

स्वस्थ मुटु, स्वस्थ जीवन

प्रत्येक वर्ष २९ सेप्टेम्बरका दिन विश्व मुटु दिवस मनाउने चलन छ। यसैअनुसार यस वर्ष विश्वभर ‘मन लगाऊ, सम्पर्क बढाऊ, मुटु बचाऊ’ भन्ने नाराका साथ विश्व मुटु दिवस मनाइँदै छ। यस वर्ष सबैसँग सम्पर्क गरी मुटुमैत्री जीवनशैलीको माध्यमबाट मुटुलाई स्वस्थ बनाउन सबैलाई प्रोत्साहित गर्नेतर्फ नारा र कार्यक्रमहरू केन्द्रित छन्।

विश्व मुटु महासंघका अनुसार विश्वभर बर्सेनि १ करोड ८६ लाख मानिस मुटुको रोगहरूबाट मर्ने गर्छन्। यीमध्ये विकासोन्मुख र अविकसित राष्ट्रहरूमा बर्सेनि मुटु रोगबाट मर्नेहरूको संख्या यसको ८० प्रतिशतभन्दा बढी पर्न आउँछ। १९औं शताब्दीमा मानव मृत्युको प्रमुख कारण संक्रामक रोगहरू र कुपोषण थिए। २०औं शताब्दीको सुरुसम्ममा पनि मुटु रोगबाट मर्नेहरूको संख्या १० प्रतिशतभन्दा कम थियो। २१औं शताब्दीको सुरुमा आएर मुटु रोगबाट मर्नेहरूको संख्या विकसित राष्ट्रहरूमा करिब ५० प्रतिशत र विकासोन्मुख राष्ट्रहरूमा ३० प्रतिशत पुगेको छ। विश्व स्वास्थ्य संगठनले भविष्यवाणी गरेअनुसार सन् २०३० सम्ममा मुटु रोगबाट विश्वभर मर्नेहरूको संख्या बर्सेनि २ करोड ५० लाख पुग्नेछ। कोरोनरी मुटुको रोग (हृदयाघात) संसारकै हत्यारा नं. १ रोगका रूपमा स्थापित हुनेछ। सन् २०३० सम्ममा नेपाललगायतका विकासोन्मुख राष्ट्रहरूमा हृदयाघात भएर मर्नेहरूको संख्या ३५ प्रतिशतभन्दा बढी पुग्ने अनुमान गरिएको छ।

धूमपान, मद्यपान, खानामा चिल्लो र मासुको प्रयोग बढेको छ। सागसब्जी र फलफूल खाने बानी एकदमै कम छ। तयारी खाना (फास्टफुड) धेरै खाने बानी छ।

नेपालमा हाल २५ प्रतिशत अर्थात् करिब ७५ लाख जनता कुनै न कुनै प्रकारका मुटु रोगबाट पीडित छन्। मुटु रोगीहरूको संख्या नेपालमा २० वर्ष यता पाँच गुणाले वृद्धि भएको छ। हाल नेपालमा विद्यमान मुट रोगहरूमध्ये कोरोनरी मुटुको रोग, बाथ मुटुको रोग, जन्मजात मुटुका रोगहरू र उच्च रक्तचाप प्रमुख समस्याका रूपमा देखिएका छन्। मुटुका रोगमध्ये कोरोनरी मुटुको रोग र उच्च रक्तचाप धेरै छिटो गतिमा बढ्दै गइरहेको देखिन्छ। यसको प्रमुख कारणका रूपमा मानिसको जीवनशैलीमा आएको अस्वस्थकर परिवर्तनलाई औंल्याइएको छ। आजका मानिसहरूको जीवनशैली अस्वस्थकर भएको छ। मानसिक तनाव बढेको छ, व्यायाम घटेको छ। धूमपान, मद्यपान, खानामा चिल्लो र मासुको प्रयोग बढेको छ। सागसब्जी र फलफूल खाने बानी एकदमै कम छ। तयारी खाना (फास्टफुड) धेरै खाने बानी छ।

नेपाल हृदय रोग निवारण प्रतिष्ठानका अनुसार नेपालमा करिब ३० प्रतिशत वयस्क जनतालाई उच्च रक्तचाप छ। २० प्रतिशतलाई कोेलस्टेरोल छ। १० प्रतिशतलाई मधुमेह छ। एक प्रतिशत बालबालिकालाई बाथ मुटुको रोग छ। ९० प्रतिशत नेपालीले मुटुमैत्री खाना खाँदैनन्। करिब ५० प्रतिशत सहरिया नेपालीले आवश्यक व्यायाम गर्दैनन्। ४० प्रतिशतले चुरोट, सुर्ती सेवन गर्छन्। धेरै नेपालीलाई मानसिक तनाव छ। जताततै वातावरणीय प्रदूषण छ। शुद्ध खानेपानीको अभाव छ। तरकारी र फलफूलहरू विषादीले भरिएका छन्। मानिसको जीवन कष्टकर भएको छ। आज विश्वमा ३० करोडभन्दा बढी मानिस मोटोपनको सिकार भएका छन्। पाँच वर्षमुनिका २ करोड २० लाख बालबालिका आवश्यकभन्दा बढी शारीरिक तौल भएका छन्। मोटोपन मुटुका लागि खतरा हो। नेपालका सहर बजारमा बालबालिकालाई धेरै खुवाउने, त्यसमाथि अस्वस्थकर खाना खुवाउने र मोटोघाटो बनाउने प्रवृत्ति बढ्दो छ।

मोटोपना जस्तै धूमपान, मद्यपान, बढी चिल्लो र बोसोयुक्त खानपान गर्ने प्रवृत्ति धेरै बढेको छ। जसका कारण हृदयघात, उच्च रक्तचाप, मधुमेह, उच्च रक्त कोलेस्टेरोल आदिको समस्या पनि अकासिँदै गएको छ। यसरी बढ्दै गइरहेको मुटुरोगको समस्यालाई रोकथाम गर्न जनचेतना जगाउने साथै विश्वभरका राष्ट्रहरूका नीतिनिर्माताहरूलाई मुटुरोग रोकथाम तथा नियन्त्रणका लागि आवश्यक नीतिनियमहरू बनाउन घच्घच्याउन अति जरुरी देखिन्छ। यसै उद्देश्यले विश्व मुटु महासंघले विश्व मुटु दिवस मनाउने चलन चलाएको हो।

धेरै मानिसलाई आफ्नो मुुटु र स्वास्थ्यमा रहेको खतराबारे जानकारी हँुदैन। किनकि उनीहरू नियमित स्वास्थ्य परीक्षण गराउँदैनन्। यस्तै प्रकारले धेरैलाई  मुटु रोगका कारक तत्त्वहरू (जोखिमहरू) बाट आफू प्रभावित भए, नभएको बारे जानकारी राख्नुपर्छ। यसबाट मुक्त हुने उपायहरू पनि समयमै गर्नुपर्छ भन्नेबारे चेतना छैन। यो चेतना अभावको कारण बहुसंख्यक मानिसको हृदयघात र मस्तिष्कघातबाट मृत्यु भइराखेको छ। प्रत्येक मानिसले आफ्नो मुटु कति खतरामा छ त्यो थाहा पाई राख्नुपर्र्छ। यसबाट बच्ने उपाय समयमै गर्नुपर्छ। मुटुका लागि जोखिम तत्त्वहरू उच्च रक्तचाप, मधुमेह, उच्च रक्त कोलेस्टेरोल, मोटोपन, धूमपान गर्ने बानी, वंशानुगत र व्यायामको कमी आदि प्रमुख हुन्। यदि कसैलाई यी समस्याहरू छन् भने तुरुन्त यसबाट छुटकारा पाउन आवश्यक उपचार र सावधानी अपनाउनु पर्छ भन्ने वैज्ञानिकहरूको सल्लाह छ। अन्यथा हृदयघात र मस्तिष्कघात भएर आकस्मिक मृत्यु हुन सक्छ।

मुटुका धेरै रोगहरू जीवनशैलीसँग सम्बन्धित हुन्। अध्ययन अनुसन्धानले देखिएको छ कि जीवनशैली परिवर्तनबाट मात्र पनि ८० प्रतिशत भन्दा बढी मुटु रोगका कारणहरू माथि नियन्त्रण गर्न सकिन्छ। यस कारण मुटुरोग नियन्त्रण कार्य जीवनशैली स्वस्थकर बनाउनेतर्फ लक्षित हुनुपर्छ। सबै सरकारी तथा गैरसरकारी संघसंस्थाहरूले मुटुमैत्री वातावरण सिर्जना गर्न सहयोग गर्नुपर्छ र विश्वव्यापी अभियानमा सबै जानुपर्छ। यसै सन्दर्भमा विश्व मुटु महासंघले विश्वका जनतालाई मुटु रोगबाट बच्नका लागि निम्नलिखित सन्देशहरू जारी गरेको छ। यसलाई सबैले पालना गरी आफ्नो मुटुलाई स्वस्थ राख्ने प्रयास गरौं।

– आफ्नो मुटु कति खतरामा छ भन्ने थाहा पाउन नियमित स्वास्थ्य परीक्षण गराउनु पर्छ। स्वास्थ्य परीक्षण गराउँदा रक्तचाप, रगतमा ग्लुकोज, कोलेस्टेरोल आदि जचाउनुका साथै पेटको नाप र मोटोपनबारे पनि जानकारी लिनुपर्छ।
– आफूलाई रहेको खतराबारे जानकारी पाएपछि स्वास्थ्यकर्मीसँग यी खतराहरूबाट मुक्त रहन के कसो गर्ने हो त्यसबारे परामर्श लिनु पर्छ।
– हृदयघात र मस्तिष्कघातको प्रमुख कारण उच्च रक्तचाप हो जसको कुनै लक्षण हुँदैन। औजारले नजाँची रक्तचाप कति छ थाहा हुँदैन। यस्तै प्रकारले मधुमेह साथै रगतमा कोलेस्टेरोल बढेको छ छैन भन्नेबारे पनि थाहा पाउन नियमित रूपमा रगतको परीक्षण गराउनु पर्दछ।
– नियमित व्यायाम गर्ने, नुन, चिल्लो र चिनी कम खाने, चुरोट, सुर्ती नखाने, मोटोपन घटाउने, मानसिक तनाव नियन्त्रण गर्नेतर्फ लाग्नु पर्छ।
– दैनिक प्रशस्त मात्रामा फलपूmल र हरियो तरकारी खानु पर्छ।
– धूमपान निषेधित सार्वजनिक स्थलहरू विस्तार गर्दै जान सम्बन्धित निकायले सहयोग गर्नुपर्छ।
– तरकारी र फलफूलमा विषादी र रसायनको प्रयोगलाई निरुत्साहित गरिनु पर्छ।
– बढी गुलियो नुनिलो, चिल्लो र तयारी खानाहरू (फास्टफुड) को उपभोग कम गर्नु पर्छ।
– मानसिक तनाव र उत्तेजनालाई नियन्त्रण गर्नुपर्छ।
– आफू प्रसन्न, सन्तुष्ट, सहयोगी र दानी प्रवृत्तिको हुन सके सुख र स्वस्थ्य दुवै पाउन सकिन्छ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?