१ साउन २०८१, मङ्लबार
१ साउन २०८१, मङ्लबार

अर्थशास्त्रलाई हेर्ने भौतिकशास्त्रको चस्मा

सन् १९७९ को नोबेल पुरस्कार विजेता भौतिकशास्त्री अब्दुल सलामले नेपाल आएका बेला आफूहरूसँगको छलफलमा भौतिकशास्त्रलाई धन कमाउने विधा भनेको बताउनुहुन्छ हाम्रा अग्रज भौतिकशास्त्रीहरू । नयाँनयाँ पदार्थको खोज–अनुसन्धानबाट प्राप्त उपलब्धिहरूलाई देखेर सलामले सायद आर्थिक क्षेत्रमा आउन सक्ने परिवर्तनको आकलन गरेका थिए । नभन्दै केही दशकयता इन्जिनियरिङ र प्रविधि विकासमा पदार्थ विज्ञानका उपलब्धिहरूको प्रयोगले विश्व अर्थतन्त्रलाई अर्कै तहमा उठाएको छ ।

भौतिकशास्त्रमा प्राप्त उपलब्धिहरूले प्रविधि विकास र अर्थतन्त्रमा पुर्‍याउने योगदान त छँदै छ, भौतिक विज्ञानका खासखास सिद्धान्तहरू अर्थशास्त्रको व्याख्यामा पनि उपयोगी देखिएकाले अर्थशास्त्र र भौतिकशास्त्रलाई मिलाएर नयाँ शब्दावली प्रयोगमा ल्याइएको छ— ‘इकोनोफिजिक्स’ । भौतिकशास्त्री युजिन स्ट्यान्लीले सन् १९९५ मा जटिल प्रणालीहरूको गतिशीलतासम्बन्धी कोलकाता सम्मेलनमा यो शब्द पहिलो पटक प्रयोग गरेका थिए । बजारको गतिशीलता र सम्पत्ति–आम्दानीको वितरण पद्धतिको अध्ययनमा इकोनोफिजिक्स निकै उपयोगी पाइएको सम्बद्ध अर्थशास्त्री र भौतिकशास्त्रीहरूको दाबी छ ।

डिसेम्बर २०१७ मा अमेरिकन इकोनोमिक एसोसिएसन (एईए) ले इकोनोफिजिक्सबारे आयोजना गरेको सम्मेलनलाई एउटा महत्त्वपूर्ण कदमका रूपमा लिँदै यी दुवै विधा मिलाएर गरिएका अध्ययनहरू वित्तीय संकट हल गर्न उपयोगी हुने बताइएको थियो । इकोनोफिजिक्स अवधारणा त्यति पुरानो नभए पनि युरोप र अमेरिकाका केही विश्वविद्यालयमा यसको पढाइ हुँदै आएको छ । नेपालमा पनि सन् २०१५ देखि त्रिभुवन विश्वविद्यालयमा पढाउन थालिएको छ ।

अर्थशास्त्रलाई समाज विज्ञानको भौतिकशास्त्र पनि भन्ने गरिन्छ । जसरी सूक्ष्म कणदेखि ब्रह्माण्डका ठूलठूला पिण्डसम्मलाई गति दिन ऊर्जाको प्रयोग भएको हुन्छ भन्दै भौतिकशास्त्रमा ऊर्जालाई नै आधार मानेर प्राकृतिक प्रक्रियाहरूको व्याख्या गरिन्छ, त्यसरी नै पुँजीले सामाजिक गतिविधिहरू पैदा गराउँछ भन्ने मान्यताअनुसार अर्थशास्त्रमा सामाजिक प्रक्रियाहरूको व्याख्या हुने गर्छ । भौतिक विज्ञानका थुप्रै समीकरण अर्थशास्त्रका क्षेत्रमा पनि उस्तै किसिमले लागू हुन सक्ने देखिन्छ, भलै भौतिक विज्ञानमा प्रयोग हुने भौतिक परिमाण र अर्थशास्त्रमा प्रयोग हुने परिमाण बुझाउने शब्द र सूचक फरक हुन सक्छन् ।

भौतिक विज्ञानको अवधारणा अर्थशास्त्रमा कसरी प्रयोग हुन्छ ?

भौतिकशास्त्रमा असंख्य कणबीचको अन्तरक्रिया, जटिल प्रणालीहरूबीचको पारस्परिक सम्बन्ध अनि सम्भाव्यताका आधारमा गरिने नतिजाको आकलनसम्बन्धी अध्ययन गर्न विकास गरिएको तथ्यांकशास्त्रीय यान्त्रिकी निकै उपयोगी मानिन्छ । अर्थशास्त्रका क्षेत्रमा पनि खास गरी बजारमा हुने असंख्य कारोबार, त्यससित जोडिने एजेन्ट, तिनीहरूको पारस्परिक सम्बन्ध अनि सम्भाव्यताबारे बुझ्न तथ्यांकशास्त्रीय यान्त्रिकीमा स्थापित भएका सिद्धान्तहरूले सघाउन सक्ने देखिन्छ ।

तथ्यांकको विश्लेषणबाट बजारका पारस्परिक सम्बन्ध रहेका पक्षहरूबीचको अन्तरक्रियाबाट निस्कने नतिजालाई हेर्दा भौतिकशास्त्रमा प्रयोग हुँदै आएका अवधारणा मेल खाने पाइएको छ । खास गरी वित्तीय बजारमा उपलब्ध पर्याप्त तथ्यांकहरूको विश्लेषणअनुसार देख्न सकिने वक्ररेखालाई भौतिक विज्ञानमा बारम्बार प्रयोगमा आइराख्ने समीकरणहरूले प्रतिनिधित्व गर्ने देखिन्छ । यसको मतलब भौतिकशास्त्रले धेरै निश्चिन्ततापूर्वक नतिजाबारे बताउन सक्ने भएकाले वित्तीय बजारबारे पनि भौतिकशास्त्रमा विकास भएका विधिहरूको प्रयोगले धेरै हदसम्म परिणामको सही आकलन गर्न सकिन्छ । कतिपय अवस्थामा अपेक्षित नतिजामा अनिश्चितता पनि हुन्छ तर भौतिकशास्त्रीहरू हाइजेन्बर्गको अनिश्चितताको सिद्धान्त र सम्भाव्यताको सिद्धान्तको प्रयोग गरेर वास्तविक नतिजा अपेक्षित नतिजाको कति नजिक अर्थात् सटीक हुन सक्छ भन्नेबारे पनि हिसाब निकाल्न सक्छन् ।

र्‍यान्डमाइज्ड कन्ट्रोल ट्रायल (आरसीटी), मेडिकल साइन्समा क्लिनिकल प्रयास भनेर प्रयोग हुँदै आएको विधि, अर्थशास्त्रका क्षेत्रमा पनि गरिबीसम्बन्धी अध्ययनका लागि उपयोगी भएको ठहर गर्ने अभिजित बनर्जी र इस्थर दुफ्लोलाई सन् २०१९ मा अर्थशास्त्रको नोबेल पुरस्कार दिइएको थियो । आरसीटी र क्वान्टम फिजिक्सको केन्द्रीय चासो नै अनिश्चितताको अध्ययन हो । त्यसैले आरसीटी र क्वान्टम फिजिक्समा हेर्नेको असर रहने गर्छ अर्थात् नतिजामा केले, कसरी, कति असर पार्‍यो भन्ने कुरालाई विशेष ख्याल गरिन्छ । त्यसैले आरसीटी र क्वान्टम फिजिक्सको समरूपता अर्थशास्त्रको समस्यासित पनि तुलना गरेर हेर्न मिल्छ ।

मानिसहरू विवेकपूर्ण तरिकाले, अनुशासन पालना गरेर, स्थापित मान्यताहरूभित्र रहेर आर्थिक क्रियाकलापमा सक्रिय रहन्छन् भन्ने मान्यो भने मात्र आर्थिक आकलन मेल खान्छ । तर वास्तविकतामा मानिसहरूको रुचि, प्राथमिकता, भावना, धर्म, संस्कार, लहैलहैले पनि आर्थिक गतिविधिलाई प्रभाव पारिराखेका हुन्छन् । समुदाय वा मानिसपिच्छेका गतिविधिहरूलाई नियाल्ने हो भने यो जटिल र भद्रगोलजस्तो देखिन्छ । त्यसैले नतिजाको आकलन भौतिक विज्ञानका नियमहरूले भनेजसरी सजिलै गर्न कठिन हुन्छ । तर अस्तव्यस्त देखिने प्राकृतिक प्रक्रियाहरूमा पनि कुनै न कुनै नियम अर्थात् पद्धति पालना भएकै हुन्छ । ठूलो संख्यामा तथ्यांकको विश्लेषण गर्दा भद्रगोल प्रक्रियाहरूको पनि भविष्यवाणी निश्चित सीमाभित्र गर्न सकिन्छ भन्ने कुरा जतासुकै जान सक्ने धूवाँका कणहरू, तरल पदार्थमा चलायमान विभिन्न खालका साना कणहरूको गति — जसलाई ब्रनिअन मोसन भनिन्छ — को व्याख्यालाई पनि अवलोकनमार्फत सैद्धान्तीकरण गरिनुले देखाउँछ ।

उदाहरणका लागि, एउटा मातेको मान्छेलाई लिऔं । भट्टीबाट निस्केपछि उसको हिँडाइ, गति, गन्तव्य आदिमा धेरै अनिश्चितता देखिन्छ । ऊ कहिले अगाडि त कहिले पछाडि गर्छ, कहिले छिटो कहिले ढिलो गर्छ, उसका खुट्टा भनेको ठाउँमा टेकिँदैनन्, कहिले लड्छ, कहिले सुतिदिन्छ, कोही भेट्यो भने भुल्छ, कसैसित झगडा पनि गर्न सक्छ वा मीठा कुरा पनि गर्न सक्छ, चौबाटामा पुगेपछि जतासुकै जान सक्छ, हिँडाइले उसको खास दिशा बताउँदैन, कहाँ पुग्ने हो भन्न मुस्किल छ । गतिविधि हेर्दा

उसले यसै गर्छ भनी ठोकुवा गर्न सकिन्न । तर धेरै दिनसम्म उसको हिँडाइ, गन्तव्यमा पुग्ने सम्भावना र लाग्ने समयलाई टिपी दाँजेर हेर्दा भने एउटा निष्कर्षमा पुग्न सकिन्छ । मातेको मान्छेको यस्तो हिँडाइलाई र्‍यान्डम वाक भन्ने गरिन्छ । स्टक मार्केटको मूल्यमा आउने उतारचढावलाई पनि र्‍यान्डम वाकसित दाँज्न सकिन्छ । भौतिकशास्त्रीहरूको रुचि समयक्रमसित जोडिएका, भद्रगोल तरिकाले वितरित यस्तै अवयवहरूबारे सम्भाव्यताको अध्ययन गर्नु हुने गर्छ । स्टक मार्केटको वक्ररेखाभित्र कस्ताकस्ता अवस्थाहरू भेटिन्छन्, तिनीहरूको अर्थ के हुन्छ, कस्ताकस्ता रणनीति उपयोगी हुन्छन्, अपेक्षित नतिजा निकाल्न कस्तो मोडल विकास गरेर वक्ररेखालाई प्रतिनिधित्व गर्ने समीकरण विकास गर्न सकिन्छ भन्ने अध्ययन गर्न भौतिकशास्त्रीहरू लागिपरेका छन् । बजारले कसरी काम गर्छ भन्नेबारे जानकारी पाउन तथ्यांकहरूको विश्लेषण अनिवार्य बन्दै गएको छ । भौतिकशास्त्रीहरूले पनि तथ्यांकशास्त्रीय यान्त्रिकीको प्रयोग गरेर बजारबारे आकलन गर्न सक्ने देखिएकाले इकोनोफिजिक्स अबका दिनहरूमा अर्थशास्त्रको एउटा हिस्साका रूपमा स्थापित हुन सक्ने देखिन्छ ।

थुप्रै समाजमा सम्पत्ति र आम्दानीको वितरणको अवस्था (तथ्यांक) लाई वक्ररेखामा हेर्ने हो भने इटालीका अर्थशास्त्री भिल्फ्रेडो पारेटोले विकास गरेको समीकरणले दिने वक्ररेखासित धेरै हदसम्म मिल्न आउँछ । भौतिकशास्त्रीहरूले तथ्यांकशास्त्रीय यान्त्रिकीमा धेरैजसो प्रयोग गर्ने समीकरण, जसले ग्यासका अणुहरू वा इलेक्ट्रोनजस्ता साना कणहरूको वितरण प्रक्रियालाई प्रतिनिधित्व गर्छ, पारेटोको समीकरण र आम्दानी वितरणसित मिल्दोजुल्दो छ । पदार्थका कणहरूको वितरण प्रक्रियालाई भौतिकशास्त्रमा सम्भाव्यताका सिद्धान्तहरूको प्रयोग गरेर नतिजासम्बन्धी जुन निश्चितता पाउन सकिन्छ, त्यति नै हदसम्म तथ्यांकशास्त्रीय यान्त्रिकीको प्रयोग गरेर अर्थशास्त्रमा त पाउन सकिन्न, तर परम्परागत अर्थशास्त्रको व्याख्याबाट अपेक्षा गरिनेभन्दा धेरै राम्रो परिणाम भने प्राप्त गर्न सकिन्छ । त्यसैले गरिबी र असमानता न्यूनीकरणसम्बन्धी कार्यक्रमहरूमाथि इकोनोफिजिक्सको कोणबाट पनि विश्लेषण गर्‍यो भने अपेक्षित नतिजाको नजिक पुग्न सकिन्छ । साथै भौतिकशास्त्रमा पदार्थको अवस्था परिवर्तन अर्थात् संक्रमणका बेला अणुहरू जसरी तरंगित हुन्छन् भनिन्छ, त्यो प्रक्रिया समाज विज्ञानका हकमा पनि संक्रमणकालीन अवस्थामा देखा पर्छ ।

उदाहरणका लागि, पानीबाट बरफ बन्दै गर्दाका अणुहरूको दोलनमा कुनै धातु सामान्य अवस्थाबाट सुपर कन्डक्टरमा संक्रमण हुँदा देखा पर्ने अरेखीय (नन लिनियर) पद्धति निहित भएजस्तै स्टक मार्केटमा पनि ठूलो गिरावट आउनुभन्दा ठीक अगाडि मूल्यमा दोलनको अवस्था अर्थात् अरेखीय पद्धति उत्पन्न हुने बताइन्छ । स्टक मूल्यमा ठूलो गिरावट रोक्ने हो भने लोभमा धेरै कर लगाएर रेखीय पद्धतिलाई कायम राख्नुपर्ने हुन्छ । मूल्य घट्ने क्रम रोकिएर बढ्न सुरु हुने वा बढ्ने क्रम रोकिएर घट्न थाल्ने संक्रमणको कारणको खोजी धेरैको चासो हुने गर्छ । भौतिकशास्त्रीहरूको पनि तथ्यांकको विश्लेषण यस्तै कुरामा केन्द्रित देखिन्छ ।

अर्थशास्त्र र भौतिकशास्त्रमा थुप्रै कुरामा समरूपता देखिए पनि एउटा महत्त्वपूर्ण फरकचाहिँ छ । भौतिक विज्ञानमा मापन गर्न सकिने भौतिक परिणामहरूको मात्र व्याख्या गरिन्छ । मापन गरेर अंकमा प्रस्तुत गर्न सकिने वा समीकरणमार्फत नतिजा निश्चिन्त/आकलन गर्न सकिने हुनाले भौतिक विज्ञान विश्वासिलो मानिन्छ । तर अंकमा प्रस्तुत गर्न नसकिने, समीकरणमा समावेश गर्न नसकिने कुराहरू पनि अर्थशास्त्रमा चाहिँ आउने गर्छन् । आर्थिक प्रक्षेपण, जीडीपी, आय–व्यय, राजस्वलगायत वासलातमा अंकमा देखाउन सकिनेबाहेक दया, माया, आक्रोश, उत्तेजना, खुसी, पूर्वाग्रह, धार्मिक–सांस्कृतिक विश्वास, मूल्यमान्यता, आनीबानीजस्ता मापन गर्न नमिल्ने भावनात्मक विषयहरूले पनि आर्थिक क्रियाकलापहरूलाई धेरै प्रभाव पारिरहेका हुन्छन् । मापन गर्न नसकिने यस्ता गुणात्मक विषयहरूको असरलाई भने धेरै हदसम्म अंकमा प्रस्तुत गर्न सकिन्छ । यसको मतलब कारण र असरलाई हेर्दा कारणलाई मापन गर्न नमिल्ने तर प्रभाव भने मात्रामै देखिने समस्या बजार अर्थशास्त्रमा हुन्छ जबकि भौतिकशास्त्रमा कारण र प्रभाव दुवैलाई निश्चित गर्न वा निश्चित सीमाभित्र आकलन गर्न सकिन्छ ।

उदाहरणका लागि, फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले केही समयअघि सार्वजनिक कार्यक्रममा आफू अगाडिबाट कोकाकोलाको बोतल पन्साएको केही सेकेन्डको सन्देशले गर्दा कोकाकोला कम्पनीको स्टक मूल्यमा चार बिलियन डलरले गिरावट आयो । उनको ‘सन्देश’ (कारण) मापन गर्न नसकिने थियो तर कोकाकोलाको स्टक मूल्यको गिरावट (असर) अंकमा देखियो । त्यसकारण अर्थशास्त्रलाई अंकमा प्रस्तुत गर्न मिल्ने सूचकहरूको विश्लेषण गर्न गणित, भौतिकशास्त्र, तथ्यांकशास्त्रको ज्ञानको प्रयोग हुन सक्ने देखिन्छ भने मापन गर्न नसकिने गुणात्मक विषयहरूको व्याख्या विवेकपूर्ण तरिकाले राजनीतिक–सामाजिक सम्बन्धहरू आनीबानी, चालचलन आदिको विश्लेषणका माध्यमबाट गर्ने गरिन्छ । पछिल्ला वर्षहरूमा त अझ गणित, भौतिक विज्ञान र तथ्यांकशास्त्रका ज्ञानको प्रयोग गरेर कृत्रिम बौद्धिकतामार्फत मानिसहरूका आनीबानी र गतिविधिहरूको पनि अनुमान गर्न सकिने प्रयास हुन थालेका छन् ।

यसले आर्थिक क्रियाकलापमा पर्ने मापन गर्न कठिन गुणात्मक प्रकृतिका विषयहरूको प्रभावलाई बुझ्न मद्दत गर्ने देखिन्छ । सीधै मापन गर्न नसकिने गुणात्मक प्रकृतिका सामाजिक सूचकहरूमा पनि पहिलेका तुलनामा कति प्रगति भयो भनी अंकमा प्रस्तुत गर्ने प्रयत्न हुन थालेको छ । मानिसहरू पहिलेभन्दा अहिले धेरै खुसी छन् कि थोरै, सामाजिक द्वन्द्व घटेको छ कि बढेको, मानिसहरू इमानदार बन्दै छन् कि फटाहा, परोपकारी क्रियाकलाप बढेको छ कि घटेको आदि विषयलाई पनि तथ्यांकमा ल्याउने कोसिस भएका छन् ।

हामीले अभ्यास गर्दै आएको पर्यावरण विनाश गर्ने खालको विकास–निर्माणको मोडल र मूलतः पेट्रोलियम ऊर्जाका भरमा चलेको विश्व अर्थतन्त्रको स्वरूप नै बदलेर दिगो विकास र अर्थतन्त्रको मोडल अपनाउनुपर्ने आवाज पनि केही वर्षयता धेरै सुनिन थालेको छ । वृत्तीय अर्थतन्त्र (सर्कुलर इकोनोमी) अपनाउनुपर्ने, सफा ऊर्जाको उत्पादन बढाएर हरितगृह ग्यास कटौती गर्नुपर्ने र विश्व तापमान वृद्धिलाई नियन्त्रण गरी जलवायु परिवर्तनबाट उत्पन्न हुने जोखिम न्यूनीकरण गर्न ढिला गर्न नहुने सुझाव वैज्ञानिकहरूले दिँदै आएका छन् । अबको समय अर्थतन्त्रको स्वरूपमा संक्रमणकालीन पनि हुने भएकाले नयाँ प्रविधिको विकास र दिगोपनका कार्यक्रमहरूमार्फत धेरै अवसर सृजना गरी कसरी गरिबी र असमानता पनि घटाउने भन्नेबारे छलफल आवश्यक देखिएको छ । आर्थिक मोडलहरू विकास गर्दा साधनस्रोत र अधिकारको उचित वितरण गरी काम गर्न सके सामाजिक, आर्थिक र पर्यावरणीय सन्तुलन कायम हुन सक्छ ।

विज्ञान–प्रविधिका क्षेत्रमा तीव्र विकासका कारण आर्थिक–सामाजिक आयाम पनि बदलिँदै गएको, जलवायु परिवर्तन र पर्यावरणीय समस्या जेलिँदै गएको र वित्तीय बजारको अनिश्चितता ठूलो चिन्ताको विषय बन्दै गएको अवस्थामा इकोनोफिजिक्सजस्तो जटिल प्रणालीको गतिशीलताबारेको अध्ययनमा उपयोगी विधा अब हाम्रो पनि चासोको विषय हुनुपर्छ कि ?

(राजेन्द्रप्रसाद अधिकारी / अधिकारी त्रिभुवन विश्वविद्यालय अमृत क्याम्पसमा इकोनोफिजिक्स पढाउँछन् ।)

adhikarirajindra68@gmail.com

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?